सरकार छाड्न यादव ‘अनिच्छुक’

सरकार छाड्न यादव ‘अनिच्छुक’

काठमाडौ : सरकार छाड्ने कि नछाड्ने भन्नेमा समाजवादी पार्टी अनिर्णित बनेको छ । बिहीबारको संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव अनिच्छुक देखिएपछि निर्णय नभएको नेताहरूले बताएका छन् ।

यादव सरकारमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । शुक्रबारदेखि दुई दिन चलेको केन्द्रीय बैठकले राजपा नेपालसँगको एकीकरणबारे पनि निर्णय गरेन । सरकारले प्रदेश प्रमुख समाजवादीलाई नदिएपछि असन्तुष्टि उत्पन्न भएको थियो । राजपासँगको एकीकरण संवादमा सरकारबाट बाहिरिनुपर्ने सर्त आएको थियो । त्यसपछि समाजवादीमा सरकारबाट बाहिरिनुपर्ने दबाब बढेको थियो । अध्यक्ष यादव अनिच्छुक देखिएकै कारण परिषद्ले निर्णय लिन नसकेको नेताहरूको भनाइ छ ।

पार्टी बैठकमा सबै विषयमा छलफल भएको महासचिव रामसहाय यादवले बताए । आवश्यक परे पदाधिकारी बैठकले निर्णय लिन सक्ने उनले सुनाए । ‘केन्द्रीय समितिमा छलफल भयो । सबै विषयमा तत्काल निर्णय गर्नुपर्छ भन्ने छैन’, महासचिव यादवले भने, ‘आवश्यक परेका बेला निर्णय हुन्छ ।’

डा. भट्टराई तत्काल सरकार छाड्ने पक्षमा देखिएका थिए । गत वैशाखमा यादव र भट्टराई नेतृत्वका पार्टीबीच एकीकरण भएको थियो । त्यस बेला केन्द्रीय समिति बैठक बसेर सरकारबारे टुंगो लगाउने सहमति भएको थियो । भट्टराईले परिषद् बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै सरकारको आलोचना गरेका थिए । अधिकांश केन्द्रीय सदस्यले दुईबुँदे सम्झौता नेकपाले कार्यान्वयन नगरेकामा असन्तुष्टि जनाएका छन् । उनीहरूले उक्त सम्झौता कार्यान्वयनका लागि सरकार छाडी सडक संघर्षबाट दबाब दिनुपर्ने धारणा राखेका छन् ।

यादव सरकारमा जाँदा संविधान संशोधन गर्ने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पुष्पकमल दाहालसँग भएको थियो । तर, बैठकले उक्त सम्झौता कार्यान्वयनको सन्दर्भमा पनि केही बोलेको छैन । संविधान संशोधन गर्न सरकार र सदनबाट चाँडै ध्यानाकर्षण गराइने उपमहासचिव प्रकाश अधिकारीले बताए । आफूहरू संविधान संशोधनकै लागि सरकारमा गएको उनको भनाइ छ । ‘पार्टीका तर्फबाट शीर्ष नेताहरूले कुराकानी गर्नुहुन्छ’, उनले भने, ‘त्यसपछि आवश्यक परे पदाधिकारी बैठक गरेर निर्णय हुन सक्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.