कसरी हुर्काउने सन्तान ?

कसरी हुर्काउने सन्तान ?
सांकेतिक तस्बिर।

केही समयअघि, एउटा दाँतले धेरै दुःख दिएको थियो, रात भर दुखेर सुत्नै नसकेपछि बिहानै दन्त विशेषज्ञ (डेन्टिस्ट) दाइ कहाँ रन्थनिँदै पुगेँ। उहाँलाई त्यो दाँत निकालेर फालिदिन अनुरोध गरे। उहाँको उत्तर जे थियो त्यो मैले आफ्नो कामको सन्दर्भमा धेरै पटक सम्झन्छु। उहाँले भन्नुभयो, यो दाँतलाई एउटा जीवन जसरी हेर्नुपर्छ, एउटा दाँत नभएर के बिग्रन्छ र ? भन्ने तिमीलाई लाग्ला तर यो दाँतलाई सम्हाल्नु तिम्रो जिम्मेवारी हो। र, यसलाई जोगाउनु पेसाले मेरो कर्तव्य हो। 

पेसाले म एक शिक्षक हुँ। मुखमा भएका थरीथरीका दाँत जस्तै, विद्यालयमा पनि अनेक स्वभावका विद्यार्थी हुन्छन्। कोही सरल, सुल्झेका, हल्का बाटो देखाए, आफैं गन्त्वयमा दगुरी पुग्ने भने कोही अशिष्ट, अभद्र, असभ्य, कुलतमा लागेका, पढाइमा निकै न्यून र बाटो बिराएका। दुखेको दाँत जस्तै यी विद्यार्थीलाई विद्यालयबाट निकालिदिए, काम निकै सरल हुने थियो। तर, त्यसो गर्दा अध्यारोमा बत्ती बालेर स्वतः बाटो पछ्याउने गाडीलाई गुड्न सरल बनाइदिएको जति मात्र हुनेछ। विद्यालय र अभिभावकको काम त नाबालकहरूलाई बाटो कोरी दिएर त्यसमा हिँड्न सिकाउने हो, यस लायक बनाउने हो कि भविष्यमा उनीहरू आफ्नो बाटो आफैं कोर्न सकून्। 

विद्यालय किताब पढाउने ठाउँमा मात्र सीमित भयो भने, समाज विकास गर्न सकिँदैन। विद्यालय जीवन जिउन सिकाउने घर हुनुपर्छ। विद्यालय छिर्नुअघि सही मार्गदर्शन नसमाएका विद्यालर्थीहरू विद्यालयमा पनि दुखेका दाँत जस्ता हुन्छन्। उनलाई शिक्षकले, साथीहरूले, साथीहरूका अभिभावकले नरुचाउनु मानवीय स्वभाव नै हो। यस्ता विद्यार्थीले अरू बच्चाहरूलाई पनि बिर्गान थाले, विद्यालयले उनीहरूलाई निष्कासन गर्नु गलतै हो भन्न पनि अप्ठ्यारो छ, यो परिस्थिति र डाक्टरले जीवन जोगाउन कहिले हात, खुट्टा काट्नै पर्ने परिस्थिति एउटै–एउटै होला।

खराब विद्यार्थी विद्यालयबाट निष्कासित भए। कक्षा अब अनुसाशित हुन्छ, विद्यालय व्यवस्थित छ।  रोटी पकाउँदै थिए, एउटा पिठोको डल्लो भुइँमा झ¥यो, डस्टबिनमा फाले। त्यो डल्लोमा अब ढुसी आउनेछ र त्यसले वरिपरि दुर्गन्ध, किटाणु र रोग फैलाउनेछ। विद्यालयबाट फालिएका विद्यार्थी पनि, त्यो पिठोको डल्लो जस्तै खुला चौरमा दिन बिताउँदा रहेछन्। त्यहाँ चुरोटलगायत अनेक थरीका कुरा खाने, झगडा, मारपिट गर्ने सबै चल्ने रहेछ। यी बच्चाहरूले आफूलाई यसरी प्रस्तुत गर्छन कि, कोही पनि यिनीहरूको नजिक आउन, बोल्न, माया गर्न पनि हच्किन्छन्। आज ससाना झगडामा अल्मलिँदै यी बच्चाहरू भविष्यमा चोर, गुन्डा बनेर निस्किन्छन्। हामीले यिनलाई अरू कुनै सकारात्मक तालिम नै दिन सकेनौं।

हामीले नरुचाएका कुरा हामीबाट टाढा होस् भन्ने सामान्य मानवीय चाहना सबैको हुने गर्छ। यसरी कमजोरीलाई पन्छाउँदै जादा, दीर्घकालीन समाधान भयो कि भएन भनेर चाहिँ हामीले सोच्न बिर्सन्छौं। आज सहज भयो तर यसले भोलि झन ठूलो समस्या निम्त्याउँदै छ भन्ने हाम्रो मनोबिज्ञानले दूरदर्शी भएर बिरलै सोच्ने गर्छ। 

सुल्झिएका विद्यार्थी र विद्यालयबाट निष्काशित विद्यार्थी कालान्तरसम्म बस्ने समाज त एउटै हुनसक्छ। सही बाटो समाएर आफ्नो भविष्य सुनिश्चित गरेकाहरूले, बाटो बिराएर गुन्डा बनेकाहरूसँग आफूलाई र आफ्ना परिवारलाई कसरी सुरक्षित राख्ने ढिलो चाँडो त सोच्नै पर्छ। 

विद्यालयमा नअटाएका विद्यार्थीलाई सकारात्मक, सिर्जनशील कार्यमा राज्यले कसरी व्यस्त बनाउन सक्छ, कुनै ठोस योजना भएन भने समाजको विकृति कहिल्यै पनि सकिँदैन। बच्चा गलत होइन, उ भित्रका गलत प्रवृत्तिलाई हटाउन नसक्नु हामी सबैको कमजोरी हो। धेरैपटक मैले देखेको छु, झगडा गर्ने, बदमास भनिएका विद्यार्थी पनि, कसैले प्रेमले बोल्यो भने आफ्नो डर, पिर सबै भन्ने गर्छन्, अरूलाई रुवाउन जानेका भनेर चिनिएकाहरू आफैं रुन्छन् पनि। उनीहरूलाई अझै समय दिँदै जाने हो भने, उनीहरू भित्रको केही न केही खुबी अवश्य पहिचान हुन्छ। कोही असल गायक हुने रहेछन्, कोही कुशल वक्ता, कोही खाना पकाउनमा विशेष कला भएका, आदि–आदि।

आज सहज बनाउन कमजोर पक्ष, गलत नै ठहर गरिएका पक्षलाई एक्लाउँदै जाने हो भने, भोलि झन जटिल परिस्थिति आउँछ। एउटा सुन्दर समाजको निर्माण गर्ने हो भने हामीले समाजभित्रका कलिला जिम्मेवारीलाई जस्ता छन् त्यस्तै स्वीकार गर्दै, उनीहरूलाई बाटो बिराउन दिनुहँुदैन। गर्भमा बच्चा आउनु अघिदेखि नै अभिभावकले बच्चालाई कसरी हुर्काउने, कसले कसरी बच्चालाई समय दिने, बच्चाको उमेरसँगै उनीहरूसित कसरी व्यवहार गर्ने, तालिम लिनै पर्छ। बच्चा जन्मन्छन्, आफंै हुर्किन्छन् भन्ने सिद्धान्त गलत हो, अज्ञानता हो। 

आजका बच्चा भोलिको समाजका नायक वा खलनायक दुवै हुन सक्छन्, हामीले बच्चालाई गर्ने व्यवहार, बच्चाको हुर्काइको योजना, राज्यको शिक्षा नीतिमा सही प्रणाली भएन भने, समाजमा खलनायक रहिरहने छन्। जीवन अनमोल छ, प्रत्येक जीवनमा केही न केही सिर्जनशील शक्ति अवश्य छ। अभिभावक, विद्यालय, राज्यका नीतिकार मिलेर, हाम्रो देशका सबै बालबालिकाको बारेमा संवेदनशील भएर, प्रेमले सोचौं। घरका सन्तान जति गलत भए पनि, परिवारले साथ र सहयोग गर्दै उनलाई अपनाउँछ नै, यो देश पनि सबै बालबालिकाको घर हो। सबै बालबालिकाले त्यो अपनत्व अनुभव गर्ने व्यवस्था हुनुपर्छ। समय रहदै सजक भए, भोलिको सुन्दर समाज अवश्यभावी छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.