एन्फा अध्यक्षमा कुँवर र शेर्पाको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षमा कुँवर र शेर्पाको उम्मेदवारी दर्ता

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदका लागि पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुने भएको छ । कुँवरले बिहीबार नै उम्मेदवारी दर्ता गराउँदा शेर्पाले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत १४ गते हुने चुनावी साधारणसभाका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति थियो ।

शेर्पाले गत साता नै अध्यक्ष पदको दाबी गर्दै कृष्ण थापा र एन्फाका पूर्व कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरको समर्थनमा उम्मेदवारी घोषणा गरेका थिए । कुँवरले अध्यक्ष नरेन्द्र श्रेष्ठको समर्थनमा शुक्रबार नै सार्वजनिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरे । कुँवरले २०५१ सालबाट ब्वाइज युनियनमार्फत फुटबलमा लागेको र वरिष्ठ उपाध्यक्षको हैसियतले पनि नेपाली फुटबललाई धेरै योगदान पुर्‍याएको दाबीसहित अध्यक्षको प्रत्यासी बनेको बताए ।

भ्रष्टाचार अभियोगमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट १० वर्षको प्रतिबन्धमा रहेका गणेश थापाले आफूलाई सहयोग गरेको आरोपको भने उनले खण्डन गरे । ‘म पूर्वअध्यक्षज्यूको सालो हुँ । व्यक्तिगत रूपमा नातेदारका रूपमा उहाँले मलाई सल्लाह दिनुहुन्छ । यत्ति लामो समय फुटबलमा बिताउनुभएको उहाँले फुटबलका बारेमा सोच्नु नराम्रो कुरा हैन’, कुँवरले भने, ‘तर, उहाँले मलाई कुनै पनि गलत तरिकाले सहयोग गर्नुभएको छैन ।’

कुँवरको पक्षमा देखिएका अध्यक्ष श्रेष्ठले उनी एन्फाको भावी अध्यक्षका लागि सही व्यक्ति भएको बताए । ‘मणीजी लामो समयदेखि फुटबलमा सक्रिय हुनुहुन्छ’, श्रेष्ठले भने, ‘पछिल्लो एक वर्ष उहाँ वरिष्ठ उपाध्यक्ष भएर काम गर्दा म निकै प्रभावित भएँ । एन्फालाई हाँक्नसक्ने अबको व्यक्ति उहाँ नै हुनुहुन्छ । मेरो समर्थन उहाँलाई नै छ ।’ श्रेष्ठले आफूले भने पारिवारिक कारणले उम्मेदवारी नदिएको बताए ।

गणेण थापा निलम्बनमा परेपछि बाँकी रहेको एक वर्षको कार्यकालका लागि सन् २०१६ को अक्टोबरमा भएको निर्वाचनबाट श्रेष्ठ एन्फाको अध्यक्ष तथा कुँवर वरिष्ठ उपाध्यक्ष चुनिएका थिए । सन् २०१७ को अक्टोबरअघि नै सकिसक्नुपर्ने भए पनि एन्फाको निर्वाचन विभिन्न बहानामा सारिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.