एक हजार महिला दक्ष मिस्त्री

एक हजार महिला  दक्ष मिस्त्री

सिन्धुली : पुरुषसँग समान ज्याला नपाएको गुनासो गर्ने महिलाहरूले पछिल्लो समय आफैं दक्ष मिस्त्री बन्दै पुरुषसरह ज्याला लिन थालेका छन्। पुरुषसरह श्रम गरे पनि ज्यालामा भने आधा मात्र पाउने गरेको भए पनि अधिकांश महिला आफूमा दक्षता प्रस्तुत गर्दै समान ज्याला लिन सक्षम भएका हुन्।

जसको उदाहरणका रूपमा सिन्धुलीका झन्डै एक हजार महिलालाई लिन सकिन्छ। २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माणका लागि विभिन्न संघ संस्थाले दक्ष जनशक्ति निर्माणका लागि दिएको तालिमपछि जिल्लाका १ हजार महिला पुरुषसरह काम गरी उनीहरू बराबर ज्याला लिन सक्षम भएका हुन्।

विभिन्न संघ संस्थाले दिएको तालिमपछि आफ्नो क्षमतालाई अभिवृद्धि गर्दै यहाँका १ हजारबढी महिला दक्ष मिस्त्री बनी काम गरिरहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय सिन्धुलीका प्रमुख बासुदेव हुमागाईले जानकारी दिए।

‘जिल्लामा भूकम्पपछि विभिन्न संघसंस्थाले सञ्चालन गरेको नौदिने र ५० दिने डकर्मी तालिमबाट जिल्लामा १ हजार ५० महिला डकर्मी उत्पादन भएका छन्। उनीहरूले पुरुषसरह ज्याला पाउने गरेका छन्,’ उनले भने।

जिल्लाका ९ वटै स्थानीय तहमा भूकम्पप्रभावितलाई पुनर्निर्माणमा प्रत्यक्ष सहभागी गराउने उद्देश्यले उनीहरूलाई तालिम प्रदान गरिएको थियो। तालिमपछि ती महिला डकर्मी पुनर्निर्माणलाई रोजगारीको माध्यम बनाउँदै आत्मनिर्भर भएका छन्।

विपन्न तथा सामाजिक रूपमा विभेदमा परेका भूकम्प प्रभावितलाई डकर्मी बनाइएको छ। डकर्मी तालिमका कारण स्थानीयहरू सीप सिकेर गाउँमै स्वरोजगार बनिरहेका छन्। साथै आफ्नो घर निर्माण गर्न सहुलियत भएको उनीहरू बताउँछन्। निजी आवास पुनर्निर्माणबाट मनग्य आम्दानी गर्न सकिने उनीहरूको तर्क छ।

कमलामाई नगरपालिका वडा नम्बर १० माझी गाउँकी प्रमिला माझीले ५० दिने डकर्मी तालिम अवधिमा घर निर्माण गरिसकेकी छन्। डकर्मी तालिम नलिएको भए सजिलै घर कहाँ बन्थ्यो र ? प्रमिलाले भनिन्, ‘तालिमबाट मिस्त्री खर्च र निर्माण सामग्रीका लागि ठूलो राहत मिल्यो।’ तालिमपछि प्रमिलासहित अन्य डकर्मी टोलीले अहिले गाउँमा झन्डै एक दर्जन भूकम्पप्रतिरोधी घर बनाइसकेका छन्। प्रमिला अहिले सिन्धुलीमा मात्र होइन छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोकलगायत स्थानमा पनि घर बनाउन पुग्छिन्। पहिले महिला डकर्मीलाई राम्रो नमान्ने गाउँले अहिले उनको काम र आम्दानी देखेर छक्क पर्ने गरेका छन्।

प्रमिलाका अनुसर अहिले यस्ता दक्ष महिला मिस्त्रीले दैनिक १ देखि १ हजार ३ सय रुपैयाँसम्म कमाइ गर्न थालेका छन्। ‘पहिला दक्ष पुरुष मिस्त्रीसँग उत्तिकै श्रम गर्दा तीनदेखि चार सय ५० रुपैयाँसम्म ज्याला पाउँथे। अहिले पुरुषकै सरह ज्याला पाउँछन्,’ उनले भनिन्।

पछिल्लो समय महिलाहरू आफैं घरको पूरै ठेक्का लिएर निर्माणमा जुटेका छन्। जुन महिलाहरू पनि पुरुषसरह दक्ष छन् भन्ने उदाहरण बनेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.