आरोहीसँग उठाएको शुल्क राज्यकोषमा जम्मा नभएपछि महालेखाको चासो

आरोहीसँग उठाएको शुल्क राज्यकोषमा जम्मा नभएपछि महालेखाको चासो

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २० वर्षदेखि असुल गर्दै आएको सगरमाथा आइसफल बाटो शुल्क राज्यकोषमा जम्मा नभएपछि महालेखा परीक्षकको कार्यालयले कारणसहितको विस्तृत कागजात माग गरेको छ ।

०५४ सालदेखि वार्षिक रूपमा मन्त्रालयको आदेशमा रकम असुल हुँदै आएको छ । मन्त्रालयले सोलुखुम्बु जिल्ला प्रशासनमा दर्ता रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई वार्षिक रूपमा तोकेरै रकम असुल गर्न जिम्मेवारी दिएको पाइएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणमा जाने आरोहीसँग प्रतिव्यक्ति ६० हजार रुपैयाँ संकलन गरे पनि राज्यकोषमा जम्मा नभएको हो । यसबारे अन्नपूर्णले फागुन १५ गते समाचार प्रकाशन गरेपछि महालेखाले चासो देखाएको थियो ।

वार्षिक रूपमा आइसफल बाटो निर्माण शुल्क भन्दै मन्त्रालयकै रोहवरमा रकम संकलन गर्ने अनुमति दिएको पाइएको छ । समितिले सुरुमा चार सय अमेरिकी डलर र पछि वृद्धि गरी ६ सय डलर असुल्दै आएको छ । मन्त्रालयसँग लिखित रुपमै विस्तृत विवरणसहितको कागजात माग गरिसकिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कागजात प्राप्त भएपछि अध्ययन गरी गैरसरकारी संस्थाले रकम संकलन गरेको पाइए वार्षिक प्रतिवेदनमा समेटिने कार्यालयको दाबी छ । प्रतिवेदनमा उल्लिखित विषयलाई लेखा समितिले अध्ययन गरी असुलउपरदेखि जरिवानासम्मको कारबाही गर्नेछ । गैरसरकारी संस्थालाई रकम संकलन गर्ने जिम्मा दिन कानुनतः नमिल्ने महालेखाको भनाइ छ ।

क्याम्प-२ भन्दा माथि बाटो निर्माण गर्ने भन्दै पर्वतारोहण सञ्चालक संघ नामक संस्थाले प्रतिआरोही २० हजार रुपैयाँ असुल गर्दै आएको छ । तथ्यांक हेर्दा ०५४ सालदेखि ०७३ सम्म चार हजार सात सय ६२ र ल्होत्सेमा पाँच सय ३४ जनाले आरोहण गरेका छन् । नुप्सेमा पनि आरोहण भएको छ तर आरोहीसँग समेत रकम संकलन हुने भएकाले करिब ६ देखि ७ हजार जनासँग रकम असुल भएको अनुमान छ । यो हिसाबले करिब ४२ करोड रुपैयाँ असुलेको देखिन्छ ।

खुम्बु आइसफल बाटो निर्माण गर्न भन्दै मन्त्रालय र विभाग प्रतिनिधिकै रोहवरमा बैठक बसेर रकम तोकिने गरिएको पाइएको छ । आरोहीहरूले गैरकानुनी रूपमा रकम असुल्दै आएको उजुरी पर्यटन विभागमा दिए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । गत वर्ष क्याम्प २ भन्दा माथि बाटो बनाउने भन्दै २० हजार असुलेको पर्वतारोहण सञ्चालक संघले काम नगरेपछि विभागका महानिर्देशक दिनेश भट्टराईसमक्ष उजुरी गरेका थिए ।

विभागका महानिर्देशक दिनेश भट्टराईले भने बाटो नबनाए आरोहण प्रभावित हुने जवाफ दिने गरेका छन् । तर, सगरमाथाभन्दा खतरा मानिने कञ्चनजंघा, मकालु, आमादब्लमसमेतमा आरोही आफैँले बाटो बनाउने गरेकाले संस्थालाई रकम असुल गर्ने अधिकार दिनु मन्त्रालयको गलत कदम भएको आरोही गाइड लाक्पा शेर्पा बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.