पार्टी एकीकरणको राजनीति

पार्टी एकीकरणको राजनीति

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण बहस चलिरहेको छ। नेताहरूको संवाद बाक्लिँदै गएको छ। समाजवादी पार्टीको बिहीबार भएको संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजपासँग एकीकरण वार्ता चलिरहेको जानकारी दिएका थिए। डा. भट्टराईले राजपासँग मुद्दा मिल्ने बताउँदै आएकाले पनि एकीकरणले ठोस गति लिने अपेक्षा गर्न सकिन्छ।

विगतमा मधेस राजनीतिमै दुई ध्रुवमा देखिएका यी पार्टीका नेता मिलिहाल्लान् भन्ने आशंका नभएका होइनन्। मधेस आन्दोलनपछि जनविश्वास हासिल गरेका ती दलप्रति क्रमशः विश्वास टुट्दै गएकाले अस्तित्वको त्रास पनि त्यत्तिकै छ।

दोस्रो संविधानसभाले मधेसकेन्द्रित दलको विरोध हुँदाहुँदै पनि निर्वाचन प्रणालीमा थ्रेसहोल्डको व्यवस्था गर्‍यो। राष्ट्रिय पार्टी हुन प्रत्यक्षतर्फ एक सिट अनिवार्य जित्नैपर्ने र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याउनैपर्ने प्रावधान राखिएको छ। पुरानो साख जोगाउन मुस्किल पर्ने भएकाले पनि एकीकरण ती दलका लागि बाध्यता बनेको छ।

संविधानविरुद्धको ६ महिना लामो आन्दोलनलगत्तै दुई वर्षअघि भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश २ मा बहुमत ल्याएको समाजवादी–राजपा नेपाल प्रतिनिधिसभामा पनि तेस्रो दल बनेको छ। मधेस आन्दोलनलगत्तै भएको पहिलो संविधानसभामा राम्रो नतिजा ल्याएको तत्कालीन मधेसी दल दोस्रो संविधानसभामा नराम्ररी पराजित भए। त्यही अवस्था फेरि दोहोरिने सम्भावना भएरै संगठन बलियो बनाउन पनि एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनुपर्ने बाध्यता ती दललाई छ।

समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठ राजपा नेपालसँग पार्टी एकीकरण हुने दाबी गर्छन्। उनी भन्छन्, ‘एकीकरणको ९० प्रतिशत काम सकिएको छ।’

पार्टी एकीकरणका लागि राजपाले पछिल्लो समयमा समाजवादी पार्टीसमक्ष सरकारबाट बाहिरिनुपर्ने र केन्द्रमा शीर्ष नेताहरूको व्यवस्थापन समानताका आधारमा हुनुपर्ने सर्त राखेको छ। संविधान संशोधनको सर्तसहित दुईबँुदे सहमति गरेर सरकारमा सहभागी भएको तत्कालीन फोरम समाजवादी पार्टीसँगको एकीकरणपछि सहमति कार्यान्वयनमा चासो नदेखाइएको भन्दै सरकारबाट बाहिरिने संकेत गर्दै आएको छ।

समाजवादी पार्टीको जारी बैठकबाट सरकारमा बस्नेनबस्ने निर्णयसहित एकीकरणबारे ठोस निर्णय आउने महासचिव श्रेष्ठ बताउँछन्। ‘सैद्धान्तिक रूपमा हामी सहमत भइसकेका छौ’ उनी भन्छन्, ‘बैठकपछि हामी यसलाई मूर्तरूप दिन लागेका छौं।’

राजपा नेपालका महासचिव केशव झाले पनि समाजवादी पार्टीको बैठकपछि एकीकरण प्रक्रिया अघि बढ्ने बताए। झाका अनुसार शीर्ष तहमा एकीकरणका लागि अनौपचारिक संवाद भइरहेको र त्यसैलाई एकैचोटि औपचारिकता दिइने तयारी दुवै पक्षको छ। दुवै पार्टीका नेताहरू अनौपचारिक कुराकानीमा केन्द्रीय तहमा नेताहरूको व्यवस्थापनबारे गम्भीर देखिन्छन्।

०६३ को माघमा अन्तरिम संविधान जारी भएपछि मधेसमा भएको आन्दोलनपछि उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरमको उदय भयो। त्यसलगत्तै ०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता राजेन्द्र महतोले यादवसँग मिलेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरे। पछि महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तराई–मधेस लोकतान्त्रिक पार्टी पनि सहभागी भयो। राष्ट्रिय मूलधारको ऐतिहासिक पार्टी नेपाली कांग्रेसको कोषाध्यक्षजस्तो जिम्मेवारपूर्ण पदमा पुगिसकेको ठाकुर पार्टी छाडेर क्षेत्रीय दलको नेतामा सीमित हुन पुगे। त्यसो त तत्कालीन कांग्रेसमा सक्रिय गजेन्द्रनारायण सिंह, रामजनम तिवारी, श्यामलाल मि श्रलगायतका नेताहरूले पार्टी परित्याग गरी सद्भावना परिषद् नामक अभियानकारी संस्था स्थापना गरेका थिए। ०४६ मा बहुदलीय व्यवस्था स्थापनासँगै मधेसमा नागरिकताको विषय उठाएर चर्चामा आएका थिए।

यादव, महतो र ठाकुर मिलेरै मधेसी जनताको हकहित स्थापित गर्ने भन्दै दोस्रो मधेस आन्दोलन सुरु गरे। आन्दोलन पनि सहमतिमा टुंगियो। आन्दोलनमा एकजुट भएका मधेसी दल संविधानसभामा एकजुट हुन सकेनन्। पहिलो संविधानसभामा राम्रो मत ल्याएको तत्कालीन मधेसी मोर्चा सरकारमा सहभागिताको नाममा एकपछि अर्को गरी फुट्न थाले। तीनबाट दल टुक्रिएर १३ दल भए। त्यसो त नेपाल सद्भावना पार्टीका रूपमा स्थापित मधेसकेन्द्रित दलमा टुटफुटको राजनीति नयाँ होइन।

पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन। प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषद्ले दोस्रो संविधानसभा निर्वाचन गर्‍यो। मधेसी पार्टीको लज्जास्पद हार भयो। त्यसपछि पुनः मधेसी मोर्चा जगाइयो। मधेसी मोर्चाका सहभागी घटकबीच पार्टी एकीकरण गर्ने बहससम्म चलाइयो तर त्यसले मूर्तरूप लिन सकेन। उपेन्द्र यादवले अशोक राई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीसँग एकीकरण गरे। यता मधेसी मोर्चा पनि विस्तारै सक्रिय नै थियो। प्रमुख दल संविधान जारी गर्न तयार रहेका बेला मधेसी मोर्चाको ब्यानरमा यादव, महतो र ठाकुर आन्दोलनमा होमिए। संविधान जारी भयो। मधेसका समस्या सम्बोधन गरिने भन्दै आन्दोलनरत मधेसी मोर्चासँग सरकारले सहमति गर्‍यो। लगत्तै सरकार संविधानअनुसार नयाँ निर्वाचनमा गयो। यादवबाहेक अन्य घटक एकीकृत हुँदै राजपा नेपाल गठन गरे।

नयाँ संविधानअनुसार भएको निर्वाचनपछि उपेन्द्र यादवले पूर्वप्रधानमन्त्री डा. बाबुराम नेतृत्वको नयाँ शक्तिसँग एकीकृत गरी समाजवादी दल गठन गरे। यादव र भट्टराईको एकीकरण सुनिश्चित देखिएपछि राजपा नेपाल पनि त्यसमा सामेल हुन इच्छुक देखियो। तर पनि तत्काल सामेल हुन सम्भव भएन। एकीकरण सभामा बाबुराम र यादव दुवै राजपा नेपालसँग पनि एकीकरण गरिने घोषणा गरे। पछिल्ला संवाद पनि त्यही घोषणालाई सार्थक रूप दिन लक्ष्यित देखिन्छन्। पार्टी एकीकरणले मूर्तरूप पाओस्। ठूलो दल वा कसैको गोटी बन्न र स्वार्थको राजनीति गर्न नभएर मधेसी जनताका हकहित स्थापित गर्न सफल होस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.