शल्यक्रिया! कतिपटक ?

शल्यक्रिया! कतिपटक ?
सांकेतिक तस्बिर।

आरती केसी (नाम परिवर्तन) ३२ वर्षीया गृहिणी हुन्। उनको खास घर भारतमा भए पनि केही वर्षदेखि श्रीमान्को रोजगारका कारण विराटनगर बस्दै आएकी छन्। उनकी ९ वर्षकी छोरी छन्। थप सन्तान नभएको पनि होइन। पहिलोमा सिजरियन गरे पनि उनले थप तीन पटक सिजरियन गरेर सन्तानहरूको जन्म दिइन्। तर सन्तानमा विविध समस्या भएर बचाउन सकेनन्।

३२ वर्षमै चार पटक सिजरियन र एक पटक एपेन्डिक्सको शल्यक्रिया। एकमात्र छोरी हुँदा थप सन्तानको कल्पना गर्नु स्वाभाविक हो। दुई सन्तानको चाहना गलत पक्कै थिएन। तर फेरि गर्भ र सिजरियन ? प्रश्न सोचनीय छ। बच्चा जन्माउने र वंश बढाउने कामलाई सामान्य भनिए तापनि यो एउटा जटिल प्रक्रिया हो। जटिलताको कारण आमा, बच्चा वा आमा र बच्चा दुवैको मृत्युसमेत हुने गरेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको मातृमृत्यु दर १५१ प्रतिलाख जन्म छ। अर्थात् एक लाख जीवित बच्चा जन्माउने क्रममा १ सय ५१ आमाको मृत्यु हुने गरेको छ। डेलिभरी अर्थात् बच्चा जन्माउने प्रक्रिया धेरै किसिमका हुन्छन्। प्राकृतिक रूपमा वा कुनै बाह्य सहयोगबिना हुने डेलिभरीलाई सामान्य वा ‘नर्मल डेलिभरी’ भनिन्छ। धेरै अवस्थामा नर्मल डेलिभरी हुने गर्छन्। नर्मल डेलिभरी हुन नसक्ने अवस्थामा आमा, बच्चा वा दुवैलाई जोगाउन औजार (भ्याकुम तथा फोरसेप) प्रयोग गर्ने अर्थात् सिजरियन सेक्सन (शल्यक्रिया) गरेर डेलिभरी गराउनुपर्ने हुन्छ। नर्मल हुन नसक्ने र औजार पनि प्रयोग गर्न नसकिने भएपछि प्रसव गराउने अन्तिम विकल्प भनेको शल्यक्रिया अर्थात् सिजरियन नै हो।

पछिल्लो समयमा नर्मल डेलिभरीभन्दा सिजरियन डेलिभरी गराउनेको संख्या बढी हुने गरेको सुनिन्छ। सन् १९७० मा अमेरिकामा ४.५ प्रतिशतमा मात्र सीमित रहेको सिजरियन डेलिभरी सन् २०२२ मा सोही मुलुकमा ३२.१ प्रतिशत हुने गरेको अध्ययनले देखाएको छ। नेपालमा पनि सिजरियन डेलिभरीको दरमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। स्वास्थ्य सेवा विभागको प्रतिवेदनअनुसार, नेपालमा सिजरियनको राष्ट्रिय औसत दर २०७३/०७४ मा १६ दशमलव ६० प्रतिशत रहेको थियो भने २०७७/०७८ मा यो २० दशमलव ५० प्रतिशत पुगेको छ। कोशी प्रदेश र बागमती प्रदेशमा यसको दर निरन्तर बढ्दै गएको देखिएको छ भने कर्णाली प्रदेशमा खासै परिर्वतन देखिएको छैन। प्रदेशअनुसार मात्र होइन, हरेक अस्पतालहरूमा एउटै दरमा सिजरियन हुने गरेका छैनन्। अस्पतालमा रहेको सुविधा, बिरामीको चाप र प्रकार अनि अस्पतालको नीतिले पनि सिजरियन हुने दरमा असर गर्न सक्छ। सिजरियन सुविधा नभएको स्वास्थ्य संस्थामा सिजरियन भएको नदेखिने हुन्छ भने यस्ता संस्थाबाट रिफर गर्ने अस्पतालमा सो बढी देखिने हुन्छ।

 

सिजरियनको सुरुवात कसरी भयो भन्नेमा एक मत देखिँदैन। विलियम्स् अब्सट्रेटिक्सको २२औं संस्करणमा सिजरियनको इतिहास उल्लेख गरिएअनुसार १०० बीसीभन्दा अगाडि नै जुलियस सिजरको जन्म पेट चिरेर गरेको र उनकै नामबाट ‘सिजरियन’ रहेको मान्यता छ। सन् १८६५ सम्म पनि सिजरियन डेलिभरीलाई सफल मानिएको थिएन। त्यस अवस्थामा बेलायतमा मात्र सिजरियन गर्दा आमाको मृत्युदर ८५ प्रतिशत थियो। त्यसबेला पाठेघर सिलाउने र रक्तस्राव रोक्ने प्रवृत्तिको राम्रो विकास भइसकेको थिएन। सन् १८८२ मा पाठेघर सिलाउन चाँदीको तारलाई प्रयोग गरेपछि सिजरियन डेलिभरीका लागि थप अवसरको विकास भयो। सन् १९१२ पछि पनि यसमा धेरै सुधार देखिएको छ र हाल गरिने सिजरियन डेलिभरी यसभन्दा बिल्कुलै फरक र सुरक्षित छ।
 

सिजरियन नै गर्नुपर्ने कारण धेरै छन्। आमाको पेल्भिस् सानो भएको अवस्थामा बच्चाको टाउको उक्त बाटो भएर आउन नसक्ने वा पेल्भिस् ठीकै भए पनि बच्चाको टाउको नै ठूलो भएको अवस्था सिजरियन डेलिभरीको प्रमुख कारण रहन्छ। बच्चा उल्टो, तेर्सो वा नमिलेको अवस्थामा भए पनि यो अवस्था आइपर्छ। बच्चाको मुटुको धड्कन सामान्यभन्दा कम वा बढी भएको, सालनाल पाठेघरको मुखमा रहेको, बेथा लगाएर पनि डेलिभरी नभएको जस्ता अवस्थामा पनि सिजरियन गर्नुपर्ने हुन्छ। पहिलो बच्चा जन्माउने उमेर बढी हुनु, बच्चाको अवस्थाको बारेमा जन्मनुभन्दा अगाडि नै थाहा पाउनु, औजार प्रयोग गरेर बच्चा जन्माउन नचाहनु, बच्चा उल्टो रहेको थाहा हुनुजस्ता कारणमात्र होइन, ‘साइत’ हेरेर बच्चा जन्माउने प्रवृत्तिले पनि सिजरियन गर्नुपर्ने हुन्छ।

गर्भवती महिलाले प्रसव पीडा सहन नसक्ने, चाँडै आत्तिने र जोखिममा बस्न नचाहने भएकाले पनि सिजरियन डेलिभरीको दर बढ्दै छ। बच्चाको अवस्थालाई निरन्तर निगरानी गर्न नसकिने अवस्थामा चिकित्सकले पनि जोखिम लिएर नर्मल डेलिभरीका लागि पर्खन नसक्ने बाध्यता हुन्छ। आजभोलि मानिस व्यस्त हुने र योजना बनाएर गर्भ राख्ने अनि सो गर्भका लागि सानो जोखिम लिन नचाहने भएकाले दम्पतीले नै सिजरियनका लागि अनुरोध गर्ने गरेको पाइन्छ। सुत्केरीका लागि अस्पतालमा भर्ना भएका गर्भवती वा बच्चामा कुनै असर देखिएमा अस्पताल र चिकित्सकमाथि नै हातपातसमेत हुन सक्ने भएकाले चिकित्सक र अस्पतालले समेत धेरै कुराउनुभन्दा सिजरियन रोज्ने गरेको पाइन्छ।

सिजरियन गर्ने तर कति पटक ? प्रश्न सामान्य छ, उत्तर सबै अवस्थामा सरल हँदैन। अहिलेको अवस्थामा दम्पतीले धेरै सन्तानको कल्पना गर्दैनन्। नेपालको औसत प्रजनन दर २.३ हुनुले पनि प्रायः दम्पतीले दुई सन्तानको चाहना राखेको देखाउँछ। दुई पटक सिजरियन गरेर नै प्रसव गराउन चाहिँ गाह्रो नहोला। तर सधैं त्यसो हुन पाउँदैन। रोग, दुर्घटना तथा विविध कारणले आमाहरू सन्तान गुमाउन बाध्य छन्। कतिलाई थप सन्तानको चाहना हुन्छ। यस अवस्थामा नर्मल डेलिभरी भएको छ भने खासै तनाव रहँदैन। तर पहिले सिजरियन गरेको छ भने कतिपटक सिजरियन गर्न सकिन्छ ? भन्ने प्रश्न उठ्छ। पटक–पटक सिजरियन गर्दा जटिलता बढ्छ। मुख्यरूपमा सालनाल (प्लासेन्टा)सँग सम्बन्धित जटिलता हुने, पाठेघरसँग अन्य अंग टाँसिएर जटिलता आउने र चिरेको खतले जटिलता थप्ने हुन सक्छ। यिनै कारण अत्यधिक रक्तस्राव हुने, पिसाबथैली/आन्द्रामा घाउ हुने, हर्निया हुने, रगत दिनुपर्ने तथा पाठेघर नै फाल्नुपर्ने अवस्था आउन सक्छ।

सन्तान कति पाउने, कति फरक गर्ने जस्ता निर्णय स्वास्थ्यसँग मात्र सम्बन्धित हुँदैन। सामाजिक र व्यावहारिक तरिकाले पनि सोच्ने गरिन्छ। थोरै तर राम्रो सन्तानको चाहना सबैलाई हुन्छ। जन्म दिएर मात्र हुँदैन, तिनको लालनपालन र भविष्य पनि समयमै सोच्नुपर्छ। परिस्थिति फरक भए २–३ पटकपछि सिजरियन सम्भव नै हुँदैन भनेर तनाव लिनु पर्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.