लघु उद्यममा महिलाको आकर्षण

लघु उद्यममा महिलाको आकर्षण

बैतडी : जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ सतबाँझमा एक दशकयता लक्ष्मी भट्टले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । सुरुमा तरकारीखेतीबाट व्यवसाय सुरु गरेकी लक्ष्मीले अहिले अचार उद्योग र सिलाई पसल सँगसँगै सञ्चालन गर्दै आएकी छिन् । महिलाले पनि परम्परागत कामभन्दा केही भिन्न काम गर्न सक्छन् भन्ने उदाहरण देखाउन उनले नयाँ व्यवसाय रोजेकी हुन् ।

सुरुमा घरेलु तथा साना उद्योग विकास समिति, लघु उद्यम विकास कार्यक्रमलगायत सरकारी तथा गैरसरकारी निकायबाट तालिम पाएकी लक्ष्मीले अहिले राम्रै कमाइ गरिरहेकी छिन् । डाँडाबाघ अचार उद्योग स्थापना गरेर पाँच वर्षयता स्थानीयस्तरमै अचार उत्पादन गरिरहेको उनले बताइन् । उनले भनिन्, ‘महिलाले केही गर्न सक्तैनन् भन्ने हाम्रो समाजको मान्यता थियो । त्यही मान्यतालाई चिर्न मैले अचार उद्योग र सिलाइ पसल सँगसँगै सुरुवात गरेकी हुँ । अहिले मासिक अढाइ लाखको हाराहारीको अचार बिक्री गर्छु ।'

सिजनमा अचारबाटै धेरै कमाइ हुने गरेको लक्ष्मीले बताइन् । उनले भनिन्, ‘स्थानीयस्तरमै उपलब्ध स्रोत साधनको समुचित प्रयोग गर्दै अचार बनाइरहेकी छु । मैले उत्पादन गरेको अचार धेरैले मन पराउने गरेका छन् ।' घरमा नुन तेल किन्नसमेत साह्रै समस्या हुने गरेकी लक्ष्मीलाई अहिले अचार उद्योगले आत्मनिर्भर बनाएको छ ।

गत वर्ष जिल्लामा १११ उद्योग महिलाका नाममा दर्ता भएका छन् । तीमध्ये ७७ लघु, २९ घरेलु र पाँच साना उद्योग छन् ।

लक्ष्मीजस्तै जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडकी देवकी जोशीले तीन वर्षयता व्यावसायिक रूपमा मौरीपालन गरिरहेकी छिन् । आफू र श्रीमान् दुवै बेरोजगार हुँदा घरपरिवार चलाउन निकै समस्या भएका बेला उनले मौरीपालन सुरु गरेकी हुन् । मौरीपालन व्यवसाय नै अहिले देवकीका लागि सहायक सिद्ध भएको छ । उनले भनिन्, ‘ श्रीमान् पनि बेरोजगार घरपरिवार चलाउन निकै समस्या थियो । अहिले मौरीपालन व्यवसायबाट घरपरिवार चलाइरहेकी छु । मसँग अहिले २२ घार मौरी छन् । मह बेच्नुका साथै मौरीपालनको विषयमा तालिमसमेत दिने गरेकी छु ।'

देवकीले मौरीपालन व्यवसायबाटै आफू आत्मनिर्भर बनेको बताइन् । त्रिदेव मौरीपालन उद्योग दर्ता गरेर व्यवसाय गरिरहेकी जोशीले बताइन् । उनले भनिन्, ‘घरको चुलोचौकोभन्दा बाहिर आएर केही काम गर्न सक्यो भने महिलालाई पनि सफलता प्राप्त हुन्छ भन्ने कुरा थाहा भयो । मौरीपालन व्यवसायबाट वार्षिक अढाइ लाखको हाराहारीमा कमाउँछु ।'

 

देवकी र लक्ष्मीजस्ता अहिले जिल्लामा धेरै महिलाले आफ्नै व्यवसाय सञ्चालन गरेर आत्मनिर्भरताको बाटोमा लागेको घरेलु तथा साना उद्योग विकास समिति बैतडीका प्रमुख उद्योग अधिकृत नारायण न्यौपानेले बताए । लघु उद्योग, घरेलु उद्योग र साना उद्योगमा महिलाको आकर्षण बढ्दै गएको उनले बताए । सरकारले महिला उद्यमीलाई पाँच लाख रुपैयाँसम्म बिनाधितो ऋण दिने व्यवस्था ल्याएयता जिल्लामा महिला उद्यमीको संख्या बढेको हो । उनले भने, ‘बैतडीमै विभिन्न उद्यम सञ्चालन गर्नका लागि बिनाधितो ऋण लिन २२ जनाको नाम स्वीकृत भइसकेको छ । तीमध्ये केहीले रकम बुझेर उद्योगसमेत सञ्चालन गरिसकेका छन् ।'

घरेलु तथा तथा साना उद्योग विकास समितिका अनुसार बैतडीमा गत आर्थिक वर्षमा १११ उद्योग महिलाका नाममा दर्ता भएका छन् । तीमध्ये ७७ लघु उद्योग, २९ घरेलु उद्योग र पाँच साना उद्योग छन् । ‘सरकारले विभिन्न किसिमका अनुदान, बिनाधितो ऋण र तालिमसमेत सञ्चालन गरेपछि महिलाको उद्यमतर्फ आकर्षण बढेको हो । यसले महिलामाथि हुने हिंसालाई समेत कम गर्ने गर्नेछ ।' उद्योग अधिकृत न्यौपानेले भने, ‘उद्यममा लागेका महिलाको प्रगति पनि राम्रो भएको छ । इमान्दारितापूर्वक आफ्नो व्यवसाय सञ्चालन गरेकाले उनीहरूलाई फाइदा पनि भएको छ ।'

महिलाले खास गरेर होजीयारी, सिलाइ, कुखुरापालन, बाख्रापालन, मैनबत्ती, ब्युटीपार्लर, मौरीपालनलगायतले सहभागिता जनाएका छन् । जिल्लामा धेरैजसो महिलाले सिलाइ सेन्टर सञ्चालन गरेको उद्योग अधिकृत न्यौपानेले बताए । उनले भने, ‘आफ्नो उद्योग दर्ता गरेर उद्यममा लागेका महिलालाई कार्यालयको तर्फबाट पनि सीप, अनुदान र तालिमको समेत व्यवस्था गरेका छौं ।'

ग्रामीण क्षेत्रमा देखिएको गरिबी न्यूनीकरणका लागि स-साना उद्योगको धेरै ठूलो भूमिका रहने लघु उद्यम विकास कार्यक्रमका बजार विज्ञ बलराम शर्माले बताए । उनले भने, ‘साना उद्योग कम लगानीमा सञ्चालन गर्न सकिन्छ । यसमा समान्य आर्थिक अवस्था भएका मानिसको पनि सहभागिता हुन्छ । त्यसैले साना उद्योगले गरिबी निवारणमा महत्ववपूर्ण भूमिका खेलेका हुन्छन् ।'

उद्यममा लागेका महिला आत्मनिर्भर बन्दा महिलामाथि हुने हिंसामा कमी आएको महिला अधिकारकर्मी देवु ठगुन्ना बताउँछिन् । उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा महिलामाथि हिंसा भइरहेको छ । आर्थिक रूपमा सबल भए उनीहरूमाथि हुने हिंसा कम हुन्छ । उद्यममा लागेका महिला आत्मनिर्भर पनि बनेका छन् ।'




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.