वरिष्ठ अधिवक्ता उप्रेती र अधिवक्ता विष्टले भने- सिधाकुरा डटकमबाट प्रसारित समाचार मिथ्यापूर्ण र नियोजित

वरिष्ठ अधिवक्ता उप्रेती र अधिवक्ता विष्टले भने- सिधाकुरा डटकमबाट प्रसारित समाचार  मिथ्यापूर्ण र नियोजित
सुन्नुहोस्

काठमाडौं : वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र अधिवक्ता किशोरकुमार विष्टले सिधाकुरा डटकमबाट प्रसारित समाचार भ्रामक, असत्य, मिथ्यापूर्ण र नियोजित रहेको बताएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले प्रायोजित/नियोजित समाचार प्रशारण गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।  

'सिधाकुरा डटकम अनलाइनबाट 'भ्रष्टाचारका चार सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधीशसहित डिल' शीर्षकमामा मिति २०८१/०१/१४ मा प्रकाशित/प्रसारित अडियो सामाग्रीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अडियो सामाग्रीमा भनिएजस्तो मिति २०७७/१२/३० मा हामी तीनकुनेस्थित अन्नपूर्ण पोष्टको कार्यालयमा गएका छैनौं। सो अडियो सामाग्रीमा उल्लेख भएको विष्णुप्रसाद घिमिरे निवेदक भएको रिट निवेदनमा हामी कुनै पनि पक्षबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायी होइनौं,' अधिवक्ताद्वयले विज्ञप्तिमा भनेका छन्।

अधिवक्ताद्वयले समाचारमा सुनाइएको अडियो पनि आफ्नो नभएको उल्लेख गरेका छन्। 'हाम्रा नामबाट सुनाइएको आवाज हाम्रो होइन र हाम्रो उपस्थिति देखाउन सिर्जना गरिएको वातावरणसमेत अस्वाभाविक रहेको छ। २०७७ साल चैt ३० गतेको घटना भनिएको उक्त अडियो आज करिब ४ वर्षपछि आएर प्रसारण गरिएको नै यसप्रति विभिन्न संशय पैदा गरेको छ,' विज्ञप्तिमा भनिएको छ।

सिधाकुरा डटकमको समाचारले स्वतन्त्र न्यायपालिका, प्रतिष्ठित सञ्चारगृह र सञ्चार उद्यमीप्रति अक्षम्य प्रहार गरेको उनीहरूको भनाइ छ। 'यस्ता असत्य, भ्रामक, प्रायोजित/नियोजित सामाग्रीहरू उत्पादन/प्रशारण गर्ने, सामाजिक सञ्जालमा सेयर गर्ने तथा त्यस्ता सामाग्रीहरूको पक्षमा वकालत गर्ने पात्र र प्रवृत्तिहरूको हामी घोर निन्दा र भर्त्सना गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'त्यस्ता पात्रहरूलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही र सजाय गर्नका साथै अब उप्रान्त यस्ता प्रवृत्ति निरूत्साहित हुने प्रभावकारी प्रबन्ध गर्न हामी सम्बद्ध सबै पक्ष/निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं। साथै यस्ता असत्य, भ्रामक र प्रायोजित/नियोजित समाचार र सामाग्रीमा विश्वास नगर्न आम जनसमुदायमा हामी हार्दिक अपिल गर्दछौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.