दुरसञ्चारसम्बन्धी मस्यौदा मन्त्रालयमै अड्किए

दुरसञ्चारसम्बन्धी मस्यौदा मन्त्रालयमै अड्किए

काठमाडौं : दूरसञ्चारसम्बन्धी नीति तथा कार्यक्रम वर्षौसम्म पारित नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दूरसञ्चार क्षेत्रको विकास, सहजीकरणलगायत नीति तथा कार्यक्रम सूचना तथा सञ्चार मन्त्रालयमै अड्किएपछि समस्या भएको हो । अहिले दूरसञ्चार क्षेत्रको प्रवद्र्धन र थप सहजीकरण गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले अगाडि बढाएका १३ वटा नीति तथा कार्यक्रम मन्त्रालय पुगेर रोकिएका छन् ।

प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले मन्त्रालयको पहलमा मात्र पारित हुने यी कार्यक्रम डेढदुई वर्षदेखि अड्किएको जानकारी दिए । सञ्चार मन्त्रालयमा हालै आयोजित विकास समस्या समाधान समितिको बैठकमा खनालले हालसम्म प्राधिकरणले स्वीकृतिका लागि सिफारिस गरेका मुख्य नीति तथा कार्यक्रम नै १३ वटा पुगको बताए ।

यी नीति तथा कार्यक्रम स्वीकृत नहुँदा राज्यले पाउनुपर्ने करोडौं रुपैयाँ कर तथा रोयल्टी गुमाइरहेको छ भने उपभोक्ता र सेवाप्रदायकले पाउने सेवामा पनि असर पुगेको छ । उनले भने, ‘सरकारले हाम्रा कार्यक्रम स्वीकृत नगर्दा फिक्वेन्सीको बोलकबोल रोकिएको छ भन् राज्यले पाउने करोडौं रुपैयाँ आम्दानी गुमिरहेको छ ।' नियमावली स्वीकृत नभएकै कारण दूरसञ्चार क्षेत्रमा छुट्टै पूर्वाधार कम्पनी भित्र्याउने काम रोकिएको छ ।

मन्त्रालयबाट राष्ट्रिय ब्रोडब्यान्ड गुरुयोजना स्वीकृत भएको छैन । दूरसञ्चार सेवाप्रदायक गाभिने तथा प्राप्तिसम्बन्धी नियमावलीको खाका दुईपटक मन्त्रालयमा पेस भइसकेको छ । फ्रिक्वेन्सी पुनर्वितरणसम्बन्धी कार्यविधि स्वीकृत भएको छैन । टीभी ह्वाइट स्पेसको फ्रिक्वेन्सी पनि निर्धारण हुन सकेको छैन । यसैगरी सात सय र दुई हजार ६ सय मेगाहर्जको फ्रिक्वेन्सीको आधार मूल्य स्वीकृत नहुँदा सेवाप्रदायकलाई बोलकबोलमा फ्रिक्वेन्सी दिने काम पनि रोकिएको छ ।


हालसम्म नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृतिका लागि सिफारिस गरेका मुख्य नीति तथा कार्यक्रम १३ वटा छन् ।

सेवाप्रदायकलाई फ्रिक्वेन्सी दिन नसक्दा सेवा प्रवाहमा असर परेको छ । यसबाट सेवाप्रदायकले सेवा विस्तार गर्न पाएका छैनन् भने राज्यले उक्त सेवा उपभोग गरेबापतको वार्षिक रोयल्टी र फ्रिक्वेन्सी दस्तुर पनि गुमाइरहेको छ ।

फ्रिक्वैन्सीकै कारण नेपाल टेलिकम र एनसेलले सुरु गरेको द्रुत गतिको मोबाइल इन्टरेनट सेवा (फोरजी)का लागि थप फ्रिक्वेन्सी पाएका छैनन् । यसले प्राधिकरणले भएकै फ्रिक्वेन्सीबाट सेवा सञ्चालन गर्ने गरी प्रविधि तटस्थताका आधारमा फोरजी अनुमति दिएको छ ।

प्राधिकरणले मागेका सबै नीति तथा कार्यक्रम स्वीकृत गर्न नसकिने र कतिपयमा संशोधन एवं कानुनी प्रक्रिया पुर्‍याएर आवश्यक संशोधन गर्नुपर्ने सञ्चार मन्त्रालका सचिव महेन्द्रमान गुरुङले बताए । ‘आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने र प्रभावकारी नीतिनियम खोजेका कारण पनि केही समय ढिलाइ भएको हुन सक्छ', उनले भने ।

समयमै सरकारी स्तरबाट हुनुपर्ने काम पूरा नहुँदा आर्थिक लाभ गुमेको सचिव गुरुङको स्वीकारोक्ति छ । ‘पुराना मन्त्री तथा सचिवले अगाडि सारेका कार्यक्रम र योजना नयाँ मन्त्रीले पुनः अध्ययन गर्नुपर्छ । यसबाट उपयुक्त योजना तथा कार्यक्रम मात्रै अगाडि बढ्ने भएकाले पनि अध्ययनका लागि केही समय खर्च भएको हो', उनले भने । अब नयाँ मन्त्रीले तीव्रतासाथ काम अगाडि बढाउन निर्देशन दिइसकेकाले कुनै राष्ट्रिय हित तथा उपभोक्ताको लाभका लागि भएका कुनै पनि नीति तथा कार्यक्रम नरोकिने उनको भनाइ छ ।

मन्त्रालयमा सिफारिस नीति तथा कार्यक्रम र पेस भएको मिति

रसञ्चार पूर्वाधार विकास तथा सहप्रयोगसम्बन्धी नियमावली २०७४/२/४ र २०७४/१/३

राष्ट्रिय आपत्कालीन दूरसञ्चार निरन्तरता योजनाको मस्यौदा २०७३/१२/२८

अपांगता भएका व्यक्तिका लागि सूचना तथा सञ्चार प्रविधि र मोबाइल फोन पहुँचयुक्त बनाउने २०७३/८/२०

राष्ट्रिय ब्रोडब्यान्ड गुरुयोजना २०७३/१२/२७

दूरसञ्चार सेवाप्रदायक गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी नियमावली २०७४/२/८ र २०७३/१०/१०

फ्रिक्वेन्सी पुनर्वितरणसम्बन्धी कार्यविधि २०७३/९/२४

सात सय मेगाहर्ज र २६०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीको आधार मूल्य तय गर्ने २०७३/९/२४

दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति २०६९ मा गर्नुपर्ने
(क) २१०० मेगाहर्ज ब्यान्डको शुल्क र वितरण सम्बन्धमा
(ख) २३०० मेगाहर्ज ब्यान्डको आधार मूल्य पुनरवलोकन तथा फ्रिक्वेन्सी बढाबढ गर्ने सम्बन्धमा २०७३/९/२४

टीभी ह्वाइटस्पेटको फ्रिक्वेन्सी निर्धारण गर्ने २०७२/१२/२२

माइक्रोवेभ फ्रिक्वेन्सी ब्यान्ड निर्धारण तथा दस्तुर पुनरवलोकन गर्ने २०७३/१०/२८

क्रस होल्डिङको नीतिगत सहमति सम्बन्धमा २०७३/१०/२४

सेवाप्रदायकले बुझाउनुपर्ने रोयल्टी दस्तुर तोकिएको समयसीमाभित्र नबुझाएमा लाग्ने थप दस्तुरका सम्बन्धमा २०७३/२/३
मोबाइल सेवाको नवीकरण दस्तुरका सम्बन्धमा २०७३/३/१७
स्रोत : नेपाल दूरसञ्चार प्राधिकरण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.