हिमालपारि भोटका कथा
भोटको समष्टि अनुहार देखाउन पुस्तक तयार भएको छ। शेर्पाहरू विश्वमा सबैभन्दा धेरै हिमाल चढ्ने समुदाय भएको भन्दै नेपालसँगको प्रसंग पनि ल्याइएको छ।
किताबी भाषामा आएको कुरा किताब हुन्छ। भिडियोको भाषामा आएको कुरा वृत्तचित्र हुन्छ। एकै विषयका खुराक दुवैमा आएर अब्बल बन्ने उदाहरण भने धेरै छैनन्। यदाकदा यस्ता केही अपवादहरू भने छन् जसले भने किताबदेखि भिडियो दुवैका खुराक अब्बल बनाएका छन्।
सन् २०२२ मा नेटफ्लिक्समा तहल्का मच्चाएको ‘नथिङ इज इम्पोसिबल’ र सोही वर्ष सोही विषयमा आएको किताब ‘बियोन्ड पसिबल’। नेपाली मूलका बेलायती नागरिकताधारी आरोही निर्मल पुर्जाले त्यस्तो सम्मिश्रण प्रस्तुत गरे। उसो त राणाकालदेखि प्रजातन्त्रकालमा नेपाल आएका स्विस भूगर्भविद् टोनी हेगनको किताब र वृत्तचित्र दुवै मोर्चामै सफलता आएकै हो।
यस्तै मेसोमा भोट बारेमा बनेको समष्टिगत र लोकप्रिय वृत्तचित्र पनि नयाँ उदाहरण बन्न पुगेको छ। भोटका जनजीवन, प्रकृति, संस्कृतिदेखि वातावरणको केस्राकेस्रा केलाएर बनाइएको बहुचर्चित वृत्तचित्र हो, ‘द थर्ड पोल’। सन् २०१३ सेप्टेम्बर २९ बाट छायांकन सुरु भएर एक लाख किलोमिटर दूरी पार गरेर दुई सय दिन काम गरेर बनेको वृत्तचित्र हो यो। पाँच सय सदस्यले यसमा काम गरेका छन्। पाँच हजार मिटर उचाइको तुल गाउँको माइनस २० डिग्रीको तापक्रममा समेत पुगेर वृत्तचित्र बनेको हो।
चङ हाइरुले प्रमुख निर्देशकको रूपमा काम गरेको वृत्तचित्रका खुराकलाई पुस्तकाकार दिन कुओ सिनले मेहनत गरेका छन् भने अंग्रेजी अनुवाद गरेर गैर चिनियाँ पाठकमा लाने काम भने वाङ हाओले गरेका छन्। लाख बढी शब्दको वृत्तचित्रको स्क्रिप्टलाई २७० पेजमा ढालेर ‘द थर्ड पोल’ नामकै पुस्तक बजारमा ल्याइएको छ। भोट बुझ्ने सामग्रीमा आउने पर्यटन ब्रोसरदेखि समाचार अनि कथाहरू पढ्दा पाउनेभन्दा नजिकैको र खास खुराक किताबमा छन्।
भोटको समष्टि अनुहार देखाउन पुस्तक तयार भएको छ। चीनका एक तिहाइ संरक्षित पक्षीहरू भोटमा पाउने तथ्यहरूसँगै प्रकृति र संस्कृति जोडी बसेका भोटका रैथानेहरूका चित्ताकर्षक कथा किताबमा छन्। आनी मामाले गोठालो गर्दा कुकुर लिएका हुन्छन्। कुकुर र मान्छेका कतिपय कुरा मिल्ने भन्दै उनी भन्छन्, ‘हामीले दुई वा तीन कुकुर पाल्नुपर्छ। कुकुर पनि मान्छेहरू जस्तै हुन्। उनीहरूलाई पनि साथ चाहिन्छ।’
ल्हासाले वर्षमा तीन हजार घण्टा घाम देख्नै भन्दै ल्हासाको गुलियो चियाको आगमन सय वर्षअगाडि भएको भनिएको छ। तर, आगमन बेलायती आक्रमणकारीसँगै आयो वा काश्मिरीहरूसँग आयो भन्नेमा यकिन नभएको भनिएको छ। भोटको जीवनशैलीमा घोडा सवारीमा प्रयोग भएको र घोडासँग जोडिएका धेरै महोत्सव पनि भएको भनिएको छ। भोटमा प्रयोग हुने धार्मिक ध्वजामा पनि घोडा जोडिएको भनिएको छ।
लुङ्ता भनिनेमा लुङको अर्थ हावा र ताको अर्थ घोडा भएको भन्दै पाँच रङको वायु घोडाको रूपमा ध्वजा प्रचलनमा आएको बताइएको छ। जसमा नीलो रङले आकाश, सेतोले बादल, रातोले आगो, हरियोले जल र पहेँलोले पृथ्वी जनाउने भोट संस्कृति किताबमा छन्। हजार वर्ष पुरानो गिद्धको हाडबाट बनाउने २४ देखि २६ सेन्टिमिटर लम्बाइ र डेढ सेन्टिमिटर गोलाइको मुरलीदेखि दुई करोड अक्षर भएको १२० ठेलीको राजा गेसर महाकाव्य हुँदै कैलाश मानसरोवरमा आएका भक्तका आकर्षक भोट कथा किताबमा छन्।
भोटवासीहरू मूलतः मारकाट गर्दैनन्। माछा मार्दैनन्। तर, जुनपा क्षेत्रका भोटवासीहरू भने माछा मार्ने गरेर जीविका चलाउँछन्। भोटा भाषामा जुनपाको अर्थ ‘समाप्तु’ लाग्ने भनेर त्यसको साइनो जोडिएको छ। यार्लुङ जाङ्बो नदी किनारमा यस्तो माछा मार्ने प्रचलन छ। भोट भाषामा पूर्वेली अर्थ लाग्ने शेर्पादेखि दक्षिणी अर्थ लाग्ने लोबा समुदायका चित्ताकर्षक कथाहरू किताबमा छन्।
शेर्पाहरू विश्वमा सबैभन्दा धेरै हिमाल चढ्ने समुदाय भएको भन्दै नेपालसँगको प्रसंग पनि ल्याइएको छ। तिब्बती बौद्ध धर्म, भिर माहुरी, भोटे कुकुर, तिब्बती औषधोपचार, सगरमाथा, शेर्पादेखि पेज ७३ मा काठमाडौंको छुट्टै अध्याय नै छ। भोटमा सीमा जोडिएका भारतदेखि भुटानका कुनै भूगोल विषेश खुराक छैनन्। विभिन्न प्रसंगमा नाम आएका मात्रै छन्। यसले यो किताबलाई भोटको कथा मात्रै नभएर भोटको नेपाल साइनोको कथा पनि भन्न सकिन्छ।
किताबमा भोटका भुटानदेखि भारत साइनो आदि खोज्नमा भने मेहनत गरिएको छैन। खासगरी काश्मिरदेखि सिक्किम आदि भोटका ऐतिहासिक कालदेखिका अभिन्न सीमापार क्षेत्र हुन्। यी क्षेत्रमा भोटको कथा बुन्न र भन्न किताबमा मेहनत गरिएको छैन। यद्यपि, चीनकै सिचुवानका भोट समुदायहरूको कथा भने राम्ररी भनिएको छ। कुनै पट्यारलाग्दो किताब नभएर चित्रहरू र स्थानीयका भनाइहरू अनि त्यसका इतिहास खोतलेर तयार भएको छ किताब। वृत्तचित्र बनेर मात्रै किताब बनेको हो। सलल बगेको शब्दले वृत्तचित्रकै अनुभव दिन्छ।
नेपाली लेखकहरू प्रदीप बस्याल र अंकितबाबु अधिकारीले लेखेको किताब ‘शेर्पा’को किताब करिडोर नेपालदेखि भारतसम्म छ। यो किताबको करिडोर भोटदेखि नेपालसम्म छ। शेर्पा बिल्कुल शेर्पामै केन्द्रित किताब हो। यो भने शेर्पासहित आमभोटका हिमाली समुदायको कथा हो। ‘शेर्पा’ नपढ्ने भोटबारेमा जिज्ञासुलाई त्यो नेपालतर्फको हिमाली कथा हुनेछ। ‘द थर्ड पोल’ नपढेका नेपालीलाई यो भोटपारिका हिमाली कथा हुनेछन्। भोट बुझ्न सहज, चुस्त र चित्ताकर्षक छ यो किताब।