पर्यटकीय थलो बन्दै सहिद उद्यान

पर्यटकीय थलो बन्दै सहिद उद्यान

बिर्तामोड : झापाको अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति उद्यान पर्यटकका लागि रोजाइको केन्द्र बन्न थालेको छ ।

साबिक मेची अञ्चलको मुख्य व्यापारिक क्षेत्र बिर्तामोडनजिकै रहेको यो क्षेत्र शान्त, मनोरम र शीतल भएकाले गर्मीको समयमा पर्यटकको चहलपहल अझै बढेको जनाइएको छ । सालबारीस्थित २६ हेक्टर क्षेत्रफलमा फैलिएको यो उद्यानमा पोखरी, पार्क र लोप हुन लागेका कछुवासहितका वन्यजन्तु संरक्षण गरी राखिएका छन् । गर्मीले आत्तिएकाहरूलाई यो स्थानमा पुग्दा सान्त्वना मिल्ने आगन्तुक भीम शिवाकोटीले बताए । ‘गर्मीले के गरौं र कसो गरौं भएका बेला सरर यहाँ आयो’, उनले भने, ‘शीतल ठाउँ, झोलुंगे पुल र पोखरी देख्दा त्यसै ठन्डा हुन्छ ।’ यो स्थलमा झापासहित इलाम र मोरङबाट सबैभन्दा धेरै स्थानीय घुम्नका लागि आइपुग्ने गरेका छन् ।

पञ्चायतकालमा भएको आन्दोलनका क्रममा ज्यानको आहुति दिएका सहिदको स्मृतिलाई ताजा राख्न उद्यान स्थापना भए पनि पर्यटकीय क्षेत्रका रूपमा विकास भएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर प्रधानले बताए ।

उद्यानभित्र झापा किसान विद्रोहमा जीवन बलिदान गरेका वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको पूर्ण कदका प्रतिमा राखिएका छन् । झापाबाट इलाम जेल सार्ने भन्दै २०२९ साल फागुन २१ गते सुखानी जंगलमा लगेर उनीहरू गोली हानी मारिएका थिए ।

उद्यानको मध्यभागमा रहेको अढाई हेक्टर क्षेत्रफलको प्राकृतिक तलाउ पर्यटकका लागि मुख्य आकर्षण रहेको प्रधानको भनाइ छ । व्यवस्थान समितिले तलाउमा पर्यटकलाई शयर गराउन चारवटा पाइडल डुंगाको व्यवस्था गरेको छ ।

प्राकृतिक वातावरणले भरिपूर्ण उद्यान भएकाले वनभोज खान, घुमफिर गर्न, तलाउमा डुंगा सयर गर्न र मन बहलाउन यहाँ पुग्ने गरेको स्थानीय प्रदीप लिम्बू बताउँछन् । सुखानी सहिद स्मृति प्रतिष्ठानले केही वर्षयता उद्यानभित्र पूर्वाञ्चलकै पहिलो कछुवा संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरेकाले आकर्षण अझै थपिएको छ । उद्यानमा पाँच प्रजातिका कछुवा संरक्षण गरी राखिएका छन् । दैनिक औसत डेढ सय जना घुम्न आउने र नयाँ वर्ष, भ्यालेन्टाइन दिवस, शनिबार र चाडबाडका बेला घुइँचो लाग्ने गरेको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.