एकता दिवसको अपहेलना

एकता दिवसको अपहेलना

पृथ्वी जयन्तीजस्तो महत्वपूर्ण पर्वको उपेक्षा समग्र नेपालीको भावना र पहिचानमाथि मात्र नभई राष्ट्रिय एकता र सम्मानमाथिकै प्रहार हो

अठारौं शताब्दीको उत्तरार्धदेखि नै एकीकृत राष्ट्रनिर्माण अभियानका नायक पृथ्वीनारायण शाहले आफ्नो शासकीय जीवनका ३० वर्ष नेपाल एकीकरणका युद्ध, सम्झौता, अभियान र व्यवस्थापनमा बिताएको ऐतिहासिक तथ्य प्रमाणित छ। सुविधा र उपकरण शून्य रहेको त्यो युगमा राज्य एकीकरण गर्नु लर्तरो काम थिएन। 

एकीकरण अभियानमा ब्युहरचना, हतियारको व्यवस्थापन र योजनाबद्ध तयारी, युद्ध मैदानका महत्वपूर्ण पक्ष हुन्। सीमित साधन असीमित कमी-कठिनाइ हुँदाहुँदै पनि अदम्य साहसको पुँजी एकीकरण अभियान चलिरह्यो। एकीकरणले सिंगो मुलुकलाई ‘नेपाल’ नाम दियो भने ‘गोर्खाली’ संसारभरि नै साहस र बहादुरीको पर्यायवाची भयो।

वि.सं. १८३१ मा पृथ्वीनारायणको निधनपछि पनि सुगौलीको सन्धि (वि.सं. १८७३) नहुन्जेल पूरा ७२ वर्षसम्म एकीकरण अभियान चलिरह्यो। तत्कालीन हिन्दुस्तानमा मुगल साम्राज्य अस्ताउँदै गएको ऐतिहासिक संक्रमणकालीन युगमा सत्तामा इस्ट इन्डिया कम्पनीका रूपमा अंग्रेजहरूको वर्चश्व र औपनिवेशिक हालिमुहाली बढ्दै जाँदा यता एकीकृत नेपाल राष्ट्रको आवश्यकता अपरिहार्य थियो। 

नत्र नेपाल आजकै मानचित्र र स्वाधीन अवस्थामा रहने थिएन। यसलाई केबल राजा वा राज्यहरू विस्तारको इतिहासका रूपमा हेर्नु र शक्तिकेन्द्रित साम्राज्यवादी वा सामन्तवादी दृष्टिकोणद्वारा विश्लेषण गर्नु बिल्कुलै गलत हुन्छ। बरू लिच्छबीकालदेखिकै आमचाहना र युगको प्रसव वेदनालाई मूर्तरूप दिने ऐतिहासिक नायकको रूपमा पृथ्वीनारायणको योगदानलाई बुझ्नु न्यायोचित हुन्छ।

नेपाल राष्ट्रको इतिहासमा स्वर्णयुग भनिने लिच्छबीकाल, त्यसमा पनि मानदेवको पालातिरै राष्ट्र एकीकरण कायम गनुपर्ने आवश्यकता महसुस भएको तथ्य इतिहास बताउँछ।

 किनकि नेपाल नामकरण नभएको त्यस युगमा छरपस्ट पहाडी राज्यहरू पाँच समूहमा विभक्त थिए— (१) ‘तीन सहर नेपाल’ वा ‘नेपाल मण्डल’ भनिने काठमाडौं उपत्यकाका राज्य समूह, (२) गण्डकी प्रदेशमा अवस्थित पाल्पा तथा लमजुङअन्तर्गतका चौबीस राज्यको समूह, (३) कर्णाली क्षेत्रस्थित हुम्ला-जुम्ला राज्यअन्तर्गत पर्ने बाइसे राज्य समूह, (४) पूर्वमा कोशी नदी प्रदेशमा पर्ने मोरङ राज्यको संरक्षित रूपमा रहेका एघारवटा राजौटा समूह, जसलाई इतिहासकारहरूले ‘किराती कबिला गणतन्त्रीय राज्य-समूह’ भन्ने गरेका छन्, र (५) सुगौलीको सन्धिपछि गुमेका कुमाउँ, गढवाल, पूर्वमा ‘सुखिम’ (सिक्किम) र त्यसअन्तर्गतका राज्यसमूह।

 लामो ऐतिहासिक प्रक्रिया र सामाजिक रुपान्तरणद्वारा यी राज्यहरूको स्थापना भयो। मध्ययुगतिर काठमाडौं उपत्यकामा टोले तथा ग्रामीण सरदार र पश्चिममा भुरेटाकुरे शक्ति एकाइहरू विकसित भएका थिए। कालक्रममा तिनको ठाउँ बाइसे, चौबीसे आदि राज्य-समूहले लिए।

विश्वका अन्य मुलुकहरूमा पनि राष्ट्र एकीकरणका नायकहरूको गौरवमय इतिहास छ। ईसापूर्व तेस्रो शताब्दीतिर चीनका सम्राट ‘छिन शिह ह्वाङ्-ती’ ‘छिन्वंश’ का पहिलो सम्राट थिए, जसले छरिएर रहेका ७ मुख्य राज्यहरूलाई युद्धद्वारा एकीकरण गरेको, चीनको विशाल पर्खाल निर्माणको सुरुआत, नाप-तौल र सिक्काको मापन निर्धारण र लिखित भाषाको प्रारम्भ गरेको इतिहास छ। उनैको नामबाट आधुनिक चीनको नामकरण भयो। तर माओले छिन शिह ह्वाङ्तीको रीसले चीनको नाम परिवर्तन गरेनन्, बरु बेलाबखतमा उनको योगदानको कदर गरेकै इतिहास छ।

पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन् भन्ने विषयलाई राजतन्त्रसँग जोडेर हेर्नु गल्ती हुनेछ।

सोह्रौं शताब्दी (१५३०) तिर मस्कोका ‘महाराजकुमार’ ‘इभान द टेरिबल’का पालामा नै साइबेरिया, कजान, अस्त्राकान आदि ठूल्ठूला भूभाग रुसी साम्राज्यमा समेटियो। इभानले नै रसियालाई मध्ययुगीन राज्यबाट बहुजातीय र विभिन्नतापूर्ण सिंगो साम्राज्यमा परिणत गराए। दोस्रो विश्वयुद्धमा जर्मनीले रुस (सोभियत संघ) माथि हमला गर्न थाल्दा कम्युनिस्ट तानाशाह स्तालिनले समेत राष्ट्रनिर्माता यी जारको अभूतपूर्व प्रशंसा गर्दै ‘जारहरूले एकीकरण गरी खडा भएको रुसी राष्ट्र जोगाउन सम्पूर्ण रसियालीहरू उठ्नुपर्ने’ अभिव्यक्ति दिए, यस्तै आसयका सडक-नाटक पनि गराए।

जर्मनीका राजनेता ओटो फन बिस्मार्कले सन् १८६० देखि १८९० को अवधिमा जर्मनीलाई पहिलो कल्याणकारी राज्यको रूपमा सिर्जना गरे। जर्मनहरू बिस्मार्कलाई राष्ट्र रचनाको साथै जर्मनीको आधारशीला तयार गर्ने १९ औं शताब्दीका विश्वप्रतिष्ठित राजनेता मान्दछन्। इटालीका जनरल तथा राजनीतिज्ञ जिउसेप्पी ग्यारिवाल्दी (सन् १८०७-१८८२) लाई, क्यामिलो काबुर, भिक्टर इम्मानुएल द्वितीय, जिसेप्पी मेज्जिनीसँगै ‘पितृभूमिका जनक’ मानिन्छ।

विश्व इतिहासको यस्तो परिदृश्यमा नेपालको राष्ट्रिय एकीकरणको इतिहासलाई नै विलुप्त पार्ने, घृणा र बदनामी फैलाउने, एकता दिवसलाई अवमूल्यन गर्ने काम निन्दनीय छ।

राष्ट्र निर्माणको शुभारम्भ वि.सं. १८०१ मा पंक्तिकारको गृहजिल्ला नुवाकोटबाटै भयो। नुवाकोट कब्जा नगरी काठमाडौं र भोटका बीचको व्यापार-कारोबार नियन्त्रणमा आउन नसक्ने रणनीतिक महत्वले नै निर्णायक आक्रमण गर्न सुपाघाट तरेर चारै दिशाबाट घेरा हालियो। दिब्योपदेशमै उल्लेख छ, ककनी र शिवपुरीमा सिपाही तैनाथ गरी मोर्चा बाँधियो। नुवाकोट बजारभन्दा उत्तर-पश्चिम ओखतीपानी तर्फबाट स्वयं पृथ्वीनारायण आक्रमणमा आएका थिए भने उनका भाइ दलमर्दन शाहले गेर्खुतिरबाट, अशोकबाटीका तर्फबाट कालु पाण्डे, धरमपानीबाट यशोब्रम्ह शाहले आक्रमणको कमाण्ड गरेका थिए। त्यो नै नुवाकोट विजयको अन्तिम युद्ध थियो। 

यी चारै दिशामा ऐतिहासिक मार्ग निर्माण गरी नुवाकोट-दरबारलाई केन्द्रस्थल बनाउनु आवश्यक छ। यसलाई ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं पर्यटकीय महत्वको सम्पदास्थलको रूपमा विकास गर्न म सहरी विकास मन्त्री हुँदा नै सम्पदा वस्ती विकास कार्यक्रम पारित भएको छ। यसको प्रभावकारी कार्यान्वयनको जरुरत छ। त्यसै समयमा त्यहाँ पृथ्वी संग्रहालय स्थापनाका लागि उक्त मन्त्रालयको गुरुयोजनामा समावेश गरी प्रारम्भिक बजेट पनि निकासा भइसकेको हो।

नुवाकोटको सफलतापछि नेपालको राजधानी त्यहीं भयो। पृथ्वीनारायणले उत्तरी पहाडी क्षेत्रको एकीकरण विस्तारको खाका र जीवनको अन्त्यमा दिएको ‘दिब्योपदेश’ नुवाकोटमै लिपिबद्ध गरिएको हो। राष्ट्र एकीकरणको वीरताले नेपालीलाई हिन्दुस्तान र विश्वभरि ‘गोर्खाली’ पहिचानका साथ सुपरिचित गरायो, जुन पहिचानको साख र भरोसा आजतक यथावत छ। दिव्य उपदेशमा ‘यो राज्य चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ भनी आजको समावेशी राज्यको अवधारणालाइ उनले त्यही युगमा स्थापित गर्ने सोच लिएका थिए। उनी संकीर्ण र लघुदृष्टिका भएका भए ‘गोरखा’ लाई उनले एकीकृत राष्ट्रको नामकरण गर्ने थिए, तर गरेनन्। छोराहरूले काठमाडौं उपत्यकाका राज्यहरू भाग लगाएर शासन गर्न माग्दा उनले राज्य बाँड्ने होइन जोड्ने हो भनी इन्कार गरे।

दिब्योपदेशमै लेखिएको छ, गोर्खाका राजा राम शाहलगायत काठमाडौंका जयस्थिति मल्ल र महिन्द्र मल्लले बाँधेको थिति हेरी त्योभन्दा उत्कृष्ट थिति बसाल्ने ‘अभिलाषा’ उनले लिएका थिए। लिच्छबी र मल्ल राजाहरूले स्थापित गरेका सामाजिक प्रणाली, संस्कृति, सभ्यता, परम्परा, कला, संगीत इत्यादि सबैलाई ‘राज्यधर्म’ कै रूपमा कायम राखे। राजाले कुमारीलाई पूजा गरी ढोग्नेलगायत सबैजसो गुठी र परम्परालाई निरन्तरता दिए। यसबाट उनको उदात्त भावना पुष्टि हुन्छ। उद्योग, खानी, खेती, सेना तथा युद्धनीति, छिमेकी राज्यहरूसँगको सम्बन्ध आदि तत्कालीन नेपालका यावत पक्षलाई दिब्योपदेशले समेटेको छ, जो आज पनि त्यत्तिकै सान्दर्भिक छ।

वि.सं. १८३२ को मंसिर मध्यतिर पृथ्वीनारायण नुवाकोट दरबारमा बिमारी परे। स्वास्थ्य झन्झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो। नौ दिनसम्म घाटमै रही पुस २७ गते बिहान सातबजे उनको निधन भयो। घाटमै राखिएको बेला उनले दिएको ‘दिब्योपदेश’ चारजना भारदारहरूले टिपेका थिए।

पृथ्वीनारायण शाहको निन्दा गर्ने कम्युनिस्टहरूले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले पृथ्वीनारायणले तत्कालीन राष्ट्रिय, सामाजिक र दक्षिण एसियाली क्षेत्रीय आवश्यकताबाट राज्यहरूको एकीकरण गरेर नेपाल राष्ट्रको निर्माण गरेका हुन् भनी लेखेको लेख हेरून्—पुष्पलाल ः छानिएका रचनाहरू, भाग ९, पृ. १५६-१५९। परिवतनकारी सच्चा लोकतन्त्रवादीले राष्ट्रिय पहिचान र राष्ट्रियताको महत्व बुझ्नुपर्छ। नत्र लोकतन्त्र कहाँ स्थापित गर्ने ?        क्रमभंगताको नाममा राष्ट्रिय परम्परा, मर्यादा, धर्म र संस्कृतिहरूमाथि प्रहार गर्दै राष्ट्रिय विभूतिहरूको सालिक तोड्ने ध्वंसको क्रमले राष्ट्रिय एकता र सद्भावना कायम हुँदैन, समृद्धितर्फ उन्मुख भइन्न, राष्ट्रिय पहिचानलाई जीवन्त राख्न सकिँदैन।

पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन् भन्ने मेरो विश्वास र विवेक कहिल्यै पनि डगमगाएन। उनको सम्मान गर्ने कुरालाई राजतन्त्रसँग जोडेर हेर्नु गल्ती हुन्छ। सभ्य र कृतज्ञ राष्ट्रको यो जिम्मेवारी हो। आफ्नो अन्तरआत्माले ठहराएको सत्यको पक्ष लिँदा कसले के भन्ला भनेर मैले कदापि वास्ता गरिनँ। संसद्, मन्त्रिपरिषद् र अन्य मञ्चहरूबाट मैले यसबारेमा बारम्बार आवाज उठाउँदै आएको छु। यसअघिका प्रधानमन्त्रीहरूसँग सरोकारवाला अन्य साथीहरूसहित पटकपटक प्रतिनिधिमण्डलमा सरिक भएकै थिएँ।

विगतमा पृथ्वीनारायणका शालिक तोड्ने, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन नदिने अनेक षड्यन्त्र हुँदाहुँदै पनि सालिक पुनर्निर्माण तथा एकता दिवस मनाउने काममा म अविच्छिन्न रहें। यस वर्ष सालिकको तरबार चोरी भयो। तर स्थानीय जनसमुदायको उत्साहले तत्कालै पुनस्थापित भयो। यस्ता अनेकौं आरोह-अवरोह पार गर्दै पृथ्वीजयन्तीको परम्परा अविच्छिन्न छ। गत वर्ष नेपाली कांग्रेस नेतृत्वको सरकारले स्वीकृत गरेको राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदालाई वर्तमान नेपाल कम्युनिस्ट पार्टीको सरकारले हटायो।

हालै १३ दिन सार्वजनिक बिदा थप गर्ने क्याबिनेट कमिटीको सिफारिसमा पनि राष्ट्रिय एकता दिवसजस्तो महत्वपूर्ण पर्वलाई उपेक्षा गरिएको छ। यसबाट ‘राष्ट्रवादी’ नकाब लगाएको यो सरकारको राष्ट्रवादिता नांगिएको छ। यो समग्र नेपालीको भावना र पहिचानउपरको प्रहारमात्र होइन, राष्ट्रिय एकता र सम्मानमाथि नै प्रहार हो। यस्तो कार्यलाई सरकारले तुरुन्त सच्याउन आवश्यक छ। अन्यथा यसको चक्रवर्ती परिणामले समग्र राष्ट्रिय हितलाई नै क्षति पुर्‍याउने छ। राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुुमन !

—केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.