कुपोषण घटाउन दुर्गममा ‘पोषिलो चामल’

कुपोषण घटाउन दुर्गममा ‘पोषिलो चामल’
सुन्नुहोस्

सुर्खेत : कर्णालीको दुर्गम क्षेत्रका नागरिकले अब पोषिलो चामल (पौष्टिक तत्व मिसाएर स्तरोन्नति गरिएको चामल) पाउने भएका छन्। चाडबाडको बेलामा समेत चामल नपाउने समस्या बेहोर्दै आएका दुर्गमका नागरिकलाई अब पौष्टिक तत्व मिलाएर स्तरोन्नति गरिएको पोषिलो चामल उपलब्ध गराइने भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका ५ जिल्लामा पोषिलो चामल वितरण थालिएको जनाएको छ। दुर्गम जिल्ला हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालिकोटमा यो चामल वितरण हुनेछ। यी जिल्लाले वर्षौंदेखि खाद्य संकट भोग्दै आएका छन्। खाद्यान्नको अभाव झेल्दै आएका यी जिल्लामा कम्पनीले अनुदानमा चामल ढुवानी गरेर बिक्री तथा वितरण गर्दै आएको छ। 

तर ती जिल्लाहरूमा पौष्टिक तत्वको अभावमा कुपोषणको समस्या बल्झिएपछि त्यसलाई न्यूनीकरण गर्न अब पोषिलो चामल उत्पादन गरेर वितरण सुरु गरिएको कम्पनीले जनाएको छ।

कुपोषणको समस्यालाई न्यूनीकरण गर्न पहिलो चरणमा ५ जिल्लाका लागि ६ सय क्वीन्टल पोषिलो चामल वितरण गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रमुख भीम थापाले बताए। 

उनका अनुसार विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल उत्पादन गरिएको हो। उनले भने,‘बर्दियाको राजापुरमा पौष्टिक तत्व मिलाइएको चामल उत्पादन सुरु भएको छ, चामलमा पौष्टिक तत्व मिलाउनका लागि मेसिन जडान गरेका छौं। भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी यो चामल उत्पादन हुन्छ, यही पोषिलो चामल दुर्गमका बासिन्दालाई उपलब्ध गराउने छौं।’

यो चामलको प्रयोगले दुर्गममा कुपोषणका कारण हुने बाल मृत्युदरलाई कम गर्न सहयोग पुग्ने बताइएको छ। यस्तै गर्भवती, वृद्धवृद्धा र बालबालिकाका लागि यो चामल बढी उपयोगी हुनेछ। खाद्य कम्पनीका अनुसार २०७४ मा यो चामलको बाजुरामा परीक्षण भइसकेको छ। स्थानीयले यो चामललाई रुचाएको र सकारात्मक प्रभावहरू देखिएपछि कर्णालीका ५ जिल्लामा पनि वितरण गर्न थालिएको थापाले बताए। 

स्तरोन्नति गरिएको पोषिलो चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र  पाइरिडक्सिन लगायतका पौष्टिक तत्व मिसाइएको छ। पहिलो चरणमा सन् २०२४ को अक्टोबरसम्म ७ हजार मेट्रिकटन पोषिलो चामल वितरण गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। 

दोस्रो चरणमा कर्णालीका अन्य जिल्लामा समेत यो चामल वितरण गर्ने योजना कम्पनीको छ। कर्णालीका दुर्गम जिल्लामा यो चामल सहज र समयमै उपलब्ध गराउनका लागि ढुवानी र वितरणलाई प्रभावकारी बनाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पोषिलो चामल र यसअघि वितरण हुँदै आएको चामलको मूल्यमा धेरै अन्तर छैन। 

यसकारण पनि स्थानीयले सहज रुपमा यो चामलको उपभोग गर्ने र यसले कुपोषण घटाउन सहयोग पुग्ने कम्पनीको दाबी छ। पोषण तत्वको कमीका कारण कर्णालीका दुर्गम क्षेत्रका बालबालिकामा हाल पुड्कोपना, ख्याउटेपना, रक्तअल्पता र शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्तिको अभाव लगायतका समस्या छन्। 

दुर्गममा रहेको कुपोषणको यही समस्या समाधानका लागि सरकारले पोषिलो चामल बजारमा पठाउने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रमुख थापाको भनाइ छ। पोषिलो चामलको उपभोगले दुर्गम जिल्लाहरूमा देखिएको कुपोषणको समस्या न्यूनीकरण हुने कर्णाली प्रदेश योजना आयोगको विश्वास छ। 

आयोगका उपाध्यक्ष योगन्द्रबहादुर शाहीले पोषिलो चामलसँगै कर्णालीमै उत्पादन हुने रैथाने बालीको महत्वलाई पनि बुझाउनुपर्ने बताए। स्थानीय स्तरमा नै उत्पादन हुने र धेरै पौष्टिक तत्व पाइने चिनो, कागुनो, उवा, फापर, मार्से तथा मार्सी चामल लगायतका खाद्यान्नको प्रयोग बढाउन सकेमा कुपोषणको समस्यालाई कम गर्न सकिने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.