उब्जनी घटेपछि रित्तिँदै बस्ती

उब्जनी घटेपछि रित्तिँदै बस्ती

सुर्खेत : पहिले पाखोबारीमा अन्नबाली राम्रै फल्थ्यो। सिजन अनुसार तरकारी खेती हुन्थ्यो। नजिकै घाँस पाइने भएकाले पशुपालनबाट स्थानीयले आम्दानी गर्थे। तर पछिल्लो एक दशकयता गाउँमा खेती गर्दा पनि उत्पादन घट्दै गइरहेको छ। सुक्खा र खडेरीका कारण पाखोबारीमा उब्जनी हुन छाडेपछि सुर्खेतको चौकुने र पञ्चपुरीका लेकाली बस्तीहरू रित्तिँदै गइरहेका हुन्।

गाउँमा दुख गरेर खेती गर्दासमेत उब्जनी हुन छाडेपछि स्थानीयहरू बसाइ सर्ने क्रम बढेको छ। बढ्दो खानेपानीको संकट र सिँचाइको अभावले गर्दा उब्जनी हुन छाडेपछि स्थानीयले बस्ती नै छाडिरहेका छन्। जिल्लाको चौकुने गाउँपालिकाको वडा नं १ मा रहेका तोलीसैन र सोता गाउँमा पहिलेको जस्तो हिजोआज उत्पादन हुँदैन। 

आकाशबाट पानी पर्न कम भएको र गाउँमा सिँचाइको सुविधा नहुँदा बारीमा अन्नबाली फल्न छाडेको हो। उत्पादन भएको अन्नले वर्षभरी छाक टार्न हम्मेहम्मे हुन थालेपछि धेरै परिवार गाउँ नै छाडेर अन्यत्रै गएको तोलीसैनकी देवीकला रानामगरले बताइन्। ‘पहिला त हाम्रो गाउँमा ३० घरपरिवार थिए’ देवीकलाले भनिन्,‘गाउँमा उब्जनी हुन छाडेपछि १४ परिवार पुर्खाले कमाउँदै आएको घरबारी नै छाडेर अन्यत्रै गइसके, अचेल गाउँमा रहेका कुवाहरू पनि सुक्दै गएका छन्। खडेरीमा यहाँ खानेपानी नै पाउन मुस्किल छ, खेतीमा सिँचाइ कसरी गर्नु ?’ 

गाउँमा रहेका पानीका कुवामा पनि पानीको स्रोत घट्दै गएको र सिँचाइको अभावमा अन्नबाली तथा तरकारीको उत्पादन हुन छाडेको उनको भनाइ छ। उब्जनी नहुँदा स्थानीयहरू पछिल्लो समय बस्ती नै छाडेर चौकुनेकै लगाम, पोखरे र छिमेकी जिल्ला कैलालीको लम्कीतर्फ बसाइ सरेर गएका छन्। 

अधिकांश परिवार बस्ती छाडेर गए पनि गाउँमा रहेका परिवारले उत्पादन घट्दै जाँदा जीविकोपार्जनमा समस्या भोगिरहेका छन्। तोलीसैनमा रहेको २ लाख १५ हजार ५४२ वर्गमिटर जमिन मध्ये हाल अधिकांश जग्गा बाँझो छ। हाल यहाँ करिब ५५ हजार १७३ वर्गमिटर जमिनमा मात्रै खेती हुँदै आएको स्थानीय बताउँछन्। 

यस्तै तोलीसैनदेखि पश्चिम क्षेत्रमा पर्ने सोता गाउँमा केही वर्ष अघिसम्म ३५ परिवारको बसोबास थियो। तर गाउँमा उब्जनी हुन छाडेपछि अहिले यहाँ केवल ३ परिवार मात्र बसोबास गरिरहेका छन्। बाँकी परिवार आफ्नो घरजग्गा छाडेर अन्यत्रै गएका छन्। 

यो गाउँमा रहेको २ लाख ८८ हजार २८६ वर्गमिटर खेतीयोग्य जमिन मध्ये हाल करिब ४० हजार वर्गमिटर क्षेत्रफल जमिनमा मात्र खेती गर्ने गरिएको छ। स्थानीय यामबहादुर रानाले गाउँमा उब्जनी हुन छाडेपछि अधिकांश परिवारले बस्ती नै छाडेर गएको बताए। उनले भने,‘पहिले गाउँमा लगाएको बाली राम्रै फल्थ्यो, त्यसैले वर्षभरी खान पुग्थ्यो। तर पछिल्ला वर्षमा आकाशबाट पानी कम पर्न थाल्यो, पाखोबारीमा सिँचाइ सुविधा नहुँदा उत्पादन घट्दै गएपछि वर्षभरी खान पुग्दैन।’

खानेपानीको अभावका कारण स्थानीयहरू बस्तीबाट टाढा रहेका खोलाबाट पानीको जोहो गर्न बाध्य छन्। खानेपानीको संकट र सिँचाइको अभावमा बारीमासमेत उब्जनी हुन छाडेपछि धेरै परिवारले गाउँ छाड्दा बस्ती नै रित्तिन थालेको उनले सुनाए। 

यस्तै अवस्था रहे बाँकी रहेका परिवारले पनि गाउँ छाड्ने अवस्था आउने उनको भनाइ छ। चौकुनेमा मात्र होइन, जिल्लाको पञ्चपुरी नगरपालिकाकामा रहेका लेकाली बस्तीमा पनि यस्तै समस्या छ। पञ्चपुरी नगरपालिकाको वडा नं १ मा रहेका हाँसेगाउँ, फार्सेकाँडा र भक्तडीका बस्तीहरू पनि पछिल्लो समय पातलिँदै गएका छन्। उमेरले ६ दशक पार गरेकी स्थानीय लक्ष्मी शाही भन्छिन्,‘अचेल हामीलाई खानेपानीको जोहो गर्नै धौ–धौ भयो, पहिलाको जस्तो वर्षात् पनि हुँदैन। वर्षात् नहुँदा गाउँमा रहेका पानीका मुहान सुक्दै गए, खडेरीले पाखोबारीमा पहिलाको जस्तो उब्जनी हुँदैन।’ 

डाडाँको बस्तीमा पानीका स्थायी स्रोत छैनन्। भएका मुहान पनि विस्तारै सुक्न थालेपछि स्थानीय बासिन्दा बर्सेनि बसाइ सरेर जानेक्रम बढ्दो छ। पूर्ववडाध्यक्ष धनबहादुर थापाका अनुसार खानेपानीको अभाव र खडेरीले उत्पादन घट्दै गएपछि यो वडाबाट हालसम्म करिब डेढसय घरधुरी बसाइ सरेर गइसकेका छन्। खानेपानी र सिँचाइको सुविधा उपलब्ध नभए बस्तीहरू विस्तारै रित्तिँदै जाने उनको भनाइ छ। 

सन् २०१९ मा कर्णाली र सूदुरपश्चिम प्रदेशका बोगतान–लगाम–कर्णाली र रानागाउँमा रहेका जलाधार क्षेत्रहरूको अध्ययनले जलवायु परिवर्तनका कारण पानीका मुहान र सिमसार क्षेत्रहरू सुक्नेक्रम बढेको देखाएको छ। जलवायु विज्ञ सुदीप ठकुरीका अनुसार उक्त अध्ययनले सो क्षेत्रमा पानीका स्रोत सुक्दै गएको, मुहानमा पानीको सतह घटिरहेको र मानवीय क्रियाकलापले गर्दा जलाधार क्षेत्रमा अतिक्रमण बढेको देखाएको छ। 

उनी भन्छन्,‘जलवायु परिवर्तनका कारण आकाशबाट कम वर्षात् हुने गरेको छ, खडेरीको समस्या पनि बढ्न थाल्यो। सिँचाइ नहुँदा किसानको बारीमा विस्तारै उब्जनी घट्दो छ, यसले विस्तारै जीविकोपार्जनमा नै समस्या उत्पन्न गराइरहेको छ।’ उब्जनी नहुँदा जिल्लाका ग्रामीण बस्तीहरू विस्तारै रित्तिन थाले पनि सरकारी तवरबाट भने यसतर्फ कुनै चासो दिएको देखिंदैन। 

सिँचाइ सुविधाको व्यवस्थापन नभए ग्रामीण क्षेत्रमा खाद्यान्नको संकट बढ्ने र यसले बसाइसराइको दरलाई थप बढाउने विज्ञहरू बताउँछन्। यसलाई रोक्न ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा उपलब्ध गराउनुपर्ने र खडेरीमा पनि फल्न सक्ने अन्नबालीको खेतीतर्फ स्थानीयलाई आकर्षित गर्नुपर्ने उनीहरूको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.