मन्दिरमा दलितलाई ४० वर्षसम्म रोक

मन्दिरमा दलितलाई ४० वर्षसम्म रोक

वीरगन्ज : बाराको सिमरौनगढ नगरपालिकास्थित शिवपार्वती मन्दिरमा दलित समुदायले ४० वर्षसम्म पनि पूजापाठ गर्न पाएका छैनन्। गैरदलितले झवानी टोलस्थित मन्दिर प्रवेशमा रोक लगाएपछि स्थानीय चमार समुदाय पूजापाठबाट वञ्चित भएका हुन्।

चार दशकअघि निर्माण गरिएको मन्दिरमा गैरदलित समुदायले अहिलेसम्म पनि आफूहरूलाई प्रवेश र पूजापाठ गर्न नदिएको स्थानीय विनोद महरा चमारले बताए। एक सय ५० घरधुरी रहेको झवानी टोलमा चमार समुदाय १०-१२ परिवार छन्। बाँकी ब्राह्मण, राजपुत, सहनी, तेली र नुनिया समुदायको बसोबास छ।

मन्दिर स्थापनादेखि नै दलितलाई प्रवेश गर्न नदिइएको उनले सुनाए। ‘मन्दिर बनाउने बेला हाम्रै काका, बुबाहरूले ज्यामी र मजदुर बनेर सघाएका थिए’, उनले भने, ‘तर, जब मन्दिर बन्यो त्यसपछि हामीलाई तल्लो जातिको भनेर मन्दिरमा पूजापाठको त कुरै छाडौं, मन्दिरमा छिर्न पनि दिएका छैनन्।’

दलितले पूजापाठ गरे मन्दिर अपवित्र हुने भन्दै गैरदलितले प्रवेश गर्न नदिएको उनको दाबी छ। ‘हामीले मन्दिरमा पूजापाठ गर्न धेरै कोसिस ग¥यौं तर छिर्नै दिएनन्’, अर्का स्थानीय विनेश महरा चमारले भने, ‘यो टोलमा हाम्रो जातिको संख्या एकदमै थोरै छ, त्यही भएर हेपिएर बस्नुपरेको छ।’

गैरदलितले झवानी टोलस्थित शिवपार्वती मन्दिर प्रवेशमा रोक लगाएपछि स्थानीय चमार समुदाय पूजापाठबाट वञ्चित। 

स्थानीय मन्दिरमा गैरदलितले रोकेपछि दलित समुदाय टाढा रहेको सिम्रौनगढ बजार र अमृतगन्जको रानीवास बजारस्थित मन्दिरमा पूजापाठ गर्न बाध्य छन्। छिमेकी गाउँ जानकीनगरका सञ्जोग राम चमारले शिवपार्वती मन्दिरमा गैरदलितले दलितलाई पूजापाठ गर्न नदिएको बताए। ‘हाम्रै गाउँको छिमेकमा त्यो मन्दिर छ तर हामीलाई पनि तल्लो जातिको भनेर पूजापाठ गर्न दिँदैनन्’, उनले भने, ‘दलितले कुटानीपिसानी गरेको चामल, गहुँ खान्छौं तर मन्दिरमा पूजापाठ गर्न दिँदैनौं भन्छन्।’

झवानी टोलका एक गैरदलित अगुवाले दलितलाई पूजापाठ गर्न नरोकेको दाबी गरे। भने, ‘यदि उनीहरूले पूजा गर्छन् भने हामीले त्यो मन्दिरमा पूजापाठ गर्दैनौं।’

स्थानीय जयलाल सहनीले भने दलित समुदाय माछामासु तथा मदिरा सेवन गरेर पूजापाठ गर्न आउने गरेका कारण उनीहरूलाई रोक्ने गरिएको बताए। ‘हामीले उनीहरूलाई तल्लो जातको भनेर मन्दिरमा रोकेका हैनौं’, उनले भने, ‘चमारहरू फोहोरी बनेर बस्छन्, माछामासु र मदिरा सेवन गरेर पूजा गर्न आउँछन्। त्यही भएर हामीले रोकेका हौं। उनीहरू सफा बनेर आउँछन् भने मन्दिरमा पूजापाठ गर्न हामी रोक्दैनौं।’

साबिक सिम्रौनगढ गाविसका पूर्वअध्यक्ष गगनदेव कुसवाहाले भने दलित समुदाय अधिकारप्रति सचेत नभएका कारण मन्दिरमा पूजापाठबाट वञ्चित भएको बताए।

झवानी टोल पर्ने वडा नम्बर ७ का अध्यक्ष रमेश कुसवाहाले यो विषयमा आफू अनभिज्ञ रहेको बताए। ‘गाउँको धेरै कुरा मलाई थाहा छैन’, उनले भने, ‘अब यसबारे बुझ्छु। यदि विभेद रहेछ भने त्यसलाई हटाउन पहल गर्छु।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.