कवि कृष्ण र काठमाडौं

कवि कृष्ण र काठमाडौं

काठमाडौं एक्लैले अब काठमाडौँ बोक्न सक्दैन कवितालाई समयले हत्पति पुरानो बनाउन सक्दैन।


स्रष्टा, साधकहरूले सिर्जना मार्फत् देश, काल र परिस्थितिको चित्र प्रस्तुत गरिरहेका हुन्छन्। उनीहरूका सिर्जनामा उनीहरू स्वयं बाँचेको युग त बोलिरहेको हुन्छ नै, भावी युगको संकेत पनि तिनले दिइरहेका हुन्छन्। इमान्दार श्रष्टाको सिर्जनाले राष्ट्रिय भावनाको वीजारोपण र विस्तारण गर्न प्रभावकारी भूमिका खेलिरहेको हुन्छ। अर्कातिर शासक वर्गका जनविरोधी एवं स्वतन्त्रताविरोधी कर्तुतहरू प्रति इमान्दार श्रष्टासाधकहरूले निर्धक्क कलम चलाउँछन्। त्यसैले प्रतिभाशाली श्रष्टा-साधकहरूले सत्ताशक्तिलाई खबरदारी गरिरहेका हुन्छन्। समयलाई बाटो देखाउने सामथ्र्य इमान्दार श्रष्टा-साधकहरूका रचनामा रहन्छ। धेरै नेपाली श्रष्टाहरूले विगतदेखि नै शासकवर्गलाई चेतावनी र चुनौति दिएका छन्, दिँदै आएका छन्।

कवि कृष्ण भूषण बल आधुनिक नेपाली कविता क्षेत्रका अविस्मरणीय प्रतिभा हुन्। उनले अरु धेरै कविहरूले जस्तो कविताको चाङ लगाएनन् तर जति लेखे मन छुने, गहकिला र पठनीय कविता लेखे। उनले आफ्ना कवितामा नेपाली माटोको महक मिसाएर लेखे, नेपाली हृदयको झंकार घोलेर लेखे अनि एकैसाथ हृदय र मष्तिस्कको समानान्तर सुरिलो ध्वनि सुसेलेर लेखे। उनले नेपालको माटोलाई केन्द्रमा राखेर लेख्दा नेपाली जनताको मन, मुटु र आकाँक्षालाई छोएर लेखे। उनले नेपाली जनताको चेतनालाई ब्युँझाउन र उठाउन आह्वान गर्दै लेखे।

कवि बलले २०४१ सालमा ‘भोलि बास्ने बिहान’ नामक एक कविता संग्रह प्रकाशित गरेका थिए। त्यस संग्रहमा प्रकाशित कविताहरूमध्ये एउटा कवितामा कविले त्यस समयका निरंकुश पञ्चायती व्यवस्थाका सत्ताशिनहरूलाई, व्यवस्थाको पक्षधरहरूलाई जनचाहना अनुसार नचल्ने हो भने, केन्द्रबाट आदेश मात्र दिएर जनभावनालाई कुल्चिमात्र रहने हो भने चाँडै नै गुम्सिएको जनाकाँक्षा विस्फोट भएर नियन्त्रण बाहिर जानेछ, जस्को परिणामलाई काठमाडौँले थेग्न सक्दैन भन्ने चेतावनी दिएका थिए। संग्रहभित्रको उनको त्यो शसक्त र बहुचर्चित कविताको शिर्षक रहेको छ- “काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन।”

  वर्तमानमा जतिसुकै लम्बेचौडे भाषा र भाषणमा संघियताको चर्चा गरिए पनि त्यस्को सार भनेको केन्द्र (काठमाडौँ) को अधिकार गाउँसम्म पुर्‍याउने शासकीय व्यवस्था रहेछ भनेर बुझ्न सकिन्छ। कवि बलले उक्त कविता २०३४/३५ तिर लेखेको हुनुपर्छ। संग्रह भने पछि प्रकाशित भयो। त्यसबेलै उनले काठमाडौंलाई अर्थात् शासनको केन्द्र सिंहदरबारलाई चेतावनी दिइसकेका थिए, “काठमाण्डू एकलैले अब सिंगो नेपालको अर्थ लाउन सक्दैन” भनेर।

उनले शासकहरूलाई काठमाडौं बाहिरको नेपाललाई पनि देख्न, भेट्न र आमजनताका भावनाहरूलाई चिन्न अनि छाम्न आह्वान गरेका थिए। सँगसँगै जनतालाई काठमाडौँ (सिंहदरबार) को अधिकार गाउँगाउँमा पुर्‍याउनका निम्ति जुर्मुराउन अनि काठमाडौँको छातिमा ज्वालामुखी झैँ विस्फोट हुन पनि आह्वान गरेका थिए।

नाघ्नुपर्छ पाइतालाहरूले अब भञ्ज्याङ्गहरू

टेक्नुपर्छ पाइतालाहरूले अब सारा पहाडहरू

उड्नुपर्छ निश्चित लक्ष्यहरूमा अब यो छिमलका चराहरू

ज्वालामुखी झँै फुट्नुपर्छ अब यो पींढीका स्वरहरू

  काठमाडौंले काठमाडौँ बाहिरका नेपालीले अनुभूत गरेको दुःखकष्टलाई विगतमा गम्भिरतापूर्वक लिएन। काठमाडौं बाहिरको नेपालले दुःखका काँडाहरूमा टेकेर बाँच्नुपरेको छ। काठमाडौंले सँधै आफ्नै मात्र सुखसुविधा मात्र देख्यो, भोग्दै आयो। देश भनेको सुविधायुक्त र सँधै सुविधा मात्र खोजिरहेको काठमाडौं मात्र होइन। काठमाडौंले आफ्नै सम्पन्नताका महलहरू बनाउँदमा देश सम्पन्न हुन सक्दैन। एक्लो हुटिट्याउँले मात्र आकाश थाम्न नसकेझैँ काठमाडौँले मात्र देश थाम्न सक्दैन। नेपाल भनेको हिमाल, पहाड, मधेश सबै भूभागका जनताको साझा भूगोल हो, साझा सपना र चाहनाहरूको सिंगो आकाश हो। काठमाडौँ मात्र नेपाल होइन, देश होइन। कसैको पेवा झैँ स्वेच्छाचारी भएर देश हाँकिन सक्दैन। कवि बलले कवितामा शासकलाई चेतावनी दिएर लेखे;

हुटिट्याउँले सगर थाम्न खोजेर थामिन सक्दैन सगर

बर्खे भेलको सानो चपेटले मेट्न खोजेर मेटिन्न बगर

पहाड, मधेश, थुम्काथुम्की र उकाली ओरालीको देश

कसैको पेवा होइन, कसैका ठेक्का लिएर पनि हुने हैन

मुहान जो बग्नुपर्छ, जम्नु यस्को कुनै अर्थ हुँदैन।

कवि बलले तत्कालीन राजदरबार र सिंहदरबार दुवैलाई देशका प्रति जिम्मेवार बन्न कवितामार्फत् चुनौति दिए। शासक वर्गले वास्तविक नेपालको तस्विरलाई कसरी उपेक्षा गरेका छन् भन्ने कुरामा नेपाली जनतालाई सचेत गराए। जसरी कवि गोपाल प्रसाद रिमालले ‘आमाको सपना’ कविता मार्फत् राणा निरंकुशतन्त्रका विरुद्धमा जनतालाई जुर्मुराउन आह्वान गरेका थिए, वलले पञ्चायती तानाशाही व्यवस्था विरुद्ध सचेत हुँदै जनतालाई त्यस्का विरुद्ध जुर्मुराउन पनि आह्वान गरे। ०४६ साल वा ०६२/०६३ सालका जनआन्दोलनहरू वास्तवमा काठमाडौं केन्द्रित शासकीय शक्तिलाई हिमाल, पहाड, मधेशका जनतासम्म पुर्‍याउनका लागि भएका थिए। २०४६ सालको जनआन्दोलनले पनि काठमाडौंका शासकहरूलाई काठमाडौंबाहिर पुर्‍याउन सकेन। राजा फेरि निरंकुश हुन थाले। ०६२/०६३ सालको दोस्रो राष्ट्रिय जनआन्दोलनले राजतन्त्रलाई नै अस्विकार गर्‍यो। जनताका हक अधिकारलाई शासकका मुट्ठीबाट जनतामै पुर्‍याउनका लागि ती आन्दोलनहरू भएका थिए। त्यस्कै निम्ति शासकलाई चेतावनी र शासित जनतालाई आफ्ना हक अधिकारका लागि ब्युँझन कविले आह्वान गरेका थिए। कविले जनतामा विस्तारित भइरहेको युगसापेक्ष चैतन्यको ज्वाला पोखिन आँटेको संकेत पाएका थिए। ह्ुस्सुले उज्यालो सूर्यलाई धेरैबेर ढाक्न नसक्ने यथार्थ देखिसकेका थिए।

खोरमा थुनिए पनि बिहानीको संकेत दिन्छ कुखुराको भाले

निरर्थक प्रयासमा युग हाँस्छ बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे।

 कवि बलले टुँडिखेलका चौकुनामा उभ्याइएका सालिकलाई इतिहासका प्रतिकका रूपमा प्रयोग गरेका छन्। वास्तवमा देशको इतिहासलाई काला घोडाहरूले कुल्चँदै आएका छन्। काला घोडाहरू अहंकार, निरंकुशता र शासकीय दम्भका प्रतिक हुन्। ती काला घोडाहरू अनिष्टका चिन्ह हुन्। काला घोडामाथि शासकीय निर्लज्जताले, उपहासले चावुक लगाइरहेको देख्छन् कवि। काठमाडौँले यस्तै इतिहासका दृश्यहरूलाई बोक्दै आइरहेको छ। कविले गर्जना छेडे कवितामा;

टुँडिखेलका प्रत्येक शुरहरूमा घोडा छाँदेर त्यतिकै डटेकै छ इतिहास

टाप बजारेर कुदिरहेको घोडालाई त्यतिकै चावुक लगाइरहेछ एउटा उपहास

अनिष्ट भन्छन् सपना देख्नेहरू पनि, यस्तो कालो घोडा र कालो मान्छे

तर काठमाण्डू छातीमाथि बोकिरहेकै छ यस्ता इतिहासका मान्छे।

इतिहासहमा काला घोडामाथि चढेको मान्छेले जनताको अनुहारलाई चिन्न सकेन, देशलाई घोडा दौडाउने मैदान मात्र ठानिरह्यो। काला घोडाको मात्र देश होइन, देश मेची महाकालीका करोडाँै नेपालीको हो। काठमाडौँ आँफै घोडाहरूका बुर्कुसीभित्र थिचिँदा थिचिँदा अब आजित र थकित भइसकेको छ, उकुसमुकुस भइसकेको छ। मञ्जु श्रीले डाँडा काटेर अतितको काठमाडौंलाई निकाश दिएझैं अब काठमाडौँले पनि निकास पाउनुपर्छ र बाहिरको धर्तीमा बग्नुपर्छ। कविले बलले भने;

काठमाण्डू वास्तवमा भित्रभित्रै छट्पटाएको छ

काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ

मञ्जु श्रीको अर्को तरबारको निकास खोजिरहेछ ऊ

युगका गह्रौँ पाइलाहरू अब धेरै बोक्न सक्दैन-

यसैले बग्ने निकाश खोजिरहेछ ऊ।

निरंकुश पञ्चायतकालमा जनताका अधिकारहरू खोसिएका थिए। शासकहरू नारायणहिटी र सिंहदरबारबाट देशलाई आदेश दिन्थे। हुकुमी शासन थियो। नारायणहिटी दरबारले आफ्नो इच्छानुकूलका मानिसहरूलाई देशको प्रशासन चलाउने जिम्मा दिएको थियो र तिनले दरबार रिझाउनकैका लागि काम गर्थे, जनतामा स्वतन्त्रता थिएन। सम्पूर्ण कानुन र अधिकारहरू दूइटा दरबारको हातमा थिए र अन्तिम शासकीय अधिकार राजामा निहित थियो। त्यस्तो स्थितिमा गुज्रिरहेको मुलुकको शासकीय निरंकुशतन्त्रका सीमाहरू भत्काउँदै स्वतन्त्रताको, लोकतन्त्रको सुनौलो बिहान झुल्काउन निम्ति संघर्ष गर्न कविले आह्वान गरेका थिए। कविले ‘चैतको हावा’ शिर्षक कवितामा पनि परिवर्तनका लागि आह्वान गरेका छन्। यद्यपि काठमाडौँ एक्लैले....भित्र शासकमाथि जुन गर्जना छ, त्यो अरु कवितामा फरक शैलीमा अभिव्यक्त छ।

कवि बलद्वारा काठमाडौं (सत्ता वा सिंहदरबार) लाई केन्द्रमा राखेर लेखिएको यो कविता तत्कालीन सत्तासिनहरूका लागि आङ कपाउने सिर्जना थियो। कवि बलले निरंकुश पञ्चायत कालको झण्डै मध्यतिर यो कविता लेखेका थिए। उनले उतिबेला देखेको र अनुभूत गरेको शासकीय शैलीमा ठूलो अन्तर अझै देखा पर्दैन। ०४६ साल र ०६२/६३ सालमा भएका युगान्तकारी राजनीतिक परिवर्तनहरू पछि पनि शासकीय प्रवृत्तिमा देखिँदै आएको अहंकार र दम्भ कवि बलले भने झैँ टुँडिखेलका काला घोडाहरूको भन्दा धेरै फरक छैन।

  वि.सं. २००४ मंसिर १५ मा इलाममा जन्मेका कवि कृष्ण भूषण बलको देहान्त २०६९ साल असारमा भयो। उनी विगत भइसकेका भएपनि उनका रचनाका मर्महरू पुराना भएका छैनन्। लामो समयसम्म अझै पुराना बन्दैनन् पनि। इमान्दार श्रष्टाले आगामी युगको ध्वनि सुन्ने क्षमता राख्दछ। कवि बल यस्तै प्रतिभा सम्पन्न कवि थिए। उनले निरंकुशतन्त्रका विरुद्धमा र स्वतन्त्रताका पक्षमा लेखेका अन्य कतिपय कविताहरूमा पनि समयको शसक्त पुकार सुन्न सकिन्छ।

  राणातन्त्रको विरुद्धमा कलम चलाउने कैयौँ श्रष्टाहरू अझै स्मरणीय छन्। पञ्चायती निरंकुश समयका विरुद्धमा सयौँ अग्रज श्रष्टाहरूले कविता लेखे। २०१७ सालदेखि २०४६ सालसम्म हजाराँै कविताहरू लेखिए होलान्। प्रत्येक कविका आ-आफ्नै चिन्तन र शैलीहरू हुन्छन्। राजनीतिक बाहेक सामाजिक विसंगतिहरूका विरुद्धामा पनि असंख्य कविताहरू लेखिए। कविता बाहेक अन्य विधाहरू मार्फत् पनि श्रष्टाहरूले चेतनाका आवाजहरू घन्काए।

 मूलतः कविताका सन्दर्भमा गहकिला कविता सिर्जना गर्ने कविहरूमध्ये बल अग्रपंक्तिमा आउने सशक्त प्रतिभा हुन्। इमान्दार प्रतिभाको सिर्जनाले समयको परिधीमा खुम्चिनु पर्दैन। कवि कृष्ण भूषण बलका कैयौं कविताहरूलाई समयले पुरानो बनाउन सक्दैन। काठमाडौं एक्लैले अब काठमाडौँ बोक्न सक्दैन कवितालाई समयले हत्पति पुरानो बनाउन सक्दैन। श्रष्टा समयभन्दा अगाडि हुन्छ भन्ने कुराका एक शसक्त उदाहरण बनेका छन् कवि कृष्ण भूषण बल।

नेपाल प्रज्ञा प्रतिष्ठानले कतिपय दिवंगत श्रष्टा-साधकहरूका स्मृतिमा पुरस्कारहरूको स्थापना गरी उनीहरूका कर्तृत्व र कीर्तित्वलाई सम्मान गर्न थालेको संकेत देखिएको छ। प्रज्ञा प्रतिष्ठानले यस वर्षको वार्षिकोत्सवका अवसरमा देवकोटा, रिमाल आदि श्रष्टाहरूका नाममा आरम्भ गरिएका सम्मानका क्रमलाई विस्तार गर्ने क्रममा अन्य दिवंगत प्रतिभाहरूका योगदानलाई पनि ध्यानमा राख्दै जाला भन्ने अनुमान गर्न सकिन्छ। आफ्नो समयका एक सशक्त हस्ताक्षर कवि कृष्ण भूषण बलको योगदानलाई नेपाल प्रज्ञा प्रतिष्ठानले बिर्सनु हुँदैन, बिर्सन सक्दैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.