जहाजको प्रतीक्षामै बित्यो ३ दशक

२९ वर्षमा विमानस्थल बन्यो, तर चलेन

२९ वर्षमा विमानस्थल बन्यो, तर चलेन
सुनसान मसिनेचौर विमास्थल। तस्बिर : रामचन्द्र न्यौपाने

लगभग ३० वर्षअघि ठूलो भूगोल, कठिन जनजीवन र छरिएको बस्ती भएकै कारण राज्यले एयरपोर्ट बनाउन अनुमति दियो। बन्यो पनि। तर, जहाज आएन। स्थानीय भन्छन्, ‘जहाजको आसमा उबेलाको कसिलो छाला चाउरी परिसक्यो। कपाल फुलेर सेतै भइसक्यो। कति गाउँले जहाज नदेखि बितिसके। खै कहिले देख्न पाइएला ?’

डोल्पा : डोल्पा त्रिपुरासुन्दरी–७ का भक्तिलाल बोहोरा उमेरले ६० वर्ष लागे। वृद्ध उमेरका उनलाई एउटै कुराले पिरोलेको छ। आफू तीसवर्षे लक्का जवान हुँदा निर्माण सुरु भएको एयरपोर्टमा जहाज अझै आएको छैन। घरमुनिको ग्राउन्डमा जहाज आएको देख्ने उनको अब एउटै धोको छ। तीन वर्षअघि निर्माण कार्य सम्पन्न भएको एयरपोर्ट अझै जहाज नआएको उनले गुनासो गरे।

उनका अनुसार त्यतिबेला जहाज ल्याउन चौर बनाउने लागे रे भन्ने सुनेपछि गाउँमा खुसीको सीमा नै थिएन। कतिपयले त अब एक, दुई वर्षमै जहाज आउँछ होला भनेर आकलनसमेत गर्थे। ‘हामीले आशा गरेको ३० वर्ष बित्न लाग्यो तर जहाज आएन’, उनले भने। ‘जहाजको आशामा ऊ बेलाको कसिलो छाला चाउरी परिसक्यो। कालो कपाल फुलेर सेतै भइसक्यो तर, खुसीको फूल मनमा कहिल्यै फुल्न सकेन’, उनले दुःखेसो पोखे। ‘जीवित हुँदै जहाज आइदिएको भए ३० वर्षअघि देखेको सपना पूरा हुन्थ्यो कि, मरियो भने सपना अधुरै हुने भयो।’

जहाजको पर्खाइमा गाउँका धेरैजसो बूढापाकाहरू बितिसकेको समेत उनले बताए। वडा नं ८ शेरगाउँका कृष्ण केसीलाई पनि त्यस्तै लाग्छ। एयरपोर्ट निर्माण भएको लामो समय बितिसक्दा पनि जहाज नआएको उनले गुनासो गरे। सातामा एउटासम्म भए पनि उडान गर्न माग छ। ‘आफूहरू सानै छँदा एयरपोर्ट बन्न सुरु भएको हो, हामी हुर्किएर पनि ४० कट्न थालियो, एयरपोर्ट बनेपछि न जहाज नै आयो न त जहाज चढ्ने आशा नै पूरा भयो’, उनले दुःखेसो पोखे। ‘यहाँका कतिपय सर्वसाधारणले नजिकबाट जहाजै देख्न पाएका छैनन््, जहाज आइदिएको भए वर्षौंदेखिको उनीहरूको सपना पनि पूरा हुने थियो होला।’

परीक्षण उडान भएर जहाज आएमा बिरामी, सुत्केरी र विद्यार्थीलाई आउजाउ गर्न सजिलो हुने आशा छ। निजी जहाज वा सरकारी जहाज जुन भए पनि सातामा एउटा उडान गर्न पहाडाका सर्वसाधारणले माग गरेका छन्। पर्यटन व्यवसायीहरूले पनि डोल्पामा रहेका दुईवटै विमानस्थल मज्जाले चल्ने बताएका छन्। सोलुखुम्बुमा चार–चारवटा विमानस्थल चलेको बताउँदै डोल्पामा प्रचुर मात्रामा पर्यटकीय सम्भावना भएकाले पनि दुईवटै विमानस्थल चल्ने उनीहरूको भनाइ छ।

डोल्पामा रहेको फोक्सुण्डो ताल, शे–गुम्बा, कान्जिरोवा हिमाल, त्रिपुरासुन्दरी मन्दिर शे–गुम्बा, धो तराप भ्यालीलगायतका प्राकृतिक तथा धार्मिक सम्पदाले लाखौं पर्यटक तान्न सक्ने क्षमता राख्ने युवा पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले बताए। मसिनेचौर विमानस्थल सञ्चालनमा आउनुले डोल्पामात्र नभई नेपालकै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने भएकाले जतिसक्दो चाँडो परीक्षण उडान गरेर नियमित उडान सुरु गर्नुपर्ने उनको भनाइ छ।

यस्तो थियो पहिलाको अवस्था

आजभन्दा ३० वर्षअघि जिल्ला भित्रिनु र बाहिरनु पर्दा करिब १५ दिन नै हिँड्नु पथ्र्यो। त्यस समयमा डोल्पाकै अर्को जुफाल विमानस्थल भर्खरै सञ्चालनमा आएको थियो। यद्यपि तल्लो भेग र मध्यभेगका बासिन्दालाई जुफाल पुग्न सहज थिएन। तल्लो भेगमा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकाका सर्वसाधारणलाई जुफाल पुग्न एक दिन नै लाग्थ्यो। अझै पनि साबिकको लिकु र पहाडाका सर्वसाधारणलाई पनि तीन घण्टा धेरै लाग्छ। सिकिस्त बिरामीहरू एयरपोर्ट लैजाँदालैजाँदै बीच बाटोमै मर्नुपर्ने बाध्यता थियो।

जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई जहाज भेट्न आजभोलि पनि एकसाता भन्दा धेरै हिँड्नु पर्छ। त्यसबेला पहाडा गाविसका स्थानीय मनबहादुर केसी र सुरेश शाहीले डोल्पामा दोस्रो विमानस्थल निर्माणका लागि पहल गरे। राज्यले पनि ठूलो भूगोल, कठिन जनजीवन र छरिएको बस्ती भएकै कारण एयरपोर्ट बनाउन अनुमति दियो। बस्तीदेखि तल ठूलो जमिन खाली थियो। त्यसैमा विमानस्थल निर्माण गर्ने गाउँको सल्लाह भयो। किंवदन्तीअनुसार त्यो फाँटिलो जमिन तत्कालीन डोल्पा दरोका राजा विक्रम शाही महाराजाको घोडा चराउने थियो। समयक्रमसँगै त्यो जमिन मान्छेहरूले नापी नक्सा गरेर भोगचलन गर्न थाले। गाउँलेको सल्लाहअनुसार प्रतिरोपनी १७ हजार रुपैयाँ लिएर मसिनेचौर एयरपोर्टलाई जग्गा दिए।

जग्गा प्राप्तिसँगै २०५१ सालमा शिलान्यास भयो। तत्कालीन जिल्ला विकास समितिका सभापति ओमबहादुर बुढाले शिलान्यास गरे। उक्त एयरपोर्ट कालोपत्रेपछि जहाज नदेखेरै केसी र बुढाको स्वर्गारोहण भइसकेको छ। शिलान्यास भएको एक वर्षपछि २०५२ सालदेखि निर्माणको काम सुरु भएको पहाडाका स्थानीयले बताए।

निर्माण गर्नै २९ वर्ष

त्रिपुरासुन्दरी नगरपालिका—७ मा रहेको मसिनेचौर विमानस्थल निर्माण गर्नै २९ वर्ष लाग्यो। बजेट पठाउँदा राज्यको कर्केनजर परेपछि एयरपोर्ट निर्माण गर्नै तीन दशक लागेको पहाडाका स्थानीय विष्णुलाल केसी बताउँछन्।

‘त्यतिबेला सरकारले एयरपोर्ट निर्माणको स्वीकृति दिए पनि बजेट भने कनिका छरेझैं आउँथ्यो, माथिबाट आएको न्यून बजेटले एयरपोर्टको थोरैमात्र काम गर्न सकिन्थ्यो। एयरपोर्ट निर्माण हुनेताका हामीहरू युवा अवस्थामै थियौं, तत्कालीन निर्माण समितिमा आफ्ना बुवा मनबहादुर केसी हुनुहुन्थ्यो, उहाँ घरबाट पैसा बोकेर बजेट माग गर्न पटक–पटक काठमाडौंंमा डेलिकेसन जानुहुन्थ्यो’, उनले सम्झिए।

  • यहाँका कतिपयले नजिकबाट जहाजै देख्न पाएका छैनन््, जहाज आइदिएको भए बर्षौंदेखिको उनीहरूको सपना पनि पुरा हुने थियो।
  • ‘जीवित हुँदै जहाज आइदिएको भए ३० वर्षअघि देखेको सपना पुरा हुन्थ्यो कि, मरियो भने सपना अधुरै हुने भयो।’
  • जहाज अवरतणका लागि बनाइएको विमानस्थलको धावनमार्ग मान्छे र पशुवस्तुको आउजाउ गर्ने बाटोमा परिणत भएको छ।
  • मसिनेचौर विमानस्थल निर्माणमा २८ करोड ६० लाख खर्च भइसकेको छ।
  • राज्यले जतिसक्दो छिटो एयरपोर्ट सञ्चालनमा नल्याए राज्यको करोडौं लगानी त्यसै खेर जान्छ।
  • ३० वर्षअघि राज्यले पनि ठूलो भूगोल, कठिन जनजीवन र छरिएको बस्ती भएकै कारण एयरपोर्ट बनाउन अनुमति दिएको थियो।

बुवा आफैंले एयरपोर्ट निर्माणको सुरुवाती पहल गरेकाले पनि घरमा पैसा नहुँदा ऋण सापट गरेर जानुहुन्थ्यो, त्यही भएर पनि चार भाइ सन्तानले सोचेअनुसार पढ्नै पाएनौं, त्यो बेला बुवाले लाएको सरसापट केही वर्षअघि मात्र तिरेर सक्यौं उनले गुनासो पोखे। आफूले काम सुरुवात गरेको एयरपोर्टमा जहाज बसाल्ने बुवाको ठूलो धोको थियो। तर, धोको पूरा नभएरै बुवा बित्नुभयो, गाउँका धेरै बूढापाकाहरू जहाज नदेखेरै बिते’, उनले भने। मसिनेचौर एयरपोर्ट र जनयुद्ध सुरु भएको एउटै वर्ष भएकाले पनि पटक–पटक माओवादीले निर्माणमा अवरोध गरेको पनि उनले सम्झिए।

निर्माणमा २८ करोड ६० लाख

नजिकै जुफाल एयरपोर्ट बनिसकेको थियो। तर, स्थानीय गाउँवासीको मागअनुसार पहाडामा पनि एयरपोर्ट बनाउन राज्यले अनुमति दियो। तत्कालीन जिल्ला विकास समितिले पनि एयरपोर्ट बनाउन केन्द्रमा सिफारिस गरेको थियो।

२०७८ सालमा निर्माणकार्य पूरा भएको मसिनेचौर विमानस्थल बनाउन मात्रै २८ करोड ६० लाख खर्च भएको छ। तीन वर्षअघि मात्रै धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको थियो। नागरिक उड्डयन प्राधिकरण काठमाडौंंका इन्जिनियर वीरप्रसाद शाहीका अनुसार २०५२ साल यता एयरपोर्ट निर्माणका लागि राज्यको २८ करोड ६० लाख खर्च भएको जानकारी दिए। उनका अनुसार एयरपोर्ट कालोपत्रेका लागि मात्रै २५ करोड खर्च भयो। बाँकी रकम टर्मिनल भवन, सुरक्षा भवन, घेराबार, खानेपानी, कर्मचारी निवास निर्माणमा खर्च भएको छ।

‘विमानस्थल सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम भइसकेको छ, प्राविधिक हिसाबमा पनि उडान गर्नै नमिल्ने कुनै कारण छैन’, उनले भने ‘राज्यले अध्ययन नगरेरै एयरपोर्ट बनाउने स्वीकृत दिएको होइन, सम्पूर्ण पूर्वाधार निर्माणको काम भइसकेकाले छिट्टै परीक्षण उडानसँगै नियमित उडान गर्नुपर्छ उनले भने, ‘त्यहाँँका सर्वसाधारणको वर्षौंदेखिको माग पनि त्यही छ।’

टावरको टिर्मनल भवन निर्माण भए पनि आवश्यक उपकरण भने जडान अझै हुन सकेको छैन। विमानस्थल सुचारु भएपछि आवश्यक सबै उपकरण जडान गर्न सकिने बताइएको छ। विमानस्थलकै सुरक्षाका लागि अस्थायी विमानस्थल सुरक्षाचौकी पनि स्थापना गरिएको छ। हाल असईको नेतृत्वमा प्रहरी बसेको छ। एयरपोर्ट निर्माण भए पनि जहाज नआउँदा चौकी स्थापनाको वास्तविक भूमिका निभाउन नसकिएको चौकीका एक प्रहरी जवानले बताए।

 तत्कालीन पर्यटन मन्त्रीले आफ्नै बाचा बिर्सिए

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मसिनेचौर विमानस्थलमा परीक्षण उडानको मिति तोक्दै दुई पटक फेसबुकमा पोस्ट गरे। पहिलो पोस्टमा १३ भदौमा डोल्पाको मसिनेचौर विमानस्थलमा परीक्षण उडान गर्ने जानकारी गराए। झन्डै तीन वर्षअघि नै सञ्चालनको तयारीमा रहेको विमानस्थल सञ्चालनमा आउने भयो भन्दै डोल्पाका जनप्रतिनिधिदेखि सर्वसाधारणमा खुसीको सीमा रहेन। सबैले जनप्रिय मन्त्री भन्दै गुणगान गाए र मिति नै तोकेकोमा धन्यवादसमेत दिए।

जब १३ भदौ आयो मन्त्रीले भने जस्तै गरी परीक्षण उडान हुन सकेन। मन्त्री आफैंले फेसबुकमा दोस्रो पोस्ट गर्दै एक महिना सारेर १३ असोजमा परीक्षण उडानका लागि मिति सारे। त्यसबेला बुवाको निधन भएपछि मिति सारिएको भन्दै फेसबुकमै लेखे। डोल्पालीले दुःखद् घडीमा कुनै प्रश्न गरेनन्।

अर्को मिति १३ असोज कुरी बसे। जब समय आयो त्यो बेला पनि परीक्षण उडान भएन। त्यसपछि भने पूर्वमन्त्री किरातीप्रति डोल्पाली जनता रुष्ट छन्। पटक–पटक आफैं मिति तोक्ने उडान नगर्ने भनेर रुष्ट भएका हुन्। अब मन्त्रीको पद गइसक्यो ‘मन्त्री किरातीको बोलीप्रति विश्वास थियो, उहाँ लोकप्रिय मन्त्री पनि हो, तर उहाँले पटक–पटक मिति तोकेर पनि परीक्षण उडान गराउनु भएन, त्यसपछि उहाँ पनि अन्य डँटुवा नेता सरह नै लाग्न थाल्यो, अब मन्त्रीको पद गइसक्यो के आशा गर्नु’, स्थानीय विष्णुलाल केसीले भने, ‘अहिले त उहाँको कुनै पनि कुरामा विश्वास लाग्दैन, दुर्गमका नागरिकलाई दुई पटक उडानको ललीपप देखाएर भावना नखेल्नु पर्ने हो।’

डोल्पालाई फरक व्यवहार किन ?

परीक्षण उडानको मितिसँगै तोकिएको कालीकोटको सुन्थराली विमानस्थलमा एक साता अघिमात्रै तामझामका साथै परीक्षण उडान सम्पन्न भयो। त्यसको भोलिपल्टै सरकारी तथा निजी जहाजहरूले नियमित उडानसमेत सुरु गरे।

सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, वर्तमान मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवन शाही पनि पुगे। सँगै मिति तय भएको कालीकोटमा उडान भएपछि मसिनेचौर विमानस्थलमा पनि उडान हुन्छ कि भन्ने डोल्पालीको आशा थियो। परीक्षण उडान त कहाँ हो कहाँ मितिसमेत नतोकेपछि डोल्पाली जनता निराश भएका छन्।

राजनीतिकर्मी विमलकुमार भण्डारीले कालीकोट उडान गरेलगत्तै डोल्पामा पनि उडान हुन्छ कि भन्ने आशा पलाए पनि उडानको मिति नै नतोकेपछि डोल्पाली जनता निराश भएको गुनासो पोखे। सञ्चालनको तयारीमा रहेको मसिनेचौर विमानस्थलमा परीक्षण उडान गराउन सम्बन्धित निकायलाई उनले आग्रह पनि गरे।

नगरपालिकाले लेख्यो पत्र

मसिनेचौर विमानस्थलमा सञ्चालनको माग गर्दै १४ फागुनमा त्रिपुरासुन्दरी नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखिसकेको छ। केही महिनाअघि सँगै परीक्षण उडानको मिति तय भएको कालीकोटको सुन्थराली विमानस्थलमा परीक्षण उडान भएर पनि नियमित उडान सुरु भइसके पनि आफ्नो नगरपालिकामा रहेको मसिनेचौर विमानस्थलमा उडान नभएको भन्दै पत्र लेखिएको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए।

‘एयरपोर्टसम्म पुग्ने बाटो पनि बनेको छ, एयरपोर्टका लागि आवश्यक सम्पूर्ण पूर्वाधार बनिसकेकाले जतिसक्दो छिटो परीक्षण उडान गरेर नियमित उडान गर्न सरकारसँग आग्रह छ’, उनले भने। ‘मन्त्री सुदन किरातीले कालीकोट र डोल्पामा परीक्षण उडानको मितिसँगै तय गर्नुभएको थियो, कालीकोटमा भइसक्यो, डोल्पामा दुई पटक सर्‍यो, अब परीक्षण उडान गर्न डोल्पावासीको आग्रह छ।’

सदनमार्फत सरकारको ध्यानाकर्षण

डोल्पाको पहाडामा रहेको मसिनेचौर विमानस्थल सञ्चालनका लागि संघीय संसद्मा पनि कुरा चर्चा भएको छ। डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा भर्खरै गठित सरकारका सहरी विकास मन्त्री धनबहादुर बुढाले विमानस्थल सञ्चालनका विषयमा संघीय संसद्मार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। 

दुई साताअघि प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री बुढाले जुफाल विमानस्थल मर्मत भइरहेको र निर्माण कार्य पूरा भएर पनि सञ्चालनमा आउन नसकेको मसिनेचौर विमानस्थलमा परीक्षण उडान गर्न सरकारको ध्यानकर्षण गराएका थिए। आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम पूरा भइसक्दा पनि नियमित उडान नगरेर राज्यले दुर्गमका नागरिकको भरोसालाई बेवास्ता गरेको गुनासो पोखे। आफूले जनप्रतिनिधिको हिसाबले पटकपटक मसिनेचौर विमानस्थलमा परीक्षण तथा नियमित उडान गराउन माग गरे पनि सुनुवाइ नभएको बताए। परीक्षण उडान नहुन्जेल आफू सदन र सरकारको ध्यानाकर्षण गराइरहने बताए।

यता प्रदेशसभा सदस्य वीरबहादुर शाहीले प्रदेश मसिनेचौर विमानस्थल सञ्चालनका विषयमा पटक–पटक प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेको बताए। राज्यको करोडौ लगानी भएको विमानस्थल अलपत्र पर्दा पनि उडानमा सरकार गम्भीर नभएको उनको गुनासो छ। उक्त विमानस्थल आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि जनताको गुनासो मिश्रित फोन बारम्बार आइराख्ने उनको भनाइ छ। यस विषयमा सम्बन्धित मन्त्री र प्रधानमन्त्रीलाई पनि माग गर्ने प्रतिबद्धता जनाए।

डोल्पा प्रशासनको ताकेता

डोल्पाको मसिनेचौर विमानस्थल सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले पनि ताकेता गरेको छ। तीन वर्षअघि नै सम्पूर्ण पूर्वाधार निर्माण कार्य सम्पन्न भएर पनि तयारी अवस्थामा रहेको विमानस्थल सञ्चालनमा ल्याउन केन्द्रमा ताकेता गर्ने गरेको हो। प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जिल्लाका सरोकारवाला निकाय र सर्वसाधारण पनि मसिनेचौर विमानस्थल सञ्चालन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेको बताए। हाल जुफाल विमानस्थल मर्मतका लागि बन्द गरिएकाले यस्ता गुनासाहरू अझ धेरै आउने गरेको उनको भनाइ छ। आफूहरूले पनि नागरिक उड्डयन प्राधिकरणसँग पनि डोल्पाली नागरिकका गुनासाहरूलाई लिखित तथा मौखिम रूपमा टिपाएको बताए। 

‘एयरपोर्ट तयारी अवस्थामा छ, सुरक्षा पोस्टसमेत राखेको धेरै भयो, डोल्पा भौगोलिक रूपमा विकट भएकाले भरपर्दो एवं छिटो, छरितो माध्यम भनेकै हवाई यातायात हो, अब नागरिक उड्डयन प्राधिकरणले जतिसक्दो छिटो परीक्षण उडानसँगै नियमित उडान सुरु गर्नुपर्छ’, उनले थपे। दुर्गममा आपत्कालीन अवस्था बिरामी तथा सुत्केरीको उद्धार गर्नुपर्ने भएकाले पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउनुपर्ने उनको भनाइ छ।

जीर्ण हुँदै संरचना, धावनमार्गमा बाटो

निर्माण कार्य पूरा भएको लामो समय बितिसक्दा पनि जहाज नआएपछि राज्यको करोडौं लगानी भएका मसिनेचौर विमानस्थलका भौतिक संरचना जीर्ण बन्न थालेका छन्। टर्मिनल भवनको सिसा फुटेको छ भने भवन भित्ताहरू पनि पुराना हुन थालेका छन्। विमानस्थल क्षेत्रको सुरक्षाका लागि लगाइएको घेराबारसमेत भत्किएको छ।

संरक्षण नहुँदा तारजाली लगाइएको फलामका एंगल नै धेरै ठाउँमा ढलेका छन् भने केही ठाउँमा भाँचिएको समेत पाइएको छ। जहाज अवतरणका लागि बनाइएको विमानस्थलको धावनमार्ग मान्छे र पशुबस्तुको आउजाउ गर्ने बाटोमा परिणत भएको छ। धावनमार्गभरि पशुबस्तु दिसापिसाब गरेर फोहोर बनाएका छन्। राज्यले जतिसक्दो छिटो एयरपोर्ट सञ्चालनमा नल्याए राज्यको करोडौं लगानी त्यसै खेर जाने डोल्पाका सरोकारवालाको बुझाइ छ।

कच्ची हुँदा उडान

मसिनेचौर विमानस्थल कच्ची अवस्थामा हुँदा भने परीक्षण उडान भएको थियो। आजभन्दा १० वर्षअगाडि परीक्षण उडान गरिएको थियो। २०७० साल भदौमा सिंगल इन्जिन गरेको नाइन एजेजी कल साइनको मकालु एयरलाइन्सले सफल रूपमा परीक्षण गरेको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकसहित भएर वरिष्ठ प्रशिक्षक विमान चालक तेन्जिङ लामाले जहाज अवतरण गराएका थिए। परीक्षण उडान सफल भएपछि चार–पाँच महिना मकालु, गोमा, काष्ठमण्डपलगायतका एयरलाइन्सले उडान गरेका थिए। कच्ची हुँदै सफल परीक्षण उडान भएर सञ्चालनमा आएको मसिनेचौर विमानस्थलमा कालोपत्रे भइसकेपछि भने परीक्षण उडान हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.