जुट्दै तयारीमा

जुट्दै तयारीमा

चैत महिना नजिकिँदै गर्दा विद्यार्थीमा परीक्षाको तनाव बढ्दै जान्छ। विद्यार्थी मात्र होइन, कसरी उत्कृष्ट नतिजा ल्याउन सक्षम बनाउने भन्ने चिन्ता विद्यालयलाई पनि उत्तिकै हुन्छ। त्यसैगरी एसईई दिनेका लागि हिजोआज प्रायःले बिहान बेलुकी विद्यालयमै कोचिङ कक्षा सञ्चालन गरिरहेका छन्। आफ्ना विद्यार्थीले कसरी राम्रो नतिजा ल्याउन सक्लान् भन्ने सोचमा विद्यालयले अनेकन उपाय लगाएर परीक्षा तयारी गराइरहेका छन्।

बालाजुस्थित ज्ञानमन्दिर माध्यमिक विद्यालयले परीक्षा तयारीका लागि ‘कोर्स रिभिजन’मा विशेष जोड दिइरहेको छ। शैक्षिक सत्रको अन्तमा मात्र नभई सत्रको सुरुआतदेखि नै रिभिजन कार्य गर्दै आएको विद्यालयका प्रधानाध्यापक रविन बस्नेतले बताए। ‘हामीले पढाइ सुरु भए पनि प्रत्येक पाठ पढाइसकेपछि परीक्षा लिँदै आएका छौं’ उनी भन्छन्, ‘यसले गर्दा सत्रको अन्तमा आएर विद्यार्थीलाई बढी प्रेसर हुँदैन र स्वतः रूपमा तयारी हुन सक्छ।’

यति हुँदाहुँदै पनि अन्तिम परीक्षाले विद्यार्थीको मूल्यांकन गर्ने भएकाले अन्तिम परीक्षाका बेलामा केही कमजोर विद्यार्थीका लागि कोचिङ कक्षा पनि सञ्चालन गरिरहेको उनी बताउँछन्।

विद्यार्थीको हौसला विद्यार्थीबाट नै बढोस् भनेर जान्ने विद्यार्थीबाटै कमजोर विद्यार्थीलाई आफूले जानेको कुरा भन्न लगाउने बताउँदै उनी भन्छन्, ‘कक्षाकै सबैभन्दा जान्ने विद्यार्थीलाई पढ्ने तरिका र जानेको कुरा सिकाउन लगाउँछौं। ता कि दुवै खाले विद्यार्थीमा एक प्रकारको आत्मबल र हौसला बढोस्।’

विद्यार्थीको वास्तविक मूल्यांकन लिखित परीक्षाले मात्र नहुने भएकाले विद्यालयले प्रयोगात्मक पक्षमा पनि जोड दिइरहेको उनी बताउँछन्। बस्नेत भन्छन्, ‘विद्यार्थीको लेखाइमा मात्र नभई प्रयोगात्मक पक्षमा पनि विशेष जोड दिन्छौं।’ उनले भने, ‘रिजल्टलाई मात्र नहेरेर उनीहरूको समग्र व्यवहार र संस्कारका कुरालाई पनि प्रयोगात्मक तरिकाले हेर्दै मूल्यांकन गर्छौं।’

एसईईका बारेका सबैलाई चासो हुने भएकाले कक्षा १० का विद्यार्थीलाई पाठ्यक्रमअनुसारका नमुना प्रश्नहरू लिई धेरैभन्दा धेरै अभ्यास गराइरहेको बताउँछन् बस्नेत। उनी भन्छन्, ‘नमुना प्रश्नहरूबाट परीक्षा गराउने काम अहिले अलि बढी मात्रामा गरिरहेका छौं। तर, विद्यार्थीलाई झर्को लाग्ने तरिकाले जबर्जस्ती भने गरेका छैनौं।’ धेरै विद्यार्थीले आफूले मेहनत नगरी साथीहरूको कापीबाट सारेर नोट बनाउने गर्छन्। त्यस्ता विद्यार्थीलाई पनि शिक्षकहरूले त्यसो नगरी आफैं मेहनत गर्न सुझाउने गरेका छन्।

पहिले परीक्षा भन्ने बित्तिक्कै विद्यार्थीलाई पिटेर, धम्काएर, घोकाउने, रटाउने खालको प्रवृत्ति देखिन्थ्यो। तर, अहिले यो कम हुँदै गएको छ। विद्यार्थीको मूल्यांकन त निरन्तर हुनुपर्ने बताउँछन् शान्तिनगरस्थित बेबीलोन स्कुलका प्रधानाध्यापक राजु राई।

अहिले विद्यार्थीलाई एसईईको नमुना प्रश्नपत्रका आधारमा धेरैभन्दा धेरै परीक्षा लिएर अभ्यास गराइरहेको उनी बताउँछन्। हाम्रो देशको परीक्षा प्रणालीले प्रयोगात्मक पक्षलाई बढी जोड दिने भनिए तापनि अन्ततः त्यही तीनघण्टे लिखित परीक्षालाई बढी प्राथमिकता दिने भएकाले विद्यार्थीलाई पढाइ र लेखाइमा नै विशेष जोड दिइने उनको भनाइ छ। उनी भन्छन् ‘विद्यालयमा त हामीले प्रयोगात्मक पक्षलाई बढी प्राथमिकता दिन्छौं।’

हाल विद्यालयले गणित, विज्ञानलगायतका विषयमा पालैपालै एकदुई वटा अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ। उनी भन्छन्, ‘हामीले विद्यार्थी घोकाउनु हुँदैन भन्छौं। तर, हाम्रो मूल्यांकनको शैली नै घोकाउने र घोकाएको कुरा ओकल्न लगाउने खालको छ।’ बेबीलोनले अहिले विशेष गरी विषयगत विशेषज्ञहरू बोलाएर सम्बन्धित विषयमा विद्यार्थीलाई परामर्श दिने गरेको छ।

एसईईलगायत अन्य कक्षाको सत्रान्त परीक्षाको तयारीमा जुटेको छ नक्खुस्थित सुदेशा स्कुल। विद्यालयले परीक्षालाई मध्यनजर गर्दै हरेक दिन परीक्षा लिइरहेको प्रधानाध्यापक वीरंगना महर्जनले बताइन्। ‘हामीले हरेक दिन च्याप्टरवाइज परीक्षा गराइरहेका छौं’ उनले भनिन्, ‘परीक्षाको बेला विद्यार्थीलाई एकैचोटी तयारी गर्न गाह्रो हुने भएकोले अहिलेदेखि अभ्यास गराइरहेका छौं।’

सुदेशामा कक्षा ५ सम्म परीक्षा नै हुँदैन। विद्यार्थीको मूल्यांकन उनीहरूको अतिरिक्त क्रियाकलाप अर्थात् निरन्तर विद्यार्थी मूल्यांकनअन्तर्गत रहेर समूह कार्य, नियमित उपस्थिति, व्यवहार, गृहकार्य, कक्षा कार्य, कक्षा प्रस्तुति आदिका आधारमा गर्ने गरिएको महर्जनले बताइन्। उनले भनिन्, ‘कक्षा ५ सम्म परीक्षा लिँदैनौं। तर, कक्षा ६ र ७ मा पनि ५० पूर्णांकको मात्र गर्र्छौं।’

परीक्षाका समयमा विद्यार्थीलाई त्यसै पनि तनाव भइरहेको हुन्छ। यस्ता अवस्थामा उनीहरूलाई उचित परामर्शको खाँचो हुन्छ। उनका अनुसार विद्यार्थीमा त्यस्ता बोझ नहोस् भनेर विद्यालयले विद्यार्थीलाई अंकमा फोकस गराउनुभन्दा सिकाइमा फोकस गराउने गरेको छ। उनी भन्छिन्, ‘हामीले विज्ञान र गणितका लागि भने दिनको एक घण्टा एक्स्ट्रा पढाइरहेका छौँ।’

यसका साथै विद्यार्थीले घरमा कति पढ्ने, उनीहरूको पढाइ अझै कसरी सुधार गर्नेलगायतका विषयमा विद्यालयले अभिभावकसँग निरन्तर छलफल गरिरहेको छ।

निजी विद्यालय मात्र होइन सामुदायिक विद्यालयमा पनि वार्षिक एवं एसईई परीक्षाको तयारी जोडतोडले भइरहेको छ। ललितपुरको कोन्ज्योम २, शंखुस्थित मगरगाउँ माविमा एसईईलाई केन्द्रित गरेर अंग्रेजी, विज्ञान र गणितको कोचिङ कक्षाहरू सञ्चालन भइरहेको छ। त्यसमा पनि जान्ने र नजान्ने विद्यार्थीको समूह छुट्ट्याएर त्यसैअनुसार उनीहरूलाई सिकाउँदै आएको विद्यालयका अंग्रेजी शिक्षक प्रेमबहादुर ऐर बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.