मधेसका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्री यादवलाई नेकपा एमाले र जनमत पार्टीका सांसदले विपक्षमा मतदान गरे।
जनमत पार्टीले गत माघ ९ गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत दिएका हुन्। १०६ सदस्यीय प्रदेश सभामा १०४ जना उपस्थित थिए। उनको विश्वासको मतको पक्षमा मतदानमा भाग लिएकामध्ये पक्षमा ६९ र विपक्षमा ३५ मत परेको छ। सभामुख र उपसभामुखले विश्वासको मत दिएनन्।
जनमतले माघ ९ गते समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री विश्वासको मत लिएका हुन्।
यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेशसभामा सिङ्गो मत पाएका थिए। पुस २७ गते मधेस प्रदेश सभाको ठुलो दल नेकपा एमालेसहितका दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए। तर संघीय गठबन्धन भत्किएसँगै एमाले बाहिरिएको थियो।
नेपालको संविधानले सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९ जना, एकीकृत समाजवादीका ७ सांसद छन्। नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। यस्तै ३ जना स्वतन्त्र सांसद रहेका छन्।