मुख्यमन्त्रीको भलिबल साइनो

मुख्यमन्त्रीको भलिबल साइनो

विराटनगर : धेरैलाई थाहा नहुन सक्छ, प्रदेश नम्बर १ को मुख्यमन्त्री बनेका नेकपा एमाले पोलिटब्युरो सदस्य ४७ वर्षीय शेरधन राई भलिबलका पूर्वखेलाडी पनि हुन्। विद्यार्थी जीवनदेखि भलिबल खेल्न थालेका उनी २८ वर्षअघि भोजपुर जिल्लाकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए। खेलकुद गतिविधिमा रुचि राख्ने उनीसँग क्षेत्रीयस्तरका भलिबल खेलेका धेरै अनुभव छन्। उनीसँग खेल र राजनीतिक क्षेत्र दुवैको अनुभव छ।

ब्रिटिस आर्मीमा रहेका मामा ढोलकसिंह राईले जापानिज मिकासा बल हङकङबाट ल्याइदिएपछि आफ्नो खेलयात्रा सुरु भएको शेरधनले बताए। ‘मामाले बल ल्याइदिएपछि खेल क्षेत्रमा लाग्ने प्रेरणा र हौसला मिल्यो। यो क्षेत्रमा पनि मैले निक्कै उचाइ लिइसकेको थिए। ‘मामाले ल्याइदिएको त्यही बलले भलिबलमा निखारिन आफूलाई सहयोग गरेको बताए। बल बोकेर स्कुल जान्थे। दिनहँु अभ्यास गर्न थालेपछि बिस्तारै भलिबलको राम्रो खेलाडी भएँ। मलाई मामाले ल्याइदिएको बलले नै भलिबल खेलाडी बनायो,’ शेरधनले विगत सम्झिए। उनको त्यो बल पाँच वर्ष टिकेको थियो। १० वर्षको उमेरदेखि भलिबल खेल्न थालेका उनले २४ वर्ष निरन्तर भलिबल कोर्टमा बिताए।

उनका अनुसार त्यतिबेला प्रत्येक जिल्लामा रजतजयन्ती कपका नाममा भलिबल प्रतियोगिता आयोजना हुन्थ्यो। त्यही क्रममा २८ वर्षअघि अर्थात् २०४६ सालमा आफू भोजपुर जिल्लाको सर्वोत्कृष्ट खेलाडी घोषित भएको शेरधनले बताए। भने, ‘म सधंै टिममा पहिलो सटरको भूमिकामा रहन्थेँ। साढे चार फुटसम्म उफ्रिएर सट प्रहार गर्थे।’ उनले २०४३ सालबाट भने जिल्लामा भलिबलको कप्तानी पनि सम्हाल्ने अवसर पाए। आफ्नो कप्तानीमा धेरै प्रतियोगिता जितेको अनुभव शेरधनसँग छन्।

‘मेरै कप्तानीमा दर्जनौं पटक क्षेत्रीय प्रतियोगितामा सहभागी हुने अवसर पाइयो,’ उनले भने, ‘यो मेरा लागि एउटा अवसर र चुनौती पनि थियो।’ तर आफ्नो कप्तानीमा भएको टिमले सधैं सम्मानजनक रूपमा जित हात पार्ने गरेको उनले बताए। भने, ‘त्यतिबेला कलेज पढ्दा भलिबल खेलेरै गोजी खर्च चलाउने गरिन्थ्यो।’ उनी २०४३ देखि २०५१ सालसम्म निरन्तर भोजपुर भलिबल टिमको कप्तानको भूमिकामा रहे।

२०५१ सालबाट भने उनको खेल क्षेत्रमा पूर्णविराम लाग्यो। राजनैतिक क्षेत्रमा व्यस्तता बढेका कारण खेल क्षेत्रलाई निरन्तरता दिन नसकिएको उनले बताए। ‘२०५१ सम्म आइपुग्दा राजनैतिक क्षेत्रमा धेरै व्यस्त भइयो,’ शेरधनले भने, ‘त्यसपछि खेलले निरन्तरता पाउन सकेन।’ उनी भलिबलसँगै तेक्वान्दो र टेबुलटेनिसका खेलाडी पनि हुन्। उनले भने, ‘म विशेष गरेर भलिबल खेल्ने गर्थे। त्यसका अलवा तेक्वान्दो र टेलिसको पनि खेलेँ।’

शेरधनका भलिबल प्रशिक्षक भोजपुर टक्सारका केदार श्रेष्ठ हुन्। श्रेष्ठले छोटै समयमा शेरधनले भलिबलमा प्रगति गरेको जानकारी दिए। ‘शेरधन प्रतिभावान् खेलाडी हुन्। भलिबलमा पनि उनको भविष्य राम्रो थियो,’ श्रेष्ठले भने, ‘खेल क्षेत्रमा सम्भावना हुँदाहुँदै छाडेर राजनीतिमा लाग्दा त्यहाँबाट पनि राम्रै गरे। झन् अहिले त राजनैतिक क्षेत्रबाट राम्रो हुँदै गएको छ।’ उनका अनुसार आफू प्रवेश गरेको जुनसुकै क्षेत्रमा पनि मेहनत गर्ने भएका कारण शेरधन सबै ठाउँमा सफल हुँदै गएका हुन्।

खेल क्षेत्रमा लामो समय योगदान दिएर संघीय संरचनामा गएको मुलुकको प्रदेश नम्बर १ को पहिलो मुख्यमन्त्री हुने अवसर शेरधनले पाउनु भोजपुरे जनताका लागि गौरवको कुरा भएको उनले बताए। ‘खेलदेखि राजनैतिक क्षेत्रसम्मको अनुभव शेरधनमा छ। छोटै समयमा राजनीतिमा पनि फड्को मार्ने नेताको पहिचान बनाउन सक्नु पनि एउटा सफलता हो,’ श्रेष्ठ भन्छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.