चेम्बर अभियन्ता इन्द्रभक्तलाई व्यवसायीले सम्झिए

चेम्बर अभियन्ता इन्द्रभक्तलाई व्यवसायीले सम्झिए

काडमाडौं : नेपाली चेम्बर आन्दोलनका अभियन्ता स्व. इन्द्रभक्त श्रेष्ठको सम्झनामा गठित ‘इन्द्र जवाहर सहयोग गुठी'ले छात्रवृत्तिलाई निरन्तरता दिन एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत एमबीए कोर्स अध्ययन गर्ने विद्यार्थीलाई लक्ष्य गरी कोष स्थापना गर्न लागिएको हो । स्व. श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित गुठीले शिक्षा, स्वास्थ्य एवं संस्कृतिका क्षेत्रमा सहयोग गर्दै आएको छ । गुठीले प्रत्येक वर्ष त्रिविले सञ्चालन गर्ने एमबीएअन्तर्गत ‘स्प्रिङ तथा फल' सेसनमा भर्ना हुने विद्यार्थीमध्ये दुईजना जेहेनदार एवं उत्कृष्ट विद्यार्थीलाई ‘ श्री इन्द्रभक्त श्रेष्ठ छात्रवृत्ति' प्रदान गर्ने घोषणा गरेको थियो । सोहीअनुसार यस वर्ष २०७४ सालको फल सेसन (एमबीए प्रथम समेस्टर) का लागि विराटनगरकी कञ्चन कार्की छनोट भएकी छिन् ।

गत शैक्षिक सत्रमा एमबीए रेगुलरतर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण हुने अलका श्री श्रेष्ठलाई ‘ श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक' प्रदान गरिने आइतबार ललितपुरमा आयोजित ‘इन्द्रभक्त जयन्ती' कार्यक्रममा एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए । महासंघका पूर्वअध्यक्षसमेत रहेका रविभक्त स्व. इन्द्रभक्तका छोरा हुन् । गुठीले हरेक वर्ष त्रिविबाट एमबीएमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने एकजना विद्यार्थीलाई स्वर्णपदक प्रदान गर्ने घोषणा गरिसकेको छ । त्रिविको दीक्षान्त समारोहमा गुठीका तर्फबाट अलका श्रीलाई स्वर्णपदक प्रदान गरिनेछ ।


विराटनगरकी कञ्चन कार्कीलाई ‘ श्री इन्द्रभक्त श्रेष्ठ छात्रवृत्ति' र गतवर्ष एमबीएमा सर्वाेत्कृष्ट अंक ल्याउने अलका श्री श्रेष्ठलाई ‘ श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक' प्रदान गरिनेछ ।

हात्तीवनस्थित आईजे पायोनियर स्कुलमा आयोजित कार्यक्रममा चेम्बर आन्दोलन एवं आर्थिक-सामाजिक क्षेत्रमा स्व. श्रेष्ठले पुर्‍याएको योगदानाबारे चर्चासमेत गरियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्व. श्रेष्ठको सक्रियतामा २०२२ सालमा महासंघ गठन भएर अहिलेको अवस्थासम्म आइपुगेको बताए । आर्थिक क्षेत्रमा देखिएका चुनौती संगठित भएर चिनुपर्ने उनको धारणा थियो । ‘आर्थिक क्षेत्रमा थुप्रै चुनौती छन्, सबै संगठित भएर लाग्ने हो भने तिनलाई सजिलै चिरेर आर्थिक रूपमा फड्को मार्न सकिन्छ', उनले भने, ‘यसका लागि निजीक्षेत्र एक भएर अघि बढ्नुपर्छ ।'

 

आर्थिक तथा व्यावसायिक क्षेत्रमा स्व. श्रेष्ठको अतुलनीय योगदान रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । औद्योगिक-व्यावसायिक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न आफूहरू प्रतिबद्ध रहेको त्रिवि व्यवस्थापन कार्यक्रमका डिन प्रा.डा. डिल्लीराज शर्माको भनाइ छ । औद्योगिक-व्यावसायिक क्षेत्रमा कस्तो जनशक्ति आवश्यक छ, त्रिविले कस्तो जनशक्ति उत्पादन गर्नुपर्ने हो ? उद्योगी व्यवसायीका तर्फबाट सुझाव चाहन्छौं', उनले भने, ‘हामी निजीक्षेत्रसँग अन्तक्र्रिया गरेर अगाडि बढ्न चाहेका छौं ।' त्रिविमा स्कुल अफ म्यानेजमेन्टअन्तर्गत व्यवस्थापनका पाँच विषयको पढाइ भइरहेको उनले जानकारी दिए ।

गुठीले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, बालरोग विभागका नाममा स्थापना गरेको इन्द्र-जवाहर स्वास्थ्योपचार कोषमा जम्मा गरेको एक करोड रुपैयाँको ब्याजबाट असहाय एवं विपन्न बालबालिकालाई निःशुल्क उपचारमा सहयोग गर्दै आएको छ । कार्यक्रममा आईजे पायोनियर स्कुलकी प्रबन्ध सञ्चालक इन्दिरा श्रेष्ठ, विद्यालयकी प्रिन्सिपल संगीता प्रधानले पनि आआफ्नो विचार राखेका थिए । कार्यक्रममा महासंघ र चेम्बरका पदाधिकारी, प्रतिष्ठित व्यवसायी, त्रिविका प्राध्यापकलगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.