सडक विस्तारमा विद्युत् प्राधिकरणको असहयोग

सडक विस्तारमा विद्युत् प्राधिकरणको असहयोग

विराटनगर : विद्युत् प्राधिकरणको असहयोगका कारण विराटनगर महानगरपालिकामा सडक विस्तार र पक्की बनाउने योजना प्रभावित बनेको छ।क्षेत्रीय सहरी विकास परियोजना र सघन सहकारी विकास कार्यक्रमअन्तर्गत सञ्चालित ढल तथा सडक निर्माणमा प्राधिकरणले सहयोग नगर्दा धेरै ठाउँमा कालोपत्रेको काम रोकिएको छ। यसबाट महानगरपालिकावासीले धुलोको सास्ती खेप्नुपरेको छ भने तोकिएकै अवधिमा काम पूरा नहुने जोखिमसमेत बढेको छ।

परियोजनाअन्तर्गत धेरै ठाउँमा सडकको सबबेस तयार गर्ने काम पूरा भएको जनाइएको छ। तर, सडक फराकिलो पार्दा बिजुलीको पोल सार्न प्राधिकरणले असहयोग गर्दै आएको विराटनगरका मेयर भीम पराजुलीले बताए। ‘कन्ट्र्याक्टरले निवेदन दिएर बिजुली लाइन काटिदिन आग्रह गर्दा पनि प्राधिकरणले वास्ता गरेको छैन’, मेयर पराजुलीले भने। सडक निर्माण भएको ठाउँका पोल सार्ने जिम्मेवारी कन्ट्र्याक्टरकै भए पनि प्राधिकरणले लाइन काट्न आनाकानी गर्ने गरेको उनले बताए।

प्राधिकरणकै असहयोगका कारण पछिल्लो पटक पुष्प मार्ग कालोपत्रे गर्ने काम प्रभावित बनेको छ। एक किलोमिटर लम्बाइको यो सडकमा सबबेस तयार गरेको निकै समय भइसके पनि बिजुलीका पोल नहटाइँदा कामै रोकिएको कालिका कन्स्ट्रक्सन्सका इन्जिनियर महेश सुवेदीले बताए। ‘प्राधिकरणलाई पत्र पठाइए पनि सहयोग भएको छैन’, उनले भने, ‘काम रोकेको भन्दै स्थानीयले हामीलाई दबाब दिने गरेका छन्।’

पुष्प मार्गमै घर भएका स्थानीय लेखनाथ गेलालले कालोपत्रे गर्ने भनेर बाटो मिलाएको धेरै समय बितिसक्दा पनि काम अघि नबढेको बताए। काम चाँडो अघि बढाउन महानगरको ध्यानाकर्षणसमेत गरिएको उनले सुनाए।

महानगरले काम अघि बढाएको सुमार्ग तथा त्रिवेणी मार्गमा पनि यस्तै समस्या देखिएको छ। मझौला सहरी विकास परियोजनाकै निरन्तरतास्वरूप २ अर्ब ६१ करोड लागतमा ७५ किलोमिटर सडक विस्तारको काम अघि बढेको छ। तीन महिनाअघि सुरु भएको परियोजनाअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।

‘दुई वर्षभित्र ढल तथा सबै सडक कालोपत्रे गर्ने गरी दु्रत गतिमा काम अघि बढाइएको छ’, महानगरपालिकाका इन्जिनियर भरत न्यौपानेले भने। सघन सहरी विकास परियोजनाअन्तर्गत ९४ करोड बजेटबाट सडकसम्बन्धी काम अघि बढेको पनि जानकारी दिँदै उनले धेरै ठाउँमा बिजुली पोल नसारिँदा समस्या भएको बताए।

प्राधिकरणको विराटनगर शाखा प्रमुखसँग कुराकानी गर्दा महानगरमार्फत पत्र आए काम गर्ने बताएपछि सहयोग गर्न लिखित रूपमा आग्रह गरिएको मेयर पराजुलीले सुनाए। भने, ‘हामीले सबै प्रक्रिया पूरा गरेर प्राधिकरणको ध्यानाकर्षण गरेका छैं।’

प्राधिकरणका विराटनगर शाखा प्रमुख राजु श्रेष्ठले कन्ट्रयाक्टरको साटो महानगरपालिकाले निवदेन दिनुपर्ने आग्रह गरिएको जानकारी दिए। ‘काममा अवरोध गर्ने हाम्रो कुनै मनसाय होइन’, उनले भने, ‘तर, पोल सार्नुपर्ने ठाउँका उपभोक्तालाई विद्युत् काटिने जानकारी अग्रिम दिनुपर्ने भएकाले महानगरपालिकाबाट निवेदन दिन भनेका हौं।’ विकास निर्माणमा सधैं प्राधिकरणको सहयोग हुने उल्लेख गर्दै उनले पोल सार्ने विषयमा कतिपय स्थानमा कन्ट्र्याक्टरबाटै फटाही हुने गरेको पाइएको सुनाए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.