लथालिंग राजपा

लथालिंग राजपा

काठमाडौं : अध्यक्ष–मण्डलद्वारा सञ्चालित राजपा नेपालको पार्टी जीवन अवस्था लथालिंग छ। राजपाको अध्यक्ष मण्डलमा ६ जना नेताहरू छन्। अढाई वर्षअघि तात्कालीन मधेसी मोर्चामा आवद्ध ६ दलहरू एकिकरण गरेर राजपा नेपाल गठन गरे पनि एकिकृत पार्टी व्यवस्थित हुन सकेको छैन।

एक वर्षअघि दुई महिनाको चक्रिय प्रणाली लागु गरे पनि राजपाको पार्टी कार्यलयदेखि तल्लो निकायसम्म व्यवस्थित हुन सकेको छैन। पार्टीको एकता महाधिवेशनका लागि एक वर्ष अगाडि सुरु गरिएको सदस्यता वितरण अभियानलाई आन्तरिक किचलो कै कारण राजपाले अहिलेसम्म टुंग्याउन सकेको छैन। केन्द्रीय कार्यालय सञ्चालनमै गत वर्ष लफडा देखिएपछि राजपाले आफ्ना पार्टीका कर्मचारीहरू नै निष्कासनसम्म गर्नुपरेको थियो।

६ वटा पार्टीहरू मिलेर एकिकरण गरेर गएको निर्वाचनमा प्रतिनिधिसभाको तेस्रो ठूलो दल बने पनि राजपाले अहिलेसम्म पार्टीलाई व्यवस्थित गर्न सकेका छैन। एकिकरणपछि एकपटक मात्र केन्द्रीय समितिको बैठक बसेको छ। पार्टीका पदाधिकारीहरूसमेत अध्यक्ष मण्डलको कामप्रति सधैं असन्तुष्टि जनाउँदै आएका छन्। गएको बैशाख पहिलो साता बसेको राजपा पदाधिकारी बैठकमा पदाधिकारीहरू अध्यक्ष मण्डलीय व्यवस्थाबाट पार्टी चल्नै नसक्ने आरोप जोडतोडका साथ लगाएपछि महाधिवेशनसिछ एकल नेतृत्वमा जाने निर्णय राजपाले गर्‍यो।

तर आफैंले घोषणा गरेको मितीमा राजपाले पटक–पटक महाधिवेशन गर्न सकिरहेको छैन। राजपाको बैशाखमा बसेको पदाधिकारी बैठकले यही कात्तिक अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको थियो। जसका लागि महन्थ ठाकुरको नेतृत्वमा मुल आयोजक समिति नै बनाएका थिए। ठाकुर अहिले राजपाका संयोजकसमेत हुन्। उनको नेतृत्वमा बनेको महाधिवेशन आयोजक समितिको बैठक उनले एकपटक पनि गर्न सकेका छैनन्।

गत ६ असोजमा पार्टीको अध्यक्ष मण्डलको संयोजक भएपछि उनले पहिलोपटक गत आइतबार अध्यक्ष मण्डलको बैठक गरेका थिए। राजपाको विधानमा महिनामा दुईपटक कम्तीमा पनि अध्यक्ष मण्डलको बैठक गर्नुपर्ने प्रावधान छ। ‘हाम्रो निर्णय सम्बन्धी सम्पूर्ण अधिकार अध्यक्ष मण्डलमा छ,’ सचिवालय सदस्यसमेत रहेका राजपा महासचिव सिपी सिंह भन्छन्, ‘अन्य कसैको चाहनामा पार्टीमा केही हुने अवस्था छैन।’

सचिवालयले पटक–पटक महाधिवेशन गर्न विभिन्न कामहरूको स्वरूप निर्धारण गरे पनि पार्टीमा त्यस अनुसारको काम हुन नसकेको सिंहले बताए। महाधिवेशनबाट एकल नेतृत्वमा जबसम्म पार्टी जाँदैन तबसम्म पार्टीकै गतिविधि हुने अवस्था नरहेको सिंह बताउँछन्। ठाकुरअघि दुई महिना राजपाको संयोजक रहेका राजकिशार यादवको समयावधिमासमेत एकपटक मात्रै अध्यक्ष मण्डलको बैठक बसेको थियो।

यस्तै, पार्टीमा बैठक नै बस्न नसक्ने अवस्था भएकै कारण कात्तिकको अन्तिमा घोषणा गरिएको महाधिवेशन पुनः प्रभावित भएको छ। यसअघि बैशाख पहिलो साताका लागि घोषणा गरिएको महाधिवेशन पनि तयारी नपुगेको भन्दै कात्तिकमा सारिएको थियो। राजपाका अर्का महासचिव केशव झा भने समाजवादी पार्टीसँग एकिकरण हुने भएकाले पार्टीको आन्तरिक कामहरूमा अध्यक्ष मण्डलले खासै चासो नदेखाएको दाबी गरे।

‘सम्पूर्ण रूपमा अहिले एकिकरणमै पार्टी केन्द्रित छ,’ झाले अन्नपुर्णसँग भने, ‘कात्तिक मसान्तमा बस्ने समाजवादी पार्टीको बैठकले गर्ने निर्णय हामी कुरेर बसेका छौं।’ उनले पनि पार्टीभित्र तीनपटक भन्दा बढी महाधिवेशनको लागि तीव्र प्रयास भए पनि पार्टीको महाधिवेशन हुन नसकेको स्विकार गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.