नेतृत्व पहुँचमा महिला

नेतृत्व पहुँचमा महिला

नेपाली समाजले परापूर्वदेखि पितृसत्तात्मक चिन्तन बोक्दै आएको छ। एक्काइसौं शताब्दीमा पनि यसमा खासै परिवर्तन आएको देखिँदैन। अहिले पनि स्वयं महिलाहरू नै घरपरिवारमा छोरीभन्दा छोराकै पक्ष लिन्छन्। छोरी नै छोरी जन्मिँदा महिला दुःखी हुन्छन्। उनीहरूले आँसु झारेको देखिन्छ। महिलाहरू छोराको घरबार बलियो होस्, दुःख नपाऊन् भनी नखाइनखाइ सम्पत्ति जोहो गरिदिन्छन्। जबकि यिनै भेदभावका कारण महिला स्वयं समाजमा दुःख पाइरहेका छन्।

घरपरिवारमा छोरीको सुविधा र शिक्षाबारेमा कुराकानी गर्दा जहिले पनि अर्काका घरमा जाने जात भनेको सुनिन्छ। छोरीलाई सामान्य शिक्षा दिएर थोरै खर्चमा कलिलै उमेरमा बिहे गरी अर्काका घर पठाउन पाए आमाबाबु खुसी हुन्छन्। पुरुषबाहुल्य राज्यसत्ताले पनि महिलालाई भेदभाव गरेको छ। महिलाले नेतृत्वदायी भूमिका पाउन लागेका छन् भने पनि उनलाई पन्छाएर पुरुषलाई नियुक्त गर्ने हाम्रो प्रचलन छ। दिइहाले पनि लैंगिक समानताका नाममा संसारलाई देखाउन वा झारा टार्नसम्म एकाध पदमा राखिने गरिन्छ। हामीमा विद्यमान पुरातन सोचका कारण नै आज पनि महिलालाई भन्सा चलाउने र सन्तान पैदा गर्ने वस्तुका रूपमै परख गरिन्छ। यसरी आज पनि पुरुष समाजबाटै मुखियाको भूमिका निर्वाह हुँदै आएकाले महिलाले पनि काम गर्न सक्छन् भन्ने विश्वास पुरुषले गर्दैनन्।

एसियाली मुलुकमा राजनीतिक क्षेत्रमा महिलाले प्रभावकारी राजनीतिज्ञ पिता, पति वा दाजुभाइ कोही भएको अवस्थामा नेतृत्व पंक्तिमा बसी काम गर्न पाएको देखिएको छ। परिवारवाद भएकै कारण भारतमा इन्दिरा गान्धी र सोनिया गान्धी, श्रीलंकामा बन्दरानायके, पाकिस्तानमा बेनजिर भुट्टो, बंगलादेशमा शेष हसिना र खालिदा जिया सत्ता राजनीतिमा आउन सफल भएका हुन्। अझ अल्पविकसित र अविकसित मुलुकहरूमा महिलालाई आफ्नो पहुँचमा सत्तामा पुग्न झन् कठिन र चुनौतीपूर्ण छ। हिजोआज युरोप र ल्याटिन अमेरिकी राष्ट्रहरूमा नेतृत्वपंक्तिमा महिलाहरू आफ्नै पहुँचमा आउन थालेका छन्।

राजनीतिक दलहरूमा महिलानेत्रीहरू बोल्न र कुनै कुराको दाबी गर्न धक मान्ने गरेको देखिन्छ। त्यसरी बोल्दा दलबाटै बाहिरिनुपर्ने हो कि भन्ने डर उनीहरुले पालेको देखिन्छ। डराउने र धक मान्ने हो भने महिला कहिल्यै माथि आउन सक्दैनन्।

हालै पूर्वउपसमुख भइसकेकी जनजाति महिलाबाट शिवमाया तुम्बहाम्फे संसद्को सभामुख पदमा आफ्नै पहुँचमा पुग्ने बलियो सम्भावना देखिएको थियो। उनी धेरै पढेलेखेकी र अनुभवी पनि थिइन्। केही पुस्तक पनि लेखेकी छन्। कलेजमा अध्यापन गरेर प्राध्यापकको पृष्ठभूमि पनि बनाएकी थिइन्। तर पनि उनलाई पन्छाइयो र सभामुख पदमा एउटा पुरुषलाई स्थापित गरियो।

नेपालमा महिलालाई नेतृत्व तहमा पुग्नबाट पन्छाउने कार्य धेरै ठाउँमा पटकपटक भएका छन्। यसै सन्दर्भमा एकजना समाजसेवी महिलाले संसद्मा सभामुख नियुक्तिको विषयलाई लिएर एउटा भेलामा चर्चा गर्दा भनेकी थिइन्— अब त शिवमायालाई सभामुखको उम्मेदवारीमा खडा गराउने सन्दर्भमा सम्बन्धित दलका महिला पनि मौन बसिदिए। विपक्षी दलकी नेत्रीले दबाब नदिनु त्यसलाई केही हदसम्म स्वाभाविक मानिएला। त्यसैकारण पुरुषहरू आरोप लगाउने गर्छन्- कुनै एउटी महिलाले कुनै क्षेत्रमा फट्को मारेको रहेछ भने अरू महिलाले त्यसलाई ईष्र्या भावले हेर्ने गर्छन्। यो प्रवृत्ति हाम्रो समाजमा मात्र होइन, धेरै अन्य समाजका महिलामा पनि पाइएको छ। यो पक्ष शतप्रतिशत महिला विकासको वाधक हो। जबसम्म महिलाले ती प्रवृत्तिबाट मुक्ति प्राप्त गर्ने प्रयास गर्दैनन् तबसम्म नेतृत्वदायी भूमिका प्राप्त गर्न कठिनाइ हुन्छ।

हाम्रो मुलुकमा कुनै पनि कार्यक्षेत्रमा नियुक्ति गर्दा महिला र पुरुषबीच जहिले पनि भेदभाव नै गरिन्छ। तर महिलाले यही असमान व्यवहारका कारण हीन भावना राख्नु हुन्न। यिनैकारण निराश भई काम गर्न छाड्नु पनि हुन्न। काम निरन्तर जारी गर्नाले अनुभव बढ्दै जान्छ र क्षमतामा वृद्धि हुन्छ। फेरि आफ्नो कामप्रति विश्वास पनि बढेर आउँछ। तसर्थ जस्तै अड्चन आए पनि कामलाई निरन्तरता दिनुपर्छ। यो लगनशीलताबाट प्राप्त अनुभवकै कारण काम गर्न सक्ने क्षमताको पछि मूल्यांकन पनि हुन्छ।

कामकै सन्दर्भमा हुने छलफल वा सोही सिलसिलामा उठेका विवादमा आफ्ना भनाइ तथा समस्या राख्न कहिल्यै पनि पछि हट्नु हुन्न। यस्ता मौकामा आफ्नो क्षमता प्रदर्शन गर्नैपर्छ। छलफलमा मौन बस्ने होइन, हात उठाएर आफ्ना भनाइ राख्नुपर्छ। यसले गर्दा सबैका माझमा परिचित हुन सहज हुन्छ।

महिलाका मूल समस्या भनेको महिला-महिलाबीचमै मेलमिलाप नहुनु हो। केही अपवाद छाडेर अन्यमा सासू-बुहारी, नन्द-भाउजू कहाँसम्म भने कहीं-कहीं त आमा-छोरीको पनि मेल भएको पाइँदैन। भनाइ छ- चारजना महिला भेला भएपछि विवाद हुने गर्छ। विशेषतः महिला-महिलाबीच नै लाउनेखाने र आर्थिक स्तरका विषयमा छिमेकमा बोलचाल नहुने र रिसइबी हुने गरेको पाइन्छ। पुरुष र महिलाका बीचमा बरु त्यति विवाद हुँदैन तर महिला-महिलाबीचमा भने मिलेको देखिँदैन। यसको कारण मनोविज्ञान पनि हो भनिन्छ।

यद्यपि महिलाका समग्र पक्षको विकासका निम्ति उनीहरूबीच मेलमिलाप हुनैपर्छ। समग्र महिलाको विकासनिम्ति महिलाले महिलालाई सहयोग गर्नुपर्छ, चाहे राजनीतिमा होस्, व्यापार वा सेवामा। एउटी महिला अघि बढेकी छन् भने भरसक सबै महिलाले मिलेर सहयोग गर्ने र हौसला बढाउने गर्नुपर्छ। आलोचना गर्ने, खुट्टा तान्ने र ईष्र्याको भावना राख्ने गर्नु हुन्न, चाहे राजनीतिमा विपक्षी दलकी नेत्री नै किन नहोस्। यसमा खुसी नै मान्नुपर्छ समग्रमा महिलाको उन्नति सम्झेर।

निश्चय नै, अर्थ अभावमा मानिसको उन्नति हुँदैन। हाम्रो समाजमा महिलाले जति काम गरी आर्जन गरे पनि त्यो आर्जनको श्रेय मूली पुरुषलाई दिने गरिन्छ। महिलाले घरमा पशुपालन, खेतीपाती र आयआर्जनका काम गर्छन्। त्यसबाट आउने आम्दानी सबै घरको मूली मानिएका पुरुषको खल्तीमा पुग्ने गर्छ। अनि उनीहरू अर्थ अभावमा पिल्सिन बाध्य हुन्छन्। जबकि पैसाले स्वतन्त्रता र इच्छाअनुसार बाँच्न सिकाउँछ। तसर्थ महिलाले आत्मानिर्भर हुन अर्थआर्जन गर्नुपर्छ। भोलि पुरुषबाट धोखा भएमा र परित्यक्त भई यता न उता भएमा त्यही पैसाले आत्मनिर्भर बनाउनेछ। पैसा गलत मार्गबाट कमाउने होइन, सही सत्य पेसाबाट कमाएमा समाजमा प्रतिष्ठा कायम हुन सक्छ।

महिलाले सफलता प्राप्तिनिम्ति आफूभित्रको आत्मविश्वास जगाउनुपर्छ। म केही गर्न सक्दिनँ भनी हीन भावना राख्ने हो भने जीवनमा सफल हुन सकिन्न। तसर्थ जीवनमा केही बन्ने योजना बनाउनुपर्छ। तिनै योजनालाई आफ्नो लक्ष्य बनाई दृढसंकल्पका साथ सफलता प्राप्त गर्ने प्रयास गर्नुपर्छ। समाजमा त्यसै पनि महिलाले गरेका काम रुचाइँदैन र विनाकारण आलोचना गरिन्छ। बरु त्यस्ता आलोचनालाई ध्यान दिनु हँुदैन। आफ्नो सही र सत्य बाटोमा लागी लक्ष्य हासिल गर्ने प्रयास गर्नुपर्छ।

राजनीतिक दलहरूमा महिलानेत्रीहरू बोल्न र कुनै कुराको दाबी गर्न धक मान्ने गरेको देखिन्छ। त्यसरी बोल्दा दलबाटै बाहिरिनुपर्ने हो कि भन्ने डर उनीहरुले पालेको देखिन्छ। डराउने र धक मान्ने हो भने महिला कहिल्यै माथि आउन सक्दैनन्। सही विषयमा बोल्न धक मान्नु हुन्न। शिष्ट भाषामा बोल्ने र तार्किक कुरा प्रस्तुत गर्ने बानी विकास गर्नुपर्छ। यसरी अभ्यास हुँुदै गएपछि बोल्न पनि सकिनेछ। सही र सत्य कुरा छलफलमा राख्दा जब आफ्नो तर्फबाट बोलेका कुरा अरूले सुन्छन् अनि मात्र दलभित्रबाट सम्मान प्राप्त हुन थाल्नेछ। सभा-सम्मेलनमा नबोली मूकदर्शक भई सबै कुरा स्वीकार गर्ने हो र आफ्नो विचार प्रदर्शन नगर्ने हो भने कुनै महत्‍व रहँदैन।

व्यापार होस्, सेवा होस् वा राजनीति होस्, महिलालाई किनारा लगाई एक कुनामा थन्क्याउने प्रयास गरिन्छ। यसविरुद्ध लड्न, भिड्न र संघर्ष गर्न पनि कठिनाइ हुन्छ। महिला प्रथम पंक्तिमा आउने हो भने आफ्ना विषयमा दक्ष बन्ने प्रयास गर्नैपर्छ। निरन्तर समाचार पढ्ने र चौतर्फी कुराको जानकारी राख्नैपर्छ। किनकि यसले ज्ञान बढाउँछ। क्षमताको विकास नभएसम्म मानिस सक्षम बन्न सक्दैन।

कुनै पनि क्षेत्रमा काम गर्दा निर्णय क्षमता वृद्धि हुन जरुरी छ। यसनिम्ति अभ्यासको पनि आवश्यकता हुन्छ। नेपाली महिला पछि पर्ने र निर्णायक पदमा बहाल नहुने कारण शिक्षा अभाव पनि हो। नेपाली महिला केही प्रतिशत साक्षर भए पनि डिग्री प्राप्त गर्नेको संख्या १० प्रतिशत पनि छैन। निर्णय गर्ने क्षमता वास्तवमा रोजगार, राजनीति र सेवामा मात्र चाहिने होइन, घरव्यवहार तथा व्यापार-व्यवसायमा पनि आवश्यक पर्छ।

महिलाको गम्भीर चुनौती भनेको स्वास्थ्य हो। स्वास्थ्य ठीक नभए काम गर्न कठिन हुन्छ। त्यसका लागि पनि स्वस्थ्यबारेमा चनाखो रहनैपर्छ। तसर्थ स्वस्थकर भोजन गर्ने, शारीरिक अभ्यास गर्ने गर्नुपर्छ। तर बढी चिन्ता र कामको बोझ उठाउन भने हुन्न।

महिलामा सन्तानको लालनपालनको जिम्मेवारी रहन्छ। यो गहन जिम्मेवारीले महिलालाई अन्य काममा वाधा पुर्‍याएको हुन्छ। यस काममा घरपरिवार, श्रीमान् र समयले साथ दिएमा घरबाहिर निस्केर केही समय काम गर्न सरलता आउने छ। यो वातावरण बनाउन अरू महिलाले पनि सहयोग गर्न आवश्यक छ।

महिला समाजले आफ्नो सम्मान बढाउन आफ्ना वरिपरिका महिला मित्रहरूले गरेका कामबारेमा प्रशंसा गर्नुपर्छ। त्यसबाहेक तिनको साहस र हौसला बढाउन आवश्यक छ। यसले महिलाको मनोबल बढेर आउँछ। कुनै महिलालाई अन्याय परेमा उसलाई न्याय दिलाउन संगठित रूपमा सक्रिय हुनुपर्छ। यसरी संगठनात्मक रूपमा गरेको सहयोगले पीडितमा हौसला बढाउँछ।

कोही महिला गरिब र असहाय रहेछन् भने, आवास नभएका वा असुरक्षित अवस्थामा रहेछन् भने समाजका, कुनै पनि दलका, अन्य क्षेत्रका आम महिलाले हैसियतअनुसार धेरथोर धनराशि जम्मा गरेर भए पनि सहयोग पुर्‍याउने संस्कार बसाउनुपर्छ। यसरी नै महिलाको कष्ट महिलाले बुझ्न सम्भव हुन्छ।

हिजोआज अनलाइन आदि प्रयोगले केटीहरूमा नकारात्मक प्रभाव परेको देखिन्छ। समाजका महिला सदस्यहरू मिलेर आफ्ना वा छरछिमेकीका छोरीलाई त्यस्ता कार्यक्रम हेर्नबाट रोकी अध्ययन, संगीत, खेलकुद, कला पेन्टिङतर्फ आकर्षित गराउने वा तिनका रुचि अन्य विधामा मोड्नेतर्फ पाइला चाल्नुपर्छ। फेसन आदिले युवतीमा नकारात्मक सोच र खर्च गर्ने प्रवृत्ति बढाएकाले तिनलाई सचेत गराउने र मितव्ययी बन्न सल्लाह दिने गर्नुपर्छ।

महिलाविरुद्ध हुने लैंगिक हिंसा, हत्या, पीडा र उत्पीडितविरुद्ध भेदभाव नगरी सामूहिक रूपमा लड्नुपर्छ। महिला हिंसा बढ्नुमा उनीहरूबीच एकता अभाव नै हो। प्रहरीले राम्रो अनुसन्धान गर्दैन। राज्यले ध्यान दिँदैन र जहिले पनि गरिब, विपन्न र असहाय महिलाविरुद्ध अपराध हुने गर्छ। यस्ता अपराध गर्ने व्यक्ति सम्पन्न पुरुष छ भने समाज उसैका पक्षमा लागेर दबाब-प्रभावका आधारमा महिलालाई अन्याय र पीडा भोग्न बाध्य गराएको देखिन्छ। यस्तो मामलामा समाजका महिला एक हुनैपर्छ।

आफूवरिपरिका मित्रहरूलाई साहस दिलाउने कोही छोरी छन् भने उनीहरूलाई खेलकुद, अध्ययन, संगीत वा कुनै चाहना भएको क्षेत्रमा जान हौसला दिने गर्नुपर्छ। महिलानिम्ति सहयोगी हुनुपर्छ। अन्यायविरुद्ध सबै मिलेर लड्न र कामको प्रशंसा गर्न जरुरी छ महिलालाई माथि उठाउने हो भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.