भ्रष्टाचारको नालीबेली

भ्रष्टाचारको नालीबेली

बहुदलीय व्यवस्था आउँदा जनताले जुन सुशासनको अपेक्षा गरेका थिए, त्यो आशातीत भएन र भ्रष्टाचारका कारण पञ्चायती शैलीभन्दा यो भिन्न पनि रहेन।


उहिल्यै हो, पश्चिमी मुलुकका विदेशी नेपालको पूर्वीपहाडी क्षेत्रमा घुम्न आएका रहेछन्। तिनले त्यहाँका पूरै बस्ती मानवविहीन देखेछन्। त्यति बेला त्यहाँ स्थानीय कोही पनि रहेनछन्। बस्तीका कुनै पनि घरका दैलोमा साँचो लगाइएको रहेनछ। सबै घरका दैलो ढप्क्याइएको मात्र थियो। ती आगन्तुकले दैलो खोलेर हेर्दा घरमा सामान र अन्नपात राखिएका रहेछन्। घुमफिर गरेर बुझ्दै जाँदा ती पहाडका मानिस सपरिवार खेतीको बाली काटेर हुलेपछि रोजगारका निम्ति दार्जिलिङ, आसाम जाँदा रहेछन्। उनीहरू आफ्ना अन्न बाली, कुटो–कोदालो, ओछ्यान–बिछ्यान घरमै महिनौंसम्म छाडेर परदेश गएको सुन्दा–देख्दा ती विदेशी छक्क परेछन्।

वास्तवमा चोरहरू नहुने हो भने घरमा ताल्चा मार्नु पर्दैन। नेपाल त्यस्तै मुलुक थियो, कुनै बेला। हत्यारा र आततायी नहुने हो भने मानिसहरू स्वतन्त्रसँग रातविरात पनि विचरण गर्न र काम गर्न सक्छन्। त्यस्तै भ्रष्टाचार र भ्रष्टाचारी नहुने हो भने यो मुलुक स्वर्ग बन्ने थियो। कुनै बेला नेपाल ऋषिमुनिको बसोवास भएको पुण्य भूमि कहलिएको थियो। आफ्नै संस्कृति, रहनसहन, खानपान र चलन थिए नेपालीका। साँच्चै भन्ने हो भने नेपालीमा जुन बहादुरी छ, जुन साहस र सभ्यता छ, जुन जुझरुपन छ र निष्ठा छ, त्यो यस मुलुकको माटो, हावापानी, खानपान र हाम्रो आदि–अनादिकालीन सभ्यताको परिणाम हो।हामी अन्याय देख्न र सहन चाहँदैनौं, निर्धाे र दुःखीमाथि हुने शोषण र अत्याचार राम्रो मान्दैनौं।

सूर्यास्त नहुने गरी राज्य विस्तार गर्ने चाहना बोकेर हिँडेका ब्रिटिसले नेपाललाई आफ्नो विस्तारित साम्राज्यभित्र गाभ्न सकेनन्। पहाडी देश नेपालका बासिन्दा जुझारु र लडाकु प्रवृत्तिका थिए, अहिले पनि छन्। जंगलको बीचमा बाघभालुसँग पौंठेजोरी खेल्दै बाली उब्जाएर गुजारा गर्थे हाम्रा पुर्खा। तर तत्कालीन ब्रिटिस सरकारले हाम्रो दुई तिहाइ भूभाग हडपेर हामीलाई भूपरिवेष्टित बनाइदियो। हाम्रा पूर्वशासकहरूले नेपाललाई पूर्ण पराधीन हुनबाट जोगाएका हुन्। हाम्रो दुईतिहाइ भूभाग कब्जा गरिएपछि हामी विकसित हुन नपाउने अवस्थामा पुग्यौं। बारम्बार थिचोमिचो सहन बाध्य भयौं। संसारमा भूपरिवेष्टित राष्ट्रहरूको संख्या नभएको होइन। अन्तर्राष्ट्रिय कानुनले अहिले त्यस्ता राष्ट्रलाई सहयोग पुर्‍याएको छ र त्यस्ता राष्ट्र विकसित पनि भएका छन्। विगतमा हाम्रो आफ्नो जाति, समूहप्रति विश्वास र निष्ठा राख्ने समाज वर्तमान युगमा भौतिक सुविधा र सुखमा लिप्त हुँदै गएकाले भ्रष्ट र धर्म संस्कृतिबाट विमुख हुँदै गएको छ।

पञ्चायती शासनकालमा पनि भ्रष्टाचार थियो। दरबारको राज्य दोहनको पद्धति अर्कै थियो। राम्रा जग्गाजमिन र राज्यको सम्पत्तिमा हालीमुहाली गरे पनि अरू कर्मचारी र नोकरशाहले अनियमित गरेमा पजनी गर्ने पद्धति थियो। ३० वर्षे पञ्चायती शासन निरंकुश भयो। भ्रष्टाचार व्यापक भयो भनी बहुदलीय व्यवस्था ल्याउन २०४६ साल चैतसम्म आन्दोलन भयो। परिणामतः बहुदलीय व्यवस्था आयो। आज यो व्यवस्था आएको ३० वर्ष पुग्न लागेको छ। त्यसको कारण हो— व्यापक रूपमा हुने गरेको भ्रष्टाचार। यतिखेर नेपालको माथिल्लो तहमा भइरहेको भ्रष्टाचारबारे तथ्य–तथ्यांकसहित आमसञ्चारमा समाचार आइरहेका छन्।

ठूलाठूला रकममा हुने भ्रष्टाचार र नीतिगत भ्रष्टाचार माथिल्लो तहबाट हुने हुँदा कुनै कारबाही सम्भव हुन्न। तर सानातिना भ्रष्टाचारका मुद्दा भने अख्तियारद्वारा चल्ने गरेका छन्। तुलनात्मक रूपमा भन्ने हो भने हिजो पञ्चायतमा शासकहरू जति भ्रष्ट थिए, लोकतान्त्रिक पद्धतिमा जनताले चुनेका शसकहरू त्योभन्दा तीन गुना बढी भ्रष्टाचारमा लिप्त भएको आमजनताले महसुस गरेका छन्। बहुदल प्राप्तिपछि संघर्षरत नेताहरूले जनतालाई जेजस्तो विकास निर्माणद्वारा मुलुकको परिवर्तन हुने वचन र आश्वासन दिएका थिए, ठीक प्रतिकूल दिन दुई गुना रात चौगुनाको दरले भ्रष्टाचारमा वृद्धि हुँदै गएको छ। आज भ्रष्टाचाररूपी रोग एउटा क्यान्सरका रूपमा फैलिँदै गएको छ। कुनै पनि व्यक्ति पदमा पुगेपछि केही प्रतिशत छाडेर बाँकी सबैले भ्रष्टाचारबाट कमाउने लक्ष्य लिएको पाइन्छ। तलब त तिनका निम्ति एउटा होटलमा काम गर्ने बेराका लागि ग्राहकले दिने गरेको ‘टिप्स’सरह हो।

प्रायः युवा जागिर खोज्दा कि राजस्व क्षेत्रमा वा धेरै आम्दानी हुने ठाउँमा जान मरिमेट्छन्। सेवामा प्रवेश गरेको केही समयमै घरबारी, मोटर र आधुनिक सुविधामा सम्पन्न हुने अभिलाषा उनीहरूले राखेको पाइन्छ। ती सबै कुराको प्राप्ति नियमित वेतनबाट क्षणभरमा प्राप्त हुन कुनै सर्तमा सम्भव छैन। तसर्थ अकुत कमाउने एक मात्र सुनिश्चित बाटो भनेको भ्रष्टाचार नै हो। त्यो पनि राष्ट्रको जल, जंगल, जमिन र आमजनताको शोषणबाटै भइरहेका छन्। गैरधन्दाको आयलाई लिएर डराउनु पर्दैन, किनकि त्यसको हिसाब यहाँ भरसक खोजिँदैन। खोजिहालेमा नातावाद, कृपावाद, घुसको हिस्सेदारी प्रतिशत बाँडफाँट र दलगत सम्बन्धका आधारमा सरलैसँग चोख्याइने गरिन्छ।

नेपालको विकास गर्नु छ भने भ्रष्टाचार वर्गको कब्जाबाट मुलुकलाई छुटाउन आवश्यक छ। तर जनताले अकुत सम्पत्ति आर्जन गरेका भ्रष्ट नेताहरूलाई नै सत्तामा पुर्‍याउने गरेका छन्। यो हाम्रा लागि दुःखद हो।

नेपालमा अहिले इमानदार र निष्ठा भएका व्यक्तिले मुख छोपेर हिँडनुपर्ने अवस्था छ। भ्रष्टाचारी भने छाती फर्काएर सानसँग हिँडेका छन्। हाम्रो समाजमा अब कस्तोसम्मको सोच विकास भएको छ भने अवसर पाउँदा किन नकुम्ल्याउने ? मौका पाउँदा नकमाउनेलाई मूर्ख–स्वाँठको संज्ञा दिने चलन विकास भइसकेको छ। हिजोआज शक्ति हुनेलाई जस्तो किसिमको भ्रष्टाचार गरे पनि कुनै छेकबार छैन। सार्वजनिक जग्गा जमिनमा भ्रष्टाचार छ। पानी, मल, तेल, खाद्यान्न, माटो, जंगल, गिटी, बालुवा आदिको व्यापारमा सर्वत्र भ्रष्टाचार छ। त्यति मात्र होइन, सार्वजनिक र राजनीतिक पदमा कसैलाई नियुक्ति गर्दा, सरुवा गर्दा, बढुवा गर्दा पनि भ्रष्टाचार हुने गर्छ। हुँदाहुँदा एउटाले मरीमरी पढेर परीक्षा दिएको कपीसँग घुस दिने पक्षको नलेखेको कपी सट्टापट्टा गरी पास हुनेलाई फेल र फेल हुनेलाई पास गराई तक्मा दिलाएको पनि देखियो। जागिरमा पटकैपिच्छे जाँच दिएर पास हुनेले पटकपटक वैकल्पिक उम्मेदवारसँग पैसा लिएर पद छाडेको र अनियमितता गरी उपरी आर्जन गरेको पनि पाइयो। नेपालभित्र नेपालीले नै भ्रष्टाचारका नौला उपाय निकालेर उपरी कमाइका लागि अपनाउन थालेको प्रशस्त उदाहरण छन्।

माथिका सानातिना परिणामका भ्रष्टाचार हुन् तर नेपालमा खुलारूपमा ठूलाठूला मात्र होइन, कतिपय अवस्थामा राष्ट्रलाई घात गर्ने खाले भ्रष्टाचारसमेत हुन थालेका छन्। त्यस्ता अर्बौंअर्बको भ्रष्टाचारबारेमा सञ्चारमाध्यमबाट खुलासा हुन्छ र नांगो आँखाले देख्नले देखेका हुन्छन्, थाहा पाउँछन् तर तिलाई कारबाही भने हुँदैन। कारण राष्ट्र चलाउने डाडुपन्यू तिनका हातमा हुन्छ। ठेकदारले बाटो बनाउँछ तर एकै झरीमा सडक भत्किन्छ। नयाँ पुल एउटै बाढीले बगाउँछ तर सरकार कारबाही गर्न र नोक्सानबापत क्षतिपूर्ति भराउन लाग्दैन। त्यस्ता राष्ट्रघाती र जनतामारा ठेकेदारले किन उन्मुक्ति पाउँछन् ? सरकार किन त्यो नोक्सानमा मौन भएर बस्छ ? सबैलाई प्रस्ट छ। बहुदलीय व्यवस्था स्वयं आफैंमा खराब व्यवस्था होइन। यही व्यवस्थामा संसारभरिका मुलुकले उन्नति गरेका छन्।

हाम्रो मुलुक २००७ सालमा राणाशासनबाट उन्मुक्त भएको हो। तर हामीभन्दा धेरैपछि उन्मुक्त भएका देश विकासमा हामीभन्दा धेरै अघि पुगिसकेका छन्। युगान्डा, इथियोपियाको हिजो के हाल थियो ? केही वर्षमै ती राष्ट्रको अवस्था हाम्रोभन्दा राम्रो भएको छ। हामीकहाँ विगत ३० वर्षको अवधिभित्र राजनीतिक दलहरूमा सत्तालिप्सा मात्र देखिएको छ। त्यसैको प्राप्तिनिम्ति बराबर राजधानीभित्र संघर्ष भएको देखिन्छ। तथापि यो संघर्ष अरूका निम्ति होइन, बरु अकुत आर्जन वा भ्रष्टाचारका निम्ति हो। राज्यसत्ता आफ्नो हातमा भएका बेला जति कमाए पनि त्यसलाई कसले अवरोध गर्ने ?   उजुर व्यापक रूपमा परे पनि कारबाहीसम्मको नाटक मञ्चन गरे नेपालमा पुगिहाल्छ। त्यस्ता कारबाहीबाट प्रमाणित हुनु वा नहुनु भनेको सबै निकाय आफ्नै मुठीमा हुन्छन्। धम्क्याएर वा दबाब नै दिएर पनि उन्मुक्ति पाउनु सत्ताधारीको खेल हो।

नेपालमा बहुदलीय व्यवस्था आउँदा जनताले जुन सुशासनको अपेक्षा गरेका थिए, त्यो आशातीत भएन र पञ्चायती शैलीभन्दा यो भिन्न पनि रहेन।

ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रतिवेदनहरू हेर्दा नेपाल भ्रष्टाचारको रोगबाट उन्मुक्त भएको देखिँदैन। विभिन्न १७५ राष्ट्रको भ्रष्टाचार सूचकांक अध्ययन गर्दा नेपाल सन् २००४ मा ९० क्रममा रहेछ तर सन् २००९ मा १४३ मा अनि सन् २०१० मा १४६। यसै क्रममा सन् २०११ मा १५४, सन् २०१२ मा १३९, सन् २०१३ मा ११६ र सन् २०१४ मा १२६। सन् २०१५ मा १३० र सन् २०१६ मा १३१। सन् २०१७ मा १२२ र सन् २०१८ मा १२४ मा कायम रहेको देखिन्छ। भ्रष्टाचार नियन्त्रण गर्न न यहाँको बहुदलीय सरकार सफल भएको देखियो, न त एकमना सरकार। सबै सरकार एउटा निहित स्वार्थ भएको गिरोह, वर्ग र गुटबाट जहिले पनि घेरिने गरेको भनाइ धेरै विज्ञको छ। यद्यपि यहाँ जनताद्वारा छानिएका प्रतिनिधिद्वारा होइन, पैसा आर्जन गर्ने एउटा निहित स्वार्थ भएको गिरोहको चाहनाका निम्ति अघोषित रूपमा शासन चल्दै आएको छ। तिनै वर्गले भ्रष्टाचारलाई फुलाएका छन्, फलाएका छन् र मलजल हालेका छन्। त्यस्तो वर्गलाई न राष्ट्रसँग सरोकार हुन्छ न त राष्ट्रियतासँग। आमजनताको पीडा त तिनलाई के मतलब ? यी राष्ट्रका घाती हुन्। मुलुक बेचिए पनि यिनलाई कुनै सरोकार हुन्न। बरु आफ्नो स्वार्थका लागि मुलुकलाई दाउमा लगाउनुपरे पनि उनीहरू तयार हुन्छन्। नेपालको विकास गर्नु छ भने भ्रष्टाचार वर्गको कब्जाबाट मुलुकलाई छुटाउन आवश्यक छ। तर जनताले अकुत सम्पत्ति आर्जन गरेका भ्रष्ट नेताहरूलाई नै सत्तामा पुर्‍याउने गरेका छन्। यो हाम्रा लागि दुःखद हो।

सारांशमा जसले भ्रष्टाचार गरेर आफ्नो थैली भर्ने काम गर्छन् र यसको जरियाबाट आफ्नो र परिवारको उच्चस्तरीय जीवनयापनको शैलीलाई नै उन्नति भएको ठान्छन्, त्यो क्षणभरका लागि मात्र हो। भ्रष्टाचार गरी अकुत आर्जन गर्नेहरूको सम्पत्ति दिगो भएको देखिएको छैन। आए बाउको गए साहुको भन्ने प्रवृत्ति भ्रष्टाचारीमा हुने हुँदा कैयन्का सन्तान कुमार्गमा लागेका र त्यसरी अर्जित सम्पत्ति क्षणभरमा ढुटोमाटो भएको यही समाजमा देखिएका छन्। सन्तान बिग्रिएका कारण वा बाबुको अथाह धन देखेर परि श्रम नगरेका कारण सम्पत्ति दिगो नभएको पनि देखिन्छ। कतिपय अवस्थामा सधैंभरि राज्यको शक्ति आफूवरिपरि नरहने हुँदा भ्रष्टाचारको धन लुटिने वा शक्तिमा पुग्नेले कब्जा गर्ने सम्भावना पनि रहन्छ। गरिब जनताका नाममा आएको खाद्यान्न र औषधोपचार सेवामा शोषण गरी कतिपयले भ्रष्टाचार गरेको सम्पत्ति विदेशमा राखेका हुन्छन्, त्यो जफत भइदिन पनि सक्छ। बेलाबखत कानुन परिवर्तनका कारण जफत हुने गरेको देखिएको छ। यसरी एकातिर जनमानसमा भ्रष्टाचारी कहलिने र अर्कातिर गैरमार्गबाट आएको आर्जन लोप हुने हुँदा बदनामीबाहेक आफूसँग केही रहँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.