समर्थन फिर्ता लिएकै भोलिपल्ट मुख्यमन्त्री शाहले दिए उन्मुक्तिका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी
धनगढी : सरकारको समर्थन फिर्ता लिने निर्णय गरेकै भोलिपल्ट मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट बिना विभागीय बनाइएका दुईजना मन्त्रीलाई मन्त्रालय तोकेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारी लक्ष्मणकिशोर चौधरी र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी खुसीराम चौधरीलाई तोकिएको छ ।
विना विभागीय दुवै मन्त्रीले केही बेरअघि पदभार ग्रहण गरिसकेका छन् । बुधबार मात्रै पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा टीकापुरमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले संघको गठबन्धन अनुसार जाने र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपी केही मन्त्रीहरूका भने त्यसमा फरक विचार सार्वजनिक भएका छन् ।
योसँगै सुदूरपश्चिमको मन्त्रिमण्डलमा नागरिक उन्मुक्तिका ४ जना मन्त्री र एकजना राज्यमन्त्री छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,भौतिक पूर्वाधार विकास कार्यालय र आन्तरिक मामिला मन्त्रालय नेपाली कांग्रेससँगै छ ।