समाजवादी र राजपाबीच घोचपेच

समाजवादी र राजपाबीच घोचपेच

काठमाडौं : पछिल्लो समयमा एकीकरणको तयारीस्वरूप अनौपचारिक रूपमा तीव्र संवाद गरिरहेको समाजवादी पार्टी र राजपा नेपालको शीर्ष तहको नेताको बीचमा घोचपेच हुन थालेको छ। केही महिनायता यी दुई पार्टीका नेताबीच पार्टी एकीकरणका लागि अनौपचारिक तवरमा संवाद चलेको थियो।

राजपा नेपालबाट अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो र समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठले यो अनौपचारिक वार्ताको नेतृत्व गर्दै आएका छन्। तर गएको २३ असोजमा सप्तरीको राजविराजमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाप्रति व्यंग-कटाक्ष गर्दैै एकीकरण नगरे राजपा सिध्ने चेतावनी दिए। उनले राजपा पार्टी चल्नै नसक्ने दाबी गर्दै समाजवादी पार्टीसँग एकीकरणको विकल्प नभएको दाबी गरे।

यसअघि ८ भदौमा राजपा नेपालका अध्यक्ष मण्डल सदस्य तथा वार्ता समितिका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी केन्द्रीय सरकारबाट बाहिरिए मात्रै एकीकरण हुने दाबी गरे। महतोले सरकारमा समाजवादी पार्टी रहुञ्जेल एकीकरणको सम्भावना नरहेको समेत प्रष्टाए। राजपा नेपालका अर्का अध्यक्ष मण्डल नेता राजकिशोर यादवले समाजवादी पार्टीसँग एकीकरण समानताको आधारमा मात्रै हुन सक्ने बताएका थिए।

दुई पार्टीको एकीकरणका लागि आन्तरिक रूपमा तीव्र प्रयास चलिरहँदा नेताबीच सार्वजनिक मञ्चहरूमा देखिएको वाकयुद्धलाई दुवै पार्टीभित्र मत्थर पार्ने काम भइरहेको र एकीकरणका लागि पहल थालिएको दुवै पार्टी सम्वद्ध नेताको दाबी छ। एकीकरणकै प्रयास अगाडि बढेपछि दुवै पार्टीले कात्तिकसम्म गर्ने भनिएको महाधिवेशनसमेत पछि धकेल्ने निश्चितजस्तै देखिएको छ।

सोमबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकमा समेत राजपा नेपालसँगको एकीकरणबारे छलफल भएको उक्त पार्टीका नेताले बताए। समाजवादी पार्टीको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार सोमबारदेखि सुरु भएको पार्टीको पदाधिकारी बैठकमा दुईजना अध्यक्षले राजपासँग भइरहेको एकीकरण प्रयास वारेमा व्रिफिंग गरेका थिए। उनका अनुसार एकीकरणको साथै पार्टीको समायोजनदेखि समसामायिक राजनीतिक अवस्थाबारे बैठकमा छलफल सुरु भएको छ।

बैठक मंगलबारसम्म चल्नेछ। समाजवादी पार्टीको बैठकमा औपचारिक रूपमै एकीकरणको विषयमाथि छलफल भइरहँदा राजपा नेपालभित्र पनि यो मुद्दालाई लिएर आन्तरिक तयारी र छलफल भइरहेको नेताको भनाइ छ। सुरुमा राजपा अध्यक्ष मण्डलका केही सदस्य एकीकरणको विरोधमा देखिए पनि बिस्तारै राजपाभित्र पनि पार्टी एकीकरण गरेर बलियो पार्टी बनाउने पर्ने निष्कर्षमा सबै पुगेका छन्।

गएको ६ गते पार्टीको संयोजक बनेपछि महन्थ ठाकुरले त्यही भएर पार्टीको महाधिवेशनको तयारी नथालेको उनी निकटस्थ नेताको दाबी छ। एकीकरण गर्ने भएपछि अहिले किन महाधिवेशन गर्ने भन्ने मत बलियो भएकाले ठाकुरले महाधिवेशनको तयारी नथालेका हुन्। अध्यक्षमण्डल सदस्य शरत्सिंह भण्डारीले एकीकरणको प्रयास भइरहेका कारण महाधिवेशनको काम अगाडि नबढेको स्वीकार गरे। ‘एकीकरणका लागि संवाद अगाडि बढेका छन्’, भण्डारीले अन्नपूर्णसँग भने, ‘एकीकरण नहुने देखिएपछि मात्रै महाधिवेशनमा जाने कि भन्ने मत राजपाभित्र छ।’

वैशाख पहिलो हप्ता बसेको राजपा पदाधिकारी बैठकले यही कात्तिकको अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। जसको तयारी ठाकुरकै नेतृत्वमा महाधिवेशन मूल तयारी समितिसमेत गठन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.