रेलवे लिक मर्मतमा खटिए भारतीय मजदुर

रेलवे लिक मर्मतमा खटिए भारतीय मजदुर

विराटनगर : भारत विहारस्थित फारबिसगन्ज-जोगवनी सडकखण्डनजिकै बाढीले क्षति पुर्‍याएको रेलमार्ग मर्मत गर्न त्यहाँको सरकारले दैनिक एक हजार मजदुर परिचालन गरेको छ। तर नेपालतर्फ मालवाहक गाडी आउने त्यही सडकमा भासिएको पुल मर्मत गर्न भने उसले चासो दिएको छैन।

पुल मर्मत नहुँदा एक हप्तादेखि मालवाहक गाडी नेपालतर्फ आउन सकेका छैनन्। यसबाट विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको छ। यस्तै अवस्था रहने हो भने भदौमा लक्ष्यअनुसार राजस्व असुली नभई सरकारलाई ठूलो आर्थिक नोक्सानी हुने विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए। ‘असार २८ गते आएको बाढी र त्यसपछिका चार दिनसम्म भन्सारको राजस्व असुली ठप्प भयो,’ उनले भने, ‘त्यसपछि बथनाहामा भारतीय पुल भासिएपछि आठ दिनदेखि राजस्व असुली प्रभावित भएको छ। लक्ष्यअनुसार राजस्व नउठ्ने देखिएको छ।’

 

 

भदौमा साढे दुई अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा हालसम्म ४४ करोड रुपैयाँमा मात्र संकलन भएको छ। पुल भासिएपछि दैनिक आठ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पूरा हुन सकेको छैन।

बाढीले भासिएको भारत मिरगन्जको पुल। यो पुल मर्मत गर्न त्यहाँको सरकारले चासो दिएको छैन।

भारतीय भूमिमै अलपत्र परेका सयौं संख्याका कन्टेनर तथा मालवाहक गाडी भीमनगर–भन्टाबारी छोटी भन्सारको बाटोबाट सानो संख्यामा मात्र नेपाल आएका छन्। यसले राजस्व असुलीमा ठूलो असर पुगेको छ। उद्योगी तथा व्यवसायीले यो बाटोबाट मालसामान तथा औद्योगिक कच्चापदार्थ आयात गर्दा अतिरिक्त डिटेन्सन चार्ज र थप ढुवानी खर्च बेहोर्नुपरेको बताएका छन्। ‘हामीले सरकार, नेपालस्थित भारतीय दूतावास, भन्सार विभाग तथा अन्य निकायलाई पुल मर्मत गर्ने विषयमा ध्यानाकर्षण गराए पनि यसमा चासो दिइएको छैन’, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले भने।

भारततर्फ भत्किएको रेलवे लिक मर्मत गर्न त्यहाँको सरकारले दु्रत गतिमा काम अघि बढाए पनि पुलमा भने फलामे बार लगाएर नेपालतर्फ आउने मालवाहक गाडी तथा कन्टेनरलाई रोकेको उनले बताए। दुई साताअघि आएको बाढीले भारत तथा तेस्रो मुलुकको आयातनिर्यातका लागि मेरुदण्ड मानिने फारबिसगन्ज–जोगवनी सडकमा पर्ने परमान नदीको मिरगन्ज पुल भासिएको छ।

पुल मर्मत नहुँदा एक हप्तादेखि मालवाहक गाडी नेपालतर्फ आउन सकेका छैनन्। यसबाट विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको छ।

अहिले भन्टाबारीबाट मालसामान ल्याएर फेरि विराटनगर भन्सारको यार्डमा आई जाँचपास गराउनुपर्ने बाध्यता छ। त्यसैले यो प्रक्रिया निकै झन्झटिलो भएको र आंशिक रूपमा पुल सञ्चालन गर्न आफूहरूले पनि भारतीय पक्षको ध्यानाकर्षण गराएको विराटनगर भन्सारका प्रमुख कृष्ण बस्नेतले बताए। ‘पछिल्लो आठ दिनमा भन्टाबारी नाका भएर नेपालतर्फ ६२ वटा गाडी मात्र नेपालतर्फ आएका छन्’, उनले भने। नेपालबाट विभिन्न सामान बोकेर ७० मालवाहक गाडी भारततर्फ गएका छन्।

साँघुरो बाटोले समस्या
भन्टाबारीबाट भीमनगर हुँदै भारततर्फ जाने बाटो साँघुरो भएको कारण मालवाहक गाडी नेपाल र भारतबाट एकैपटक पास हुन निकै कठिन हुने गरेको छ। ‘तेस्रो देशबाट सामान हालेर ल्याइएका ठूला कन्टेनर बोकेका गाडी भीमनगर बाटोबाट पास गराउनै कठिन भएको छ’, उद्योगी श्रवण अग्रवालले भने, ‘साँघुरो बाटोले गाडी थप जाममा पर्ने गरेका छन्।’

भारतको बथनाहामा निकै ठूलो संख्यामा कन्टेनर तथा गाडी सडकमै लाम लागेको उनले बताए। शनिबारसम्म भारतबाट जम्मा तेलका ४८, ग्यासका १५ बुलेट र उद्योगका ९ वटा लहरी भन्टाबारी नाकाबाट नेपाल आएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता दिलीप केसीले जानकारी दिए। यद्यपि, यसअघि विराटनगर नाकाबाट दैनिक तीन सयसम्म मालवाहक गाडी र लहरी नेपालतर्फ आउने गरेका थिए। भन्सार विभागले बुधबार नै विराटनगर भन्सार कार्यालयमा परिपत्र गर्दै भीमनगर–कोसी ब्यारेज भन्सारबाट आयातनिर्यात गर्न निर्देशन दिएको थियो।


भारतको बथनाहामा पुल मर्मत भई नेपाल पास हुन पाउने आसमा लाम लागेका कन्टेनर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.