समाजवादीको पहिलो संघीय परिषद् बैठक : यस्ता छन् एजेण्डा

समाजवादीको पहिलो संघीय परिषद् बैठक : यस्ता छन् एजेण्डा

काठमाडौ‌ं : समाजवादी पार्टीको संघीय परिषद् बैठक बसेको छ। नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकतापछि बनेको समाजवादी पार्टीको यो पहिलो संघीय परिषद् बैठक हो।

बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ नामक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।  डा.भट्टराईले पेश गरेको २५ पृष्ठ लामो दस्तावेजमा समाजवादी पार्टी निर्माण गर्नुको उद्देश्य, समकालिन विश्व राजनीति र वैचारिक संकटबारे चर्चा गरिएको छ।

त्यस्तै नेपालको राष्ट्रिय परिस्थितिको गहन विश्लेषण, उत्पीडित राष्ट्रियताको मुक्ति र संघीयताको महत्वबारे उल्लेख छ। सुशासन, समृद्धि, पहिचान र संघीयताबारे समेत दस्तावेजमा उल्लेख गरिएको छ। मुलुकलाई लोकतान्त्रिकरण र संघीयकरण नगरी विकास र सुशासन कायम गर्न नसकिने समाजवादी पार्टीको निष्कर्ष छ।

‘अधुरो लोकतान्त्रिकरण र संघीयकरणको प्रक्रियालाई पूरा नगरिकन साँचो अर्थमा ‘विकास, सुशासन र समृद्धि’ को यात्रा प्रारम्भ हुन असंभव हुन्छ’, दस्तावेजमा भनिएको छ, ‘देशमा दिगो शान्ति र स्थायित्व हासिल नगरी विकास सुशासन र समृद्धि सम्भव भएको उदाहरण संसारमा कहीँ पनि छैन।’

 त्यस्तै समाजवादी पार्टीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई ‘वैचारिक दृष्टिकोणले उदार–लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल’ भनेको छ। तर, नेपालको कम्युनिस्ट आन्दोलन ‘कुहिरोको काग जस्तो’ बन्न पुगेको भनेर दस्तावेजमा उल्लेख गरिएको छ।

‘पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ', दस्तावेजमा भनिएको छ,'एकातिर उनीहरुले मार्क्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन्। अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष छ।’

 समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा)सँग आफ्ना केही एजेण्डा मिल्नेसमेत जनाएको छ। ‘राष्ट्रिय जनता पार्टी राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल हो’, दस्तावेजमा भनिएको छ, ‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन् र पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ।’

 संघीय परिषदको बैठक बिहीबार नै सकिने पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन्। शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक जारी रहने पनि पाण्डेले बताए।  बैठकले पार्टीमा सरकारको सहभागिता लगायत समाजवादी पार्टी र राजपाबीच पार्टी एकताबारेमा निर्णय लिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.