दसैं आउन एक महिना छँदै टिकट बुकिङ प्याक

दसैं आउन एक महिना छँदै टिकट बुकिङ प्याक

काठमाडौं : दसैं आउन एक महिनाअघि नै आन्तरिक उडान गर्ने जहाज कम्पनीले टिकट बुकिङ भइसकेको जनाएका छन् । घटस्थापनादेखि टीकाको भोलिपल्टसम्मका टिकटमा ७० देखि शतप्रतिशत बुकिङ भइसकेको एयरलाइन्स कम्पनीले बताएका छन् । विगतमा एक महिनाअघि २० प्रतिशत मात्रै टिकट बुकिङ हुने भए पनि यस वर्ष सुगम र पहाडी क्षेत्रमा उडान गर्ने जहाजको टिकट बुकिङमा चाप देखिएको छ ।

नेपालीको महान् चाड र पर्यटक सिजन एकैपटक पर्ने भएकाले पनि टिकट बुकिङ ह्वात्तै बढेको यती एयरलाइन्सका बजार व्यवस्थापक भीम राईले जानकारी दिए । ‘तुम्लिङटारको टिकट सकिइसकेको छ', राईले भने, ‘ विराटनगर, भरतपुर, जनकपुर, भद्रपुर र पोखराका लागि ३० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ ।' धनगढी, नेपालगन्ज र भैरहवाको टिकट पाउन सहज भए पनि अन्य ठाउँको टिकट बुकिङ सकिसकेको उनले बताए । यती एयरलाइन्सले एउटा एटीआर र ६ वटा जेट स्ट्रिम विमानमार्फत आन्तरिक उडानतर्फ आठवटा गन्तव्यका सेवा दिइरहेको छ ।

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरलायन्सले नौवटा जहाजमार्फत सेवा दिँदै आएको छ । बुद्ध एयरलाइन्सका मार्केटिङ म्यानेजर विनीता थापाले तुम्लिङटार, भरतपुर र सिमराका लागि शतप्रतिशत टिकट बुकिङ भइसकेको बताइन् । त्यसबाहेक विराटनगर, भद्रपुर, पोखरा, नेपालगन्ज, धनगढी जाने जहाजको ३० प्रतिशत टिकट मात्रै बाँकी रहेको उनले बताइन् । बाँकी रहेका गन्तव्यका टिकट पनि केही दिनभित्रै बुकिङ भइसक्ने लक्षण देखिएको उनको भनाइ छ । एयरलाइन्सले यात्रुको चापलाई हेरेर भरतपुर, विराटनगरलगायत ठाउँमा अक्तिरिक्त उडान गर्ने योजना बनाएको छ ।


नेपालीको महान् चाड र पर्यटक सिजन एकैपटक पर्ने भएकाले पनि टिकट बुकिङ ह्वात्तै बढेको हो ।

जेट विमानबाट आन्तरिक उडानमा होमिएको निजी हवाई कम्पनी सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले ३० प्रतिशत मात्र टिकट बुकिङ भएको बताए । विराटनगर र भद्रपुर गन्तव्यको उडानमा ३० प्रतिशत टिकट बुकिङ भएको खनालले जानकारी दिए । त्यसबाहेक कम्पनीले उडान गर्दै आएको भैरहवा र नेपालगन्ज गन्तव्यमा भने चाप नरहेको उनको भनाइ छ ।

 

‘टिकट बुकिङ दर दिनदिनै बढ्दो छ', खनालले भने, ‘१० दिनपछि पहाडी क्षेत्रसँग जोडिएका गन्तव्यमा टिकट पाउन कठिन हुनेछ ।' हवाई यात्रुको चाप बढ्दो छ । जहाज थपिने क्रम बढे पनि सडक सञ्जालमा देखिएको समस्याकै कारण जहाजको टिकटमा चाप देखिएको उनको भनाइ छ । कतिपय यात्रुले पहिले नै टिकट बुकिङमा सस्तो फेयर आउने भएका कारण जहाजकै टिकट बुकिङ गरेको हुन सक्ने उनको भनाइ छ ।

सिम्रिक एयरलाइन्सले पनि दसैंलाई लक्ष्य गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । टिकट खुला गरेको एक सातामै पोखरा, भैरहवा र भरतपुर उडानमा ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले बताए । एयरलाइन्सले दुईवटा जहाजमार्फत यात्रुलाई सेवा दिइरहेको छ । एयरलाइन्सले दसैंलाई लक्ष्य गरेर तुम्लिङटार उडान गर्ने योजना तय गरेको थापाले बताए ।

दुई साताअघि मात्रै आन्तरिक उडान सुरु गरेको श्री एयरलाइन्सले पनि टिकटमा विस्तारै चाप बढेको बताएको छ । एयरलाइन्सले तीनवटा जहाजमार्फत उडान गर्दै आएको छ ।

टिकटमा चाप किन ?

आन्तरिक उडानतर्फ झन्डै एक दर्जन एयर कम्पनीले सेवा दिइरहेका छन् । कतिपय एयर कम्पनीले हेलिकोप्टरबाट सेवा दिइरहेका छन् भने कतिपय एयरलाइन्सले सुगम र दुर्गम क्षेत्रमा सेवा दिइरहेका छन् । दुर्गम क्षेत्रमा खासै प्रतिस्पर्धा नभए पनि सुगम क्षेत्रमा प्रतिस्पर्धा बढ्दो छ । दुर्गम क्षेत्रमा गोमा, सीता, तारा र नेपाल एयरलाइन्सले बढी सेवा दिइरहेका छन् । पहाडी क्षेत्रको उडानमा यात्रुको चाप सधैं हुने गरेको छ ।

सुगम क्षेत्रमा बुद्ध, यती, सौर्य, सिम्रिक, श्री र निगमले उडान गर्दै आएका छन् । पछिल्लो समय हवाई कम्पनीमा जहाज थप्ने प्रतिस्पर्धा छ । जहाज थपिएसँगै यात्रामा केही सहज भए पनि पर्यटकीय सिजन र चाडपर्व पनि सहजै टिकट पाउने अवस्था छैन । एयरलाइन्स कम्पनीले हवाई यात्रुको चाप बढेसँगै राम्रै व्यापार गरिरहेको छन् । देशकै लाइफलाइन मानिने नारायणगढ-मुग्लिन सडकखण्डमा देखिएको समस्याले यी जिल्ला जाने विमानस्थलमा यात्रुको चाप बढ्दो छ ।

सडक मार्ग हुँदै घर जाँदा घन्टौ जाममा बस्नुपर्ने बाध्यता बढेसँगै हवाई यात्रमा चाप बढेको एयरलाइन्स कम्पनी बताउँछन् । सडक सञ्जालमा सुधार भएपछि हवाई चाप विस्तार घट्दै जाने उनीहरूको भनाइ छ । यात्रुले सस्तो र सहज हवाई यात्राका लागि सडक सञ्जालमा सुधार आउनुपर्ने एयर कम्पनीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.