यातायातमा ललितपुर नमुना बन्छ : पम्फा भुसाल

यातायातमा ललितपुर नमुना बन्छ : पम्फा भुसाल

ललितपुर : माओवादी केन्द्रकी नेत्री एवं सांसद पम्फा भुसालले ललितपुरलाई ट्राफिक व्यवस्थापन गरेर नमुना बनाउने उद्घोष गरेकी छन् । साथै यातायात क्षेत्रमा माफियाहरूको सिन्डिकेट हाबी भएको उनको भनाइ छ । सिन्डिकेटवालाहरूले कमिसनको व्यापार गरिरहेको र त्यसको प्रभाव ट्राफिक व्यवस्थापनमा परेको उनले बताइन् ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले शनिबार आयोजना गरेको ‘ट्राफिक जनचेतनामा महिला सहभागिता’सम्बन्धी कार्यक्रममा उनले गाडी सप्लायरहरूको कमिसनको व्यापारमा २० वर्ष पुराना गाडी हटाइनु वैज्ञानिक नभएको धारणा राखिन् । ‘२० वर्ष भयो भन्दैमा धेरै धूवाँ फाल्छ भन्ने होइन, धेरै कुदेपछि चार वर्ष पुरानाले पनि प्रदूषण बढाउँछन्’, उनले भनिन्, ‘तर कमिसनमा लागेकाहरूले नीतिगत तहमा नै प्रभाव पार्छन्, जसको असर ट्राफिकमा पर्छ ।’

विकृति, विसंगति, भ्रष्टाचार र सिन्डिकेटविरुद्ध लड्नुपर्ने भएकाले ट्राफिक जनचेतनामा महिलाको भूमिका महत्वपूर्ण भएको उनको भनाइ छ । ‘महिलाहरू निष्ठा र इमानदारीका साथ काम गर्छन् । त्यसैले उनीहरूको भूमिका ट्राफिक व्यवस्थापनमा पनि अर्थपूर्ण छ’, उनले भनिन् ।

ललितपुरमा १० वर्षको अवधिमा सडक फराकिलो भए पनि ट्राफिक जाम बढेको उनको भनाइ छ । आफूले ललितपुरलाई दुर्घटनारहित क्षेत्र बनाउन चाहेको उनले बताइन् । ‘त्यसका लागि ट्राफिक व्यवस्थापन चुस्त हुनुपर्छ’, उनले भनिन्, ‘भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ । ट्राफिक नियम पनि सबैले पालना गर्नुपर्छ ।’

उक्त अवसरमा ट्राफिक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक जनचेतनामा महिलाहरू निकै सचेत भएको दाबी गरे । ‘ट्राफिक नियमको मामिलामा महिलाहरू एकदमै अनुशासित भएर कानुन पालना गरेका छन्’, उनले भने । संयुक्त राष्ट्र संघले पनि महिला प्रहरीलाई अगाडि ल्याएको र राम्रो नजिता हासिल गरिसकेकाले मुलुक परिवर्तनमा उनीहरूको भूमिका उल्लेखनीय भएको उनको भनाइ छ ।

ललितपुरमा ट्राफिक व्यवस्थापन गर्न ६÷७ वटा ओभरहेड ब्रिज बनाउने तयारी भइरहेको उनले जानकारी दिए । ‘बाटोघाटोको अवस्था सुध्रिनैपर्छ’, उनले भने, ‘त्यसका लागि नीति निर्माण तहमा गलत तत्वको प्रभाव पर्नुहुन्न ।’ उपत्यकामा १४ लाख मोटरसाइकल र १० लाखभन्दा धेरै गाडी व्यवस्थापन गर्न समस्या परेको उनले बताए । ६ लाखभन्दा धेरै सवारी चालकलाई कारबाही गरिसकेको भए पनि कारबाही मात्रै ठूलो कुरा नभएको उनको भनाइ छ । ‘सुरुमा ट्राफिक व्यवस्थापन गर्नैपर्छ’, उनले भने । सवारी राम्रो चलाउन जानेकालाई लाइसेन्स नदिएको तर नजानेकाले लाइसेन्स पाएको भेटिएको उनले बताए ।

काठमाडौँमा दुई दिनमा एक जनाको मृत्यु हुने र दैनिक चारदेखि पाँच जना घाइते हुने गरेको प्रहरी निरीक्षक सीताराम हाछेथूले जानकारी दिए । ‘यसमा कसैका श्रीमान् श्रीमती, छोराछोरी परेका हुन्छन्’, उनले भने, ‘त्यसैले घरघरबाटै ट्राफिक चेतना फैलाउन सकियो भने धेरैको ज्यानको सुरक्षा हुन्छ । यो चेतना दिने काम महिलाले गर्न सक्छन् भनेर उनीहरूलाई ट्राफिक जनचेतना कार्यक्रम थालिएको हो ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.