ओझेलमा टीएमजे पदमार्ग

ओझेलमा टीएमजे पदमार्ग

काठमाडौं : विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चर्चित संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने तिनजुरे-मिल्के-जलजले (टीएमजे) पर्यटकीय पदमार्ग छायामा परेको छ । १ नं प्रदेशको एक मात्र उत्कृष्ट प्राकृतिक स्रोतसाधनले भरिपूर्ण टीएमजे क्षेत्र राम्रो व्यवस्थापन एवं विकास गर्न नसक्दा ओझेलमा परेको हो । गुराँसको राजधानी टीएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् ।

विश्वमा पाइने ४२ प्रजातिमध्ये नेपालमा ३२ प्रजाति छन् । यस क्षेत्रमा मात्रै २८ प्रजाति पाइनाले यसलाई गुराँसको राजधानी भनिएको हो । पर्यटकीय सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक आगमनको न्यून छ । १२ महिना अध्ययन, अवलोकन र पैदलयात्राका लागि उपयुक्त मानिने टीएमजे क्षेत्र चार हजार पाँच सय मिटर उचाइसम्म फैलिएको छ ।

वसन्त ऋतुमा लालीगुराँस ढकमक्क फुलेको हुन्छ । अन्य सिजनमा सुन्दर गुफापोखरी, खोपिङ पोखरी, भूतपोखरी, जलजला पोखरी प्रत्यक्ष हेर्न सकिन्छ । साना हिमालदेखि सभापोखरी, पाँचपोखरी, बाहुलापोखरी यहाँका मुख्य आकर्षका क्षेत्र हुन् । हिमाली चौंरीपालन र भेडाका बथान प्रत्यक्ष रूपमा हेर्न पाइन्छ । मनास्लु, धौलागिरिजस्ता चर्चित पदयात्रा क्षेत्रभन्दा बढी भर्जिन प्राकृतिक सुन्दरता भए पनि यसको राज्यले प्रचारप्रसार र पूर्वाधार विकास गर्न चासो नदेखाएको स्थानीय अगुवा मनबहादुर लिम्बूले बताए । केही समयअघिसम्म टीएमजे क्षेत्र हुँदै गोर्जा-ताप्लेजुङ जाने ट्रेकिङ रुटसमेत बाटो अभावका कारण बन्द भएको थियो । अध्ययन र अवलोकन गर्ने विद्यार्थीका लागि यो पहिलो प्राथमिकतामा छ ।


गुराँसको राजधानी टीएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । विश्वमा पाइने ४२ प्रजातिमध्ये नेपालमा भने ३२ प्रजाति उपलब्ध छन् ।

पदमचाल, कुड्की, बिखुमा, सतुवा, ठूलोओखत, विष, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जनभन्दा बढी जडीबुटी पनि यसै क्षेत्रमा पाइन्छन् । एक सय २० प्रजातिका पुतली, लिडेमुसा, रातोपान्डा, हिउँचितुवा, लोपोन्मुख प्रजातिका चरा पाइने गरेको विज्ञहरूको प्रतिवेदनमा उल्लेख छ।काठमाडौं-धरान-धनकुटा-वसन्तपुरसम्मको मोटर यात्रापछि टुटे देउरालीदेखि पैदल यात्रा सुरु हुन्छ ।

शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बू, तामाङ, जातिको परम्परा, संस्कृति, भेषभूषा, रहनसहन यहाँका मुख्य आकर्षण हुन् । चौकी, गुफापोखरी, मिल्के, गिद्धे, जलजले, सफापोखरी, पाँचपोखरी, माङसिङमा नुम हुँदै खादबारी पुगेर राउन्ड टीएमजे ट्रेकिङ पूरा हुन्छ । तुम्लिङटारबाट हवाई र गाडीको यात्रापछि १२ दिनको ट्रेकिङ प्याकेज पूरा हुन्छ ।यो ट्रेकिङ प्याकेजमा चार हजार पाँच सय मिटरसम्म पैदलयात्रा गर्नु पर्छ । साउन १० देखि २० गतेसम्म यस पदमार्गको स्थलगत अध्ययन र सर्वेक्षण गरिएको थियो ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले बीएमजेड/डब्ल्यूएचएचको आर्थिक सहयोगमा सञ्चालित समुदायमा आधारित जैविक विविधता व्यवस्थापन परियोजनाले पदमार्गको सर्वेक्षण सम्पन्न गरेको हो । ओझेलमा परेको पदमार्गको आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरी आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सर्वेक्षण गरेको परियोजना व्यवस्थापक कमल थापा मगरले बताए ।

पर्यटन क्षेत्रको विकासमा निजीक्षेत्रको भूमिका महत्ववपूर्ण भए पनि टीएमजेलाई निजी क्षेत्रले चासो नदेखाउँदा पदमार्गलाई एजेन्सीले प्राथमिकता नदिएको मगरको भनाइ छ । वर्षौंदेखि चर्चामा रहेको यस क्षेत्रको विकासमा स्थानीयले पनि चासो नदिँदा विकास हुन नसकेको पर्यटन व्यवसायी टिकाराम गुरुङले बताए । रारातालको परिर्वतन सम्भव भयो तर टीएमजेमा परिर्वतन नहुनु दुःखत भएको उनले उल्लेख गरे ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.