जथाभावी डोजरले गाउँगाउँमा पहिरो

जथाभावी डोजरले गाउँगाउँमा पहिरो

बैतडी : बैतडीका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन घुमाएका डोजरको वितन्डा पहिलो वर्षातमै देखिन थालेको छ । जिल्लाका धेरै स्थानीय तहमा पहिलो वर्षातमै खनिएका सडक भत्केर भताभुंग भएका छन् भने सडक मुनितिरका बस्ती पहिरो र बाढीको जोखिममा परेका छन् ।बैतडीको डिलासैनी गाउँपालिका–३ मा २ साउनमा परेको अविरल वर्षाले खहरेखोलामा बाढी आयो । खोलामा आएको बाढी गाउँमा पसेपछि स्थानीयको दुई सय रोपनी जमिन बगरमा परिणत भयो । कलदे खोलासिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घर जोखिममा परेका छन् । खोलाको पानी घरभित्रै पसेपछि स्थानीयका २२ घर जोखिममा परेका हुन् ।

‘एक्कासि आएको बाढीले खेतीयोग्य जमिन बगाइदियो । त्यो बेला त ज्यान जोगाउनै मुस्किल पर्‍यो’, स्थानीय हरमल रानाले भने, ‘अकाशमा कालो बादल मडारिँदा अहिले पनि डर लाग्छ । फेरि खोलामा आउने बाढीले घर नै बगाउने हो कि भन्ने चिन्ता छ ।’एक्कासि खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पूरै नष्ट गरेको स्थानीय अर्जुन रानाले बताए । उनले भने, ‘कलदे खोलामा आएको बाढी सडकको ह्युम पाइप थुनिँदा गाउँ पस्यो । बाढीले गाउँमा वितण्डा मच्चाएपछि अहिले पनि स्थानीय त्रसित बनेका छन् । खेतमा लगाएको धानबाली पूरै नष्ट भएपछि झन् समस्यामा परेका छौं ।’खहरे खोलामा आएको बाढीले एकातिर समस्या निम्त्याएको छ भने खेतको छेउतिर चमेलिया नदीले कटान गर्दै गएको छ । ‘यो वर्ष बाढीले हामीलाई धेरै समस्यामा पार्‍यो । खेतीयोग्य जमिन पूरै पुरिदियो । घर पनि जोखिममा परेको छ’, स्थानीय रमेश धामीले भने । ‘फेरि वर्षा भयो भने घर बगाउने हो कि भन्ने चिन्ता छ ।

’डिलाशैनी मात्रै नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढी र पहिरोको चिन्ताले स्थानीयलाई सताएको छ । जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढी र पहिरोको जोखिम बढाएको स्थानीयले बताएका छन् । अध्ययनबिनै स्थानीय तहले धमाधम कच्ची सडक खनेपछि अहिले ती सडकले खेतबारी बगाउन थालेका छन् ।‘असार पहिलो साता परेको वर्षाले सडकको पूरै माटो खेतमा पसेर खेतबारी नष्ट भयो । सडक माथिबाट आएको खहरेले घर छेउमै पहिरो गयो’, सुर्नया–६ का दुर्गादत्त अवस्थीले भने, ‘खेतबारी र घरै जोखिममा परेपछि अर्को घरमा सरेका छौं ।’

जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड, पुरचौंडी नगरपालिकाको मल्लादेही, मेलौली नगरपालिकाको विशालपुरलगायत क्षेत्र पहिरोको जोखिम छ । ती क्षेत्रमा कच्चीसडक धमाधम खनिएपछि झन् जोखिम बढेको गोकुलेश्वरका सुरेश श्रेष्ठले बताए । ‘गोकुुलेश्वर क्षेत्र पहिलादेखि नै पहिरोको जोखिममा छ । कच्ची सडक बनेपछि त झन् पहिरोको जोखिम बढेको छ । हरिनगर बजार क्षेत्र चमेलिया नदीको बाढीको जोखिममा छ । वर्षामा हुने जोखिमबाट बचाउन स्थानीय सरकारको त्यति ध्यान जान सकेको छैन ।’ कच्ची सडकका कारण धेरै ठाउँमा पहिरोको र बाढीको जोखिम रहेको दोगडाकेदारकी सीता विष्टले बताइन् । उनले भनिन्, ‘वातावरणीय अध्ययनबिना खनिएका सडकले विपद् निम्त्याएका छन् । विपद् जोखिम न्यूनीकरणतर्फ पनि स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.