एकल नेतृत्वमा राजपा : जिल्लामा तत्काल, केन्द्रमा महाधिवेशनपछि

एकल नेतृत्वमा राजपा : जिल्लामा तत्काल, केन्द्रमा महाधिवेशनपछि

काठमाडौं : जिल्ला, क्षेत्रीय र स्थानीय तहमा राजपा नेपालले एकल अध्यक्ष प्रणालीमा पार्टी संरचना बनाउने भएको छ। त्यसका लागि उसले कात्तिकभित्रको समयसीमा तय गरेको छ। अघिल्लो साता अध्यक्षमण्डलको बैठकले अधिवेशन नभएसम्म कात्तिक ३० गतेसम्ममा तदर्थ समिति बनाउन परिपत्र गरेको थियो। केन्द्रबाट सबै जिल्लामा पर्यवेक्षकसमेत खटाइएका छन्।

अढाई वर्षअघि तत्कालीन मधेसी मोर्चामा आबद्ध ६ पार्टी एकीकरण भई राजपा गठन भएको थियो। त्यसपछि केन्द्रदेखि तल्लो तहसम्मै अध्यक्षमण्डलीय प्रणालीबाट पार्टी सञ्चालन हँुदै आएको छ। राजपाले महाधिवेशनपछि केन्द्रमा पनि एकल अध्यक्षीय प्रणालीमा पार्टी जाने गरी विधान बनाएको छ। अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोका अनुसार पार्टीलाई वडा तहसम्मै चलायमान बनाउन अन्तरिम निर्देशिका पारित गरिएको बताए। त्यसअनुरूप जिल्ला, क्षेत्र र स्थानीय तहमा तदर्थ समिति बनाउन लागिएको उनको भनाइ छ।

एकल नेतृत्वमा तदर्थ समिति गठनका लागि सबै जिल्लाका अध्यक्षमण्डलले तयारीस्वरूप मंगलबार बैठक गरेका छन्। काठमाडौंमा केन्द्रीय अध्यक्षमण्डलको बैठकसमेत बस्यो। आउँदो २४ देखि ३० गतेभित्र सबै तहमा छुट्टाछुट्टै सम्मेलन गरी राजपाले नयाँ कार्यसमिति बनाउनेछ। २४ गते वडा, २६ गते पालिकास्तरमा, २८ गते क्षेत्रीय र ३० गते जिल्ला तहमा एकल अध्यक्ष रहेको तदर्थ समिति बनाउने राजपाको कार्यतालिका छ।

अध्यक्षमण्डलीय प्रणालीका कारण पार्टीमा समस्या देखिएको ठहर गर्दै एकल अध्यक्षीय प्रणालीमा जान लागेको नेताहरूले बताएका छन्। ‘महाधिवेशनपछि केन्द्रमा पनि एकल नेतृत्वकै प्रणाली लागू हुनेछ’, महासचिव केशव झाले भने, ‘त्यसको तयारीस्वरूप स्थानीय तहहरूमा अन्तरिम व्यवस्थाअनुसार सम्मेलन आयोजना गरी तदर्थ समिति बनाउन लागेका छौं।’

राजपाले यही कात्तिक २७ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, त्यो नहुने निश्चितजस्तै देखिएको छ। अध्यक्षमण्डलले त्यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। नेता महतोले तदर्थ समिति बनेपछि महाधिवेशनबारे ठोस निर्णय हुने बताए।

समाजवादी पार्टीसँग भइरहेको एकीकरणको संवादका कारण महाधिवेशन अन्योलमा देखिएको छ। महासचिव झाले यो महिनाको अन्त्यमा हुने समाजवादी पार्टीको बैठकपछि राजपाले धारणा बनाउने बताए। ‘एकीकरणका लागि संवाद पनि चलिरहेको छ’, उनले भने, ‘त्यसैले हतारमा महाधिवेशन गर्नुभन्दा केही समय कुर्ने कुरा छ।’

राजपामा समाजवादीसँगको एकीकरण्णलाई लिएर दुई मत देखिएका छन्। समाजवादी सरकारबाट बाहिरिए मात्रै एकीकरणको संवाद अगाडि बढ्ने नेताहरूको भनाइ छ। समाजवादीले आउँदो २८ देखि ३० गतेसम्म बस्ने पार्टी बैठकले त्यसबारे निर्णय गर्ने जनाएको छ।

उपनिर्वाचनमा समाजवादीसँग तालमेल

राजपाले उपनिर्वाचनमा समाजवादीसँग तालमेल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले उम्मेदवार चयनपूर्व त्यसबारे समाजवादीसँग छलफल गर्ने निर्णय गरेको संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुई वर्षअघि प्रतिनिधसिभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि यी दुई पार्टीले तालमेल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.