प्रकोपले बदलियो खेती प्रणाली

प्रकोपले बदलियो खेती प्रणाली
सुन्नुहोस्

टीकापुर : जलवायु परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपले सधैं विनाश मात्रै गर्दैन। प्राकृतिक प्रकोपले कहिलेकाहीँ सहजता पनि प्रदान गर्छ भन्ने उदाहरण हो, कैलालीको भजनी नगरपालिकामा लगाइएको चैते धान खेती। 

जलवायु परिवर्तन तथा वन विनाश जस्ता कारणले बर्सेनि प्राकृतिक प्रकोपबाट डुबानमा पर्दै आएको भारतीय सीमावर्ती भजनी नगरपालिकाको डुबान क्षेत्रको खेती प्रणाली नै बदलिएको छ। दशक अघिसम्म उखरमाउलो चैत र वैशाख महिनाको गर्मीमा प्रायः बाँझो रहने भजनीका फाँटमा यतिबेला चैते धान खेती लहराइ रहेको छ। यहाँका किसानले बाढीबाट बर्सेनि प्रभावित हुन थालेपछि खेती प्रणाली नै बदलेका छन्। 

वर्षायाममा बाढी आएर बाँझो रहने जमिनमा उनीहरू तोरी रोप्छन्। फागुन महिनामा तोरी निकालेपछि ती फाँटहरूमा चैते धान खेती लगाउँछन्। यहाँका किसान गर्मी सहन सक्ने, बाढीको प्रकोपले असर नगर्ने, चिउरा आदि बनाउनका लागि सहजै बिक्री गर्न सकिने चैते धान खेती लगाउन थालेका छन्। किसानले सिँचाइको सामान्य सुविधामा नै खेतबारीमा फागुन अन्तिममा लगाएर असारमा भिœयाउन मिल्ने चैते धान लगाउन थालेका हुन्। पालिका भएर बग्ने मोहना नदी, पथरैया, काँढा र कान्द्रालगायतका साना ठूला नदीहरूले बाढीको उच्च जोखिममा रहेको वडा नं. ३ र ८ का अधिकांश किसान यतिबेला चैते धान लगाइ रहेका छन्। 

भजनी नगरपालिका–८ का किसन चौधरीले वर्षायाममा लगातार बाढी आउन थालेपछि खेती प्रणाली नै परिवर्तन गरेर विगत ११ वर्षदेखि चैते धान खेती गर्दै आएको बताए। उनले भने, ‘हाम्रो वडाभरि नै चैते धान खेती लगाउने किसान बढ्दै गइरहेका छन्, हामीले खेती प्रणाली नै परिवर्तन गरेका छौं।’ 

भजनीकै वडा नं. ३ का पवित्रा चौधरीको परिवारसमेत विगत छ वर्षदेखि चैते धानखेती गर्दै आइरहेका छन्। ९ जनाको संयुक्त परिवार कृषि उत्पादनकै भरमा चलाउँदै आएको बताउने पवित्राले अन्य किसानको जग्गामा समेत चैते धानखेती लगाउँदै आएकी छन्। 

कैलालीमा अत्याधिक डुबान हुने क्षेत्रका रूपमा रहेको उनको खेतमा बाढीका कारण फल्नै आँटेको फाँटमा बालुवा थुप्रिन्छ। कहिले भिœयाउने समयमा सोत्तर पार्छ। डुबानको यही समस्याबाट गुज्रिरहेको पवित्राको परिवारका लागि अहिले चैते धान खेती मुख्य आम्दानीको स्रोत बनेको छ। पवित्राले भनिन्, ‘वर्षामा लगाउँदा बाढीले लगानीसमेत उठ्दैन, गहुँ लगाउँदा जंगली जनावरले खाइदिन्छ, त्यही भएर फागुनमा चैते धान लगाउने गरेका छौं।’

बाढीले वर्षे धानखेतीमा बर्सेनि क्षति पुग्न थालेपछि वैकल्पिक खेतीका रूपमा चैते धान गरिरहेका किसानहरू स्थानीय सरकार, प्रदेश सरकारले चैते धान खेतीमा सहयोग गर्न थालेपछि व्यावसायिक रूपमै चैते धानखेती गर्न थालेका हुन्। 

भजनी नगरपालिका–८ का किसान प्रमोद सुनारले सिँचाइ, मलखाद, बीउमा पालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्न थालेपछि किसानको आकर्षण बढ्दै गएको बताए। ‘पानी तान्नका लागि लागि डिजल चाहियो, मलखाद पनि बेमौसम भएको हुनाले नपाइने समस्या हुन्थ्यो,’ सुनारले भने, ‘सबै ठाउँमा विद्युत् पनि पुगेको छ, सिँचाइका लागि मोटर, मलखाद्य र बीउमा ज्ञान केन्द्रले सहयोग गरेपछि यहाँका अधिकांश किसान चैतेधान खेती लगाइरहेका छन्।’

भजनी नगरपालिकाका कृषि अधिकृत सुशोधन अधिकारीका अनुसार पालिकाका वडा नं. ३, ६ र ८ को झन्डै १ हजार बढी हेक्टर जमिनमा चैते धान खेती भइरहेको छ। ‘डुबान क्षेत्र भएकाले पनि चैते धान खेती गर्ने किसान बढिरहेका छन्, प्रधानमन्त्री आधुनिक कृषि परियोजना, सुदूरपश्चिम प्रदेशको कृषि ज्ञान केन्द्र कैलालीले समेत चैते धान खेती प्रवद्र्धनका लागि कार्यक्रम गरिरहेका छन्,’ कृषि अधिकृत अधिकारीले भने, ‘यहाँको माटोमा समेत चैते धानखेती राम्रो हुँदै गइरहेको हुनाले पालिकाले समेत प्राविधिक सहयोग गर्दै आइरहेको छ।’ भजनी नगरपालिकामा झन्डै ११ हजार हेक्टर कृषियोग्य जमिन छ। पालिकाका अनुसार वर्षायाममा झन्डै ३ हजार जमिन बाढीको समस्याका कारण बाँझो रहन्छ। कृषि अधिकृत अधिकारीले भने, ‘अन्य वडामा पनि चैते धान खेती हुँदै आएकोमा वडा नं. ३ र ८ लाई चैते धान खेती जोनकै रूपमा खेती विस्तार भइरहेको छ।’

पालिकाका नगर प्रमुख केबल चौधरीले चैते धान खेती विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युतीय पोल र तार विस्तारका लागि झन्डै २ करोड रुपैयाँको सम्झौता प्रक्रिया बढाइएको बताए। ‘बाढी प्रभावित क्षेत्रमा पर्याप्त मात्रामा चैते धान खेती बिस्तारका लागि सिँचाइ सुधिवा पु¥याउन हामीले विद्युत् प्राधिकरणसँग सम्झौता प्रक्रिया अगाडि बढाएका छौं,’ नगर प्रमुख चौधरीले भने, ‘चैते धान खेतीलाई वर्षे खेतीकै रूपमा विकास गर्ने पालिकाको योजना छ।’

ज्ञान केन्द्र कैलालीका अनुसार बाढीबाट डुबानमा जोखिममा परेका भजनी नगरपालिकासहित कैलालीमा टीकापुर, घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया र कैलारी गाउँपालिकामा चैते धान खेती हुँदै आएको छ। सिँचाइको सुविधा भएका किसानले तोरी निकालेपछि लगाउने हुनाले किसानका लागि चैते धान खेती अतिरिक्त आम्दानीको स्रोत बनेको ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले बताए।  

कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा १ हजार १ शय हेक्टर जमिनमा चैते धान खेती हुँदै आएको छ भने ५ हजार ७ सय २० टन चैते धान उत्पादन हुँदै आएको छ। 

जलवायु तथा विपद् विज्ञ डाक्टर धरमराज उप्रेती विपद्ले अवसर पनि सिर्जना गर्छ भन्ने उदाहरण चैते धान खेती भएको बताउँछन्। ‘हरेक वर्ष बाढीले धान बगाउने, किसानले दुःख पाउने हुनाले चैते धान खेतीमा किसानका आकर्षण बढेको हो,’ डाक्टर उप्रेतीले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.