प्रजातन्त्रका पक्षमा गिरिजाप्रसादले मोलेको त्यो जोखिम

प्रजातन्त्रका पक्षमा गिरिजाप्रसादले मोलेको त्यो जोखिम

‘प्रजातन्त्रका लागि यो मेरो जीवनको अन्तिम लडाइँ हो, मेरो इच्छा छ कि अब मैलेजस्तो जीवनभर भावी पुस्ताले प्रजातन्त्रका लागि लडिरहन नपरोस्। फेरि कसैले पनि खोस्न नसक्ने पूर्ण प्रजातन्त्र स्थापना भयो भने मलाई पुग्छ। यो बूढो गिरिजाप्रसाद प्रजातन्त्रका लागि जीवन बलिदान गर्न तत्पर छ।’

०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा आन्दोलन मोर्चाका कमान्डर गिरिजाप्रसाद कोइरालाले भनेको यो वाक्य सार्थक भयो। राजासँगको लडाइँमा उनको जित भयो।

प्रतिनिधिसभा पुनस्र्थापनाको एकल एजेन्डासहित दुईतीन सय कार्यकर्ता लिएर सडकमा भांैतारिरहेका गिरिजाप्रसाद सबैका आलोचनाका पात्र बने, धेरैले कोइरालालाई उल्याए पनि। तैपनि उनी आफ्नो मागमा टसको मस भएनन्। एक्लै भए पनि लडिरहन्छु भन्ने मान्यतामा अडिग रहे। पार्टीभित्रैबाट पनि सहयोग पाएनन्। शेरबहादुर देउवा त छुट्टै कांग्रेस बनाएर सभापति भएर हिँडेका व्यक्ति चासो पनि भएन, प्रजातन्त्र रहे रहन्छ नरहे रहँदैन।

राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ को मध्यरातमा प्रधानमन्त्री रहेका शेरबहादुर देउवाको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर असोज १८ गते निर्वाचित सरकार अपदस्थ गरेको घटनाले कोइरालालाई पोलिरहेको थियो। २०६१ माघ १९ गतेपछि आफू नै मन्त्रिपरिषद्को अध्यक्ष रहने गरी ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि कोइराला झनै दबाबमा परे। अनि सुरु भए कोठे बैठक। आफूले सत्ताको नेतृत्व गरेका बेला सबैतिरबाट असफल बनाउने प्रयासस्वरूप चौतर्फी आक्रमण गर्ने कम्युनिस्टप्रति कटु आलोचक रहेका कोइरालाको धारणा राजाको शैलीले बदलिदियो। गैरप्रजातन्त्रवादीको मन परिवर्तन गराएर आफ्नो नेतृत्वमा एमालेसहित ६ दललाई राजाको प्रतिगमनविरुद्ध सडकमा उभ्याए। ०६३ चैत २० गतेबाट त सशस्त्र विद्रोहमा रहेको माओवादीलाई पनि प्रतिनिधिसभा पुनस्र्थापनाको मागमा सहमत गराए। हतियार छाडेर कोइराला नेतृत्वको मोर्चामा सडकमा उभिन माओवादी पनि तयार भए। त्यसैको १९ दिनपछि राजा प्रतिनिधिसभा पुनस्र्थापना गर्न बाध्य भए। त्यसैको जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो।

चर्चित र विवादास्पद छविका मानिने कोइरालाको अडानकै प्रतिफल थियो माओवादीको शान्तिपूर्ण अवतरण। शान्ति प्रक्रिया असफल भएको भए उनको साठीबर्से राजनीतिक इतिहासमा कालो पोतिने थियो। कोइरालाले कसैका कुराको वास्ता नगरी शान्तिसम्झौतामा हस्ताक्षर गरे। यो साहस र आँटको उच्चतम अभ्यास थियो। आज कांग्रेसले नाम लिन नचाहे पनि पुष्पकमल दाहाल कोइरालाको नाम जपिरहेका छन्, सकारात्मक–नकारात्मक जुन रूपमा भए पनि।        

०००

कम्युनिस्टका प्रखर आलोचक हुन् कोइराला। २०४८ को निर्वाचनका क्रममा देशव्यापी सभामा हिँड्दा कम्युनिस्टको तीखो आलोलना गरे। माले, मसाले र मण्डले एकै हुन् भन्दा उनीमाथि आक्रमणका प्रयास भए। तर त्यसको प्रवाह नगरी हिँडिरहे। हामीलाई लाग्थ्यो, २०४६ मा कांग्रेस–कम्युनिस्ट मिलेर एकीकृत क्रान्ति गरे, सफल पनि भए, अब मिलेर जान्छन्। यहाँनेर स्मरण गर्नुपर्छ ०३६ सालमा पनि पुष्पलाल कांग्रेससँग मिलेर आन्दोलन गर्नुपर्छ भन्ने मनस्थितिमा थिए तर बीपी कोइरालाले मानेनन्। बीपीमा कम्युनिस्टप्रति विश्वास गरिहाल्न हुँदैन भन्ने मान्यता थियो। गिरिजामा पनि बीपीको त्यही गुण हाबी देखिन्थ्यो। तर त्यो मान्यता र वितृष्णा दबाएर कोइरालाले हत्या र हिंसाको राजनीतिमा रहेको माओवादीसँग शान्ति सम्झौतामा हस्ताक्षर गरे।

एमालेले आफ्नै हैसियतबराबर बनाएर माओवादीलाई प्रतिनिधिसभामा ल्याएर एमाले सिध्याउन लाग्यो भनेर कोइरालाको तीव्र आलोचना भयो। आफ्नै पार्टीभित्रबाट पनि सहयोग पाएनन् उनले। तैपनि संविधानसभा निर्वाचन गराएरै छाडे। पार्टीलाई हराएर पनि देशलाई जिताए। बाह्रबुँदे सही वा गलत के थियो त्यो इतिहासले मूल्यांकन गर्ने विषय हो तर मान्छे मार्ने क्रम अन्त्य गरेर शान्ति स्थापनामा उनले खेलेको भूमिकाकै प्रतिफल संसारले ‘शान्ति नायक’ को उपमा दियो। बाह्रबुँदे नयाँदिल्लीमा नभएर रोल्पामा गरेको भए सायद शान्ति नायकको उपमा सार्थक हुने थियो कि, राष्ट्रियता र प्रजातन्त्र अहिलेजस्तो कमजोर हुँदैनथ्यो कि भन्ने टिप्पणी पनि विभिन्न कोणबाट उठिरहेका छन्।

बाह्रबुँदेकै परिणामले देशलाई असफल राष्ट्र बनाउने त होइन भन्ने तर्क पनि यदाकदा सुनिन्छ। प्रदेश सरकारका क्रियाकलापले संघीयताको अभ्यासमा प्रश्न उठ्न थालेका छन्। बाह्रबुँदेका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दाहालका कोइरालाप्रतिका पछिल्ला टिप्पणीले राजनीतिक स्थिरतामा प्रश्न उठ्न थालेका छन्। जीर्ण प्रधानमन्त्री केपी ओलीप्रतिको घेराबन्दी र कोइरालाबाट आफूहरूलाई सशस्त्र संघर्षमा सहयोग नै भएजस्तो गरेर आएका दाहालका टिप्पणीले शान्तिसम्झौतामै प्रश्न उठाउने प्रयास भएको छ। सायद दाहालको कार्यकारी राष्ट्रपतिको सपना पूरा हुन नसक्ने भएकाले हुनसक्छ।

हुन त बाह्रबुँदे तत्कालीन राजा ज्ञानेन्द्रकै महत्वाकांक्षी शासनको उपज थियो, समयसापेक्ष प्राप्त भएको नेतृत्व र शासन सत्ता चलाउन नसक्नेहरूको दोष सिंगो जीवन प्रजातन्त्र स्थापनामै होमेका कोइरालामाथि थोपर्दा उनीप्रति न्याय गरेको ठहरिँदैन।

हो, राजा आफ्नै कारणले गए। प्रजातन्त्र शब्दले सधैं निराश बनाइरह्यो। राजा, संघीयता र धर्मनिरपेक्षतामा जनमतसंग्रह हुनुपर्छ भन्ने आवाज पछि मात्र झीनो रूपमा उठाइएका हुन् दरबारियाबाट। एक हिसाबले यी तर्क बेठीक थिएनन्। दुईचारजना नेता बसेर गरेको निर्णयले इतिहास बदलिँदैन पनि। तर क्रान्तिका बेला आदर्श र सिद्धान्त फिका हुँदा रहेछन्। सिंगो जनमत क्रान्तिका पक्षमा वकालत गर्न सडकमा ओर्लिरहेका बेला नियम–कानुनको अर्थ पनि हुँदैन। यस्ता बहसलाई क्रान्तिले मान्ने पनि थिएन।

आलोचनाको सिकार बन्दै आएका कोइरालामाथि राजाको वंशनाश हुँदा आक्रमण प्रयास भए। माओवादीविरुद्ध होलेरी घटनामा दरबारको भूमिकाप्रति कोइराला आशंकित थिए। राजा र जनताबीचको लडाइँमा जनताले हारेको इतिहास नभएको भन्दै कोइरालाले प्रतिगमनविरुद्धको आन्दोलनमा प्रजातन्त्रका विपक्षमा गए राजतन्त्र समाप्त हुन सक्ने संकेत दरबारलाई दिँदै आएका थिए। तैपनि राजासंस्था फाल्ने उनको ध्येय थिएन। उनी अन्तिमसम्म बेबी किङसम्मको अवधारणामा जानुपर्छ भन्दै थिए। यस्तो अवधारणामा असहमत माओवादीहरू तत्कालीन राजा वीरेन्द्रसँग कार्यगत एकता थियो भन्न पनि पछि परेनन्।

राजा र माओवादी मिले भने प्रजातन्त्र सधैंका लागि खाइदिन्छन् भनेरै गिरिजाले संशकिंत भएर माओवादीसँग मिल्न तयार भएका हुन्, यो सबै पूर्ण प्रजातन्त्रको अभ्यास थियो। संसदीय व्यवस्थाको विरोध र आफ्नो पार्टीलाई प्रधान शत्रु ठान्ने माओवादीलाई बरु प्रजातन्त्रको मूलधारमा ल्याउँछु भनेर राजसंस्था फाल्ने निर्णयमा बाह्रबुँदे गर्न सहमत भए। राजाले माओवादीसँग मिलेर प्रजातन्त्र खान खोज्दा कोइरालाले नै कम्युनिस्टलाई नै प्रजातान्त्रिक बनाए। प्रजातन्त्रका पक्षमा यति ठूलो जोखिम मोल्न सक्ने साहस भएको व्यक्तिका रूपमा कोइरालाको इतिहासले मूल्यांकन गर्नेछ। सँगसँगै पार्टीमा बहुमत हुँदाहुँदै मध्यावधि निर्वाचन, प्रधानमन्त्री रहेकै बेला दरबार हत्याकाण्ड, संविधानसभा चुनाव र राजतन्त्रको बिदाइसँग पनि कोइरालाको नाम अवश्य जोडिनेछ।

०००

सिंगो जीवन प्रजातन्त्रको लडाइँमा खर्चिएर बितिसकेका कोइरालाबारेमा भए–नभएका कुरा बोलेर उत्ताउलो बन्ने छुट कसैलाई हुनु हुँदैन। कोइरालाहरूको इतिहास कसैले बनाइदिएको होइन, उनीहरूकै संघर्षको उपज हो। कृष्णप्रसाद कोइरालाको सिंगो परिवार राजनीतिमा थियो। आज वंशवादको कुरा उठाएर कोइरालाहरूलाई उँभो लाग्न दिनु हुँदैन भन्ने तर्क आइरहन्छन्। आज कांग्रेस स्थापित भइरहनुमा बीपी र जीपीको योगदान उच्च छ। आफ्नो नामबाट भविष्यको कांग्रेस चलाउने हैसियत अहिलेको नेतृत्वले राख्दैन। नेता यस्तो होस्, जसको नाम पुस्तौंपुस्तासम्मले लेओस्। मरेको भोलिपल्टदेखि बिर्सिइने पात्रको राजनीति हावी भएको कांग्रेसमा जिम्मेवार कार्यकर्ताले फेरि विद्यमान नेतृत्व दोहोर्‍याउने धृष्टता गरे भने प्रजातन्त्र, पार्टी र देशकै लागि अभिशाप हुनेछ। अरूकै त्याग, तपस्या र अठोटको कमाइ खाएर गरिएको राजनीतिले आफ्नो साख बच्दैन भन्ने चेतना नेतृत्वपंक्तिमा नपलाए पनि भविष्यमा उन्नत कांग्रेस देख्न चाहने युवामा परिवर्तन आउन आवश्यक छ प्रजातन्त्राको रक्षार्थ पनि। वंशवादको नाम जोडेर कोइरालाहरूलाई निषेध गर्ने शैलीले बीपीको अपमान त हुन्छ नै, जीपीप्रति पनि ठूलो अन्याय हुनेछ। केही स्वार्थसमूहकै अस्तित्व रक्षाका लागि इतिहास रछ्यानमा पुर्‍याउने हक कसैमा हुनु हुँदैन। अब बीपी र जीपीको इतिहासमै रमाएर बस्नु हुँदैन, सिंगो मुलुक हाँक्नसक्ने नेता जन्मिनुपर्छ।

०००

चर्चित, विवादास्पद र लोकप्रिय पात्र कोइराला जहाँजहाँ जान्थे त्यो ठाउँमा हलचल आउँथ्यो। उनले जे बोल्थे, हरेक शब्द समाचार बन्थे। प्रजातन्त्रको मूल्यलाई जीवनभन्दा माथि राखेका थिए। मानव अधिकारप्रति त्यत्तिकै सचेत थिए कोइराला। सशस्त्र प्रहरीको अवधारणा ल्याइएका बेला सशस्त्र प्रहरीलाई मार्सल आर्टको तालिम दिँदा मानव अधिकार उल्लंघन त हुँदैन भनेर चिन्तित बनेका थिए।

निरन्तर काममा लागिरहने ‘वर्कोहलिक’ नेता थिए गिरिजाप्रसाद। कार्यकर्ता संरक्षण गर्ने खुबी थियो। प्रत्येक नेतासँग व्यक्तिगत एक्सेस राख्थे। आफूभन्दा पछिल्लो पुस्ताका नेता र बौद्धिक व्यक्तिका घरघरमा पुग्थे, कहिले सूचना दिएर त कहिले नदिएरै। त्यसले असल संस्कारको विकास गराउँथ्यो। नेतृत्वमाथि आस्था पनि जगाउँथ्यो। नेतृत्वपंक्तिमा उभिएका अर्जुननरसिंह केसीबाहेक कोइरालाको यो संस्कारको फलो गर्ने सायद कोही पनि देखिँदैन यतिबेला कांग्रेस राजनीतिमा।

हरेक निर्णय गराउनुअघि आफ्नो ‘कोटरी’ भित्र एउटा दृष्टिकोण छाड्ने र विश्वासपात्रमा छलफल गराएर निर्णयमा पुग्ने गिरिजाप्रसादको विशेषता थियो। त्यसैले त कतिपय निर्णयमा विवादित बने। मध्यावधि निर्वाचनमा जाने निर्णय उनी स्वयं र पार्टीका लागि पनि हितकर बन्न सकेन। बीपी आफ्नो एजेन्डा पब्लिकमा छाडिदिने। रियाक्सन जे आउँछ त्यसपछि आफ्नो धारणा बनाउने गर्थे रे। त्यसैले बीपीलाई आदर्श व्यक्तिको उपमा दिइयो भने गिरिजालाई पब्लिक ओरियन्टेड नेता मात्र। यहाँनेर स्मरण गर्नुपर्छ– गिरिजाप्रसाद मध्यावधिमा जानुको सट्टा संसदीय दलको निर्वाचनमा गएर बहुमत सिद्ध गर्न सकेका भए सायद कांग्रेस आजको परिस्थितिमा आइपुग्ने थिएन कि ? गद्दार गिरिजा भन्नेहरूका ‘महानायक’ बने यद्यपि त्यो महानायकको पदवी पुष्टि हुन बाँकी नै छ। हो, शान्तिसम्झौतापछि सबैका साझा नेता बने, तर बाँचुञ्जेल आफ्नो सपना पूरा गर्ने उत्तराधिकारी बनाउने प्रयासै गरेनन्। उनले राम्रैका लागि यो अभ्यास थालेका थिए तर आफूलाई कोइरालाको उत्तराधिकारी हुँ भन्नेले पनि उनले देखाएको बाटो नहिँडेकाले पनि कांग्रेस इतिहासमै कमजोर सावित भएको त होइन ?

२०४८ निर्वाचनपछि भर्खरै प्रधानमन्त्री भएका बेला राजा वीरेन्द्रसँग कोइरालाले भनेका थिए, ‘महाराजसँग शासनसत्ताको लामो अनुभव छ, प्रजातन्त्र बहालीका लागि हामी पनि लामो समय लडेका छौं, प्रजातन्त्र र विकासलाई सँगसँगै लिएर जान महाराजले सघाउनुपर्‍यो।’ गिरिजाप्रसादको राजासँग हिमचिम थियो भन्नेहरू पनि थिए÷छन्। सत्याग्रह किन गर्ने (? ) भनेर उनले बारम्बार गर्थे रे। त्यतिबेलाका प्रखर कानुनव्यवसायी गणेशराज शर्मासँग उनको मत मिल्नुको कारण पनि यही थियो भन्नेहरू पनि छन्। त्यही सत्याग्रहको विरोध गर्नेहरू अहिले पनि पार्टी सत्तामा भएकाले कांग्रेस कमजोर बनेको आकलन गर्नेहरूको संख्या पनि कम छैन। अहिले पार्टी नभई व्यक्ति संस्थागत हुने प्रवृत्ति बढ्यो। व्यक्ति संस्थागत हुने ध्येयकै प्रतिफल हो, यतिखेरको कांग्रेस विवाद। प्रजातन्त्रका नाममा शासन सत्ता आफूअनुकूल चलाउने प्रवृत्ति हिजोदेखि नै मौलाएको हो। कोइरालाले आफू बाँचुञ्जेल पार्टीलाई मात्र होइन, सिंगो राजनीतिलाई आफ्नै वरिपरि घुमाउने सामथ्र्य राखे तर आज नेतृत्वले एउटा गुट चलाउने हैसियत पनि राख्दैन।

०००

गिरिजाप्रसाद वैयक्तिक धारमा जत्तिकै क्रान्तिकारी सामाजिक धारमा पनि देखिए। दुई सन्तानकी आमा सुष्मालाई विवाह गरेर ल्याउनु कम चुनौतीपूर्ण थिएन। उनको विवाह नै रुढिवादी सामाजिक चिन्तनको विपक्षमा थियो, तत्कालीन अवस्थाका लागि क्रान्तिकारी निर्णय। राजनीतिमा लागेर सबै समान भन्दै जनमत बटुल्नुपर्ने व्यक्तिका लागि त्यो चिन्तन ठूलो राजनीतिक फट्को बनिदियो।

व्यक्तिगत जीवन सरल र सामान्य देखिन्थ्यो। कोइरालाको जीवनमा बडप्पनले कहिल्यै ठाउँ पाएन। विलासितासँग उनको उठबस भएन। व्यावहारिक जीवनमा कहिल्यै उत्ताउलो भएनन्। केक काटेर जन्मोत्सव मनाउने काम पनि गरेनन्। मनमा अशान्ति भए विराटनगर गएर ग्य्रान्ड डिजाइनका कुरा गरेर फर्कन्थे। प्रधानमन्त्री हुँ म, मैले जे गरे पनि हुन्छ भन्ने भावना उनमा कहिल्यै पलाएन। उनकै विरोधीले गरेका गलत प्रचारलाई वास्ता पनि गरेनन्। हो, छोरीको राजनीतिक भविष्यको भने उनमा चिन्ता लागेको पाइन्थ्यो उत्तरार्धमा। स्वाभाविक हो, इतिहास बनाएको परिवारले आफ्नो उत्तराधिकार राजनीतिमा स्थापित होस् भनेर चाहँदैमा आलोचनाको पात्र बनाइनु हुन्न पनि।

०००

व्यक्ति, सिद्धान्त र पार्टीभन्दा देश र जनता ठूलो हो भन्ने कोइरालाको मान्यताकै कारण माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन सम्भव भएको हो। हो, सबै काम एउटै व्यक्तिले गरेर जान सक्दैन। उसले बाटो देखाउने हो, त्यो बाटोमा हिँड्न नसक्नेले बाटो देखाउनेलाई गाली गरेर दायित्व पूरा हुँदैन। प्रजातन्त्र र विकास सँगसँगै हिँडाउनुपर्छ न कि प्रजातन्त्र र लुटतन्त्र।

कोइरालाहरूले छाडेको संस्कारकै कारण कांग्रेसलाई माया गर्ने ठूलो बौद्धिक समूह छ। आस्थाका आधारमा पार्टीलाई सघाउने र विश्वेश्वरलगायत दिवंगत शीर्षनेताका नाममा भोट हाल्ने समूहको अझै बाहुल्य छ। त्यो समूहको मतले मात्र अब पुग्दैन। किनकि यतिखेरको मतदान गर्ने पुस्ताका अधिकांशले बीपी, गणेशमान, किसुनजी, गिरिजा चिन्दैन। युवा पुस्तालाई कांग्रेससँग साक्षात्कार हैसियत गगन, विश्वप्रकाशहरूले मात्र राख्न सक्ने आवाज मुखरित भएका छन्। मुलुकले पनि पार्टीका सीमित कार्यकर्ताको नजरको नेता होइन, आगामी पुस्ताले पनि सम्झिरहने नेता खोजेको छ। त्यसका लागि वैचारिक स्पष्टता र जनतामा आवश्यकता महसुस भएका नेता छान्न सक्यो भने त्यो पार्टीको भविष्य सुरक्षित रहन सक्छ। दुईतिहाइ बहुमतको भनिएको सरकारले सही दिशा दिन नसक्दा अस्थिरता संसारव्यापी भएको कोरोना भाइरसजसरी मडारिरहेको छ। यस्तो अवस्थामा नयाँ दृष्टिकोण र कार्यक्रमसहित नीति प्रधान भएर पार्टी चलाउने कसमसहित जनतामाझ जाने आँट युवापुस्ताले देखायो भने ऐतिहासिक पार्टीको छवि जोगिनेछ र गिरिजाप्रसादप्रति पनि सच्चा श्रद्धाञ्जली हुनेछ नत्र असान्दर्भिक नेतृत्वपुस्ताले हिँड्दै आएको प्रजापरिषद्को बाटोको यात्रा कसैले रोकेर रोकिने छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.