‘उत्पादन बढाउने र बजारमा रकम पठाउने उपायको खोजी’

‘उत्पादन बढाउने र बजारमा रकम पठाउने उपायको खोजी’
सुन्नुहोस्

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादन बढाउने र बजारमा रकम पठाउने उपायको खोजी गरिनुपर्ने बताएका छन्। महासंघको ५८औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले पुँजीगत खर्च बढाउनु पर्नेमा जोड दिए। 

उनले साना उद्यमीको सहुलियतपूर्ण कर्जा रोकिएको र निर्माण व्यवसायीको भुक्तानी रोकिएको जनाए। राजस्व कम उठेकाले अनावश्यक अनुगमनका कारण व्यवसायी समस्यामा रहेको पनि बताए। ‘निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो। सरकारले दिने सेवा र सुरक्षाबिना हामी काम गर्न सक्दैनौं,’ अध्यक्ष ढकालले भने, ‘सेवा र सुरक्षा दिएबापत हामी राज्यलाई कर बुझाउँछौं।’ 

उनले आम्दानी र खर्चबीच तालमेल नमिलेको बताए। निजी क्षेत्र अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको उनले जनाए। अध्यक्ष ढकालले अहिलेको देशको वास्तविक चित्रण प्रस्तुत गरे। अहिले विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च छ। अर्थात् करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ। बैंकहरूमा पनि तत्काल कर्जाका रूपमा दिन सकिने करिब ६ खर्ब रुपैयाँ छ। उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ। 

नेपाल विश्व व्यापार संगठनको सदस्य बनेयता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको उनले औंल्याए। वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत हाराहारीमात्रै छ।

वैदेशिक अनुदान निरन्तर घट्दो छ। वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झन्डै दोब्बर भएको छ। आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको छ। 

निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो। रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौं भइसकेको उनले बताए।  रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ। विगतमा बढ्दो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजस्व पनि बढेको थियो। अहिले, राजस्व अपेक्षित रूपमा बढ्न सकेको छैन। न्यून पुँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुनेतर्फ उनले औंल्याए। 

उनले करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको बताए। निजी क्षेत्रको सुझावलाई सरकारले उपेक्षा गरेको सुनाए। नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख हुन्। किनभने यस अवधिमा भारत, बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ। जबकि बंगलादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ। गत वर्ष पनि नेपालको वृद्धि दुई प्रतिशतभन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशतभन्दा बढीले विस्तार भएको उनले औंल्याए। 

उद्योग संगठन मोरङ पुरस्कृत

देशभरिका जिल्ला, नगर उद्योग वाणिज्य संघमध्येबाट उद्योग संगठन मोरङ उत्कृष्ट उद्योग वाणिज्य संघको सम्मानबाट पुरष्कृत भएको छ। 
नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनले सो सम्मान पाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदान गरेको उत्कृष्टताको प्रमाणपत्र तथा अवार्ड संगठनका अध्यक्ष राकेश सुराना र वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले ग्रहण गरे। 

जिल्ला, नगर उद्योग वाणिज्य संघले उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि खेलेको भूमिका, संघप्रदेश र स्थानीय निकायसँग साझेदारीमा भएका काम, बहस पैरवीबाट प्राप्त उपलब्धि, सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका कार्यका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पुर्‍याएको योगदानको आधारमा नेपाल उद्योग वाणिज्य महासंघले संगठनलाई उक्त सम्मानबाट पुरष्कृत गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.