संसद्‍मा सरकारको 'नैतिकता' खोज्‍दै देउवा, प्रधानमन्त्रीको 'राजीनामा' माग्दै बाबुराम

संसद्‍मा सरकारको 'नैतिकता' खोज्‍दै देउवा, प्रधानमन्त्रीको 'राजीनामा' माग्दै बाबुराम

काठमाडौं : शुक्रबार संघीय संसद्को बजेट अधिवेशनको सुरु भएको छ। अधिवेशनको पहिलो दिन विपक्षी दलका नेता सरकारप्रति आक्रामक देखिए।  प्रमुख विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताले सरकारको चर्को आलोचना गरे। देउवाले सरकारले नैतिकता गुमाएको टिप्पणी गर्दा बाबुरामले प्रधानमन्त्रीको राजीनामा मागे। उता नेता महतोले दुई तिहाइको सरकारको मूल्य दुई कौडीको नभएको टिप्पणी गरे। वर्षे अधिवेशनको पहिलो दिन सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताले सम्बोधन गरेका हुन्। विपक्षी दलका नेताले सरकारको चर्को आलोचना गर्दा सत्तापक्षका नेता सुवास नेम्बाङले कोरोनासँग लड्न सबै एक हुनुपर्नेमा जोड दिए। कोरोना भाइरसबाट जोगिन भौतिक दूरीसहितको बसाइ, मास्क र कोरोना संक्रमण नभएको सांसदको रिपोर्टसहित शुक्रबारको बैठक बसेको हो ।

अर्को बैठकदेखि प्रतिनिधिसभामा प्रि–बजेटमाथि छलफल हुनेछ । त्यसैगरी राष्ट्रियसभाको अर्को बैठक पनि वैशाख २८ गते बस्नेछ । 
कुन नेता के बोले ?

सरकारले राजनीतिक र नैतिक आधार गुमायो : देउवा

 देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको आरोप लगाए।  देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण र यसले सबैभन्दा पीडित पक्ष बनेकाको दुःख सरकारले देख्न नसकेको, स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार गरेको  भन्दै सरकारको आलोचना गरेका हुन्। 

‘सरकारले कोरोना नियन्त्रणका लागि रणनीति नै बनाएको छैन। अत्यन्त विषम अवस्थामा भ्रष्टाचारको विषय सर्वाजनिक हुनु सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकालापमा देखिन्छ। यो अवस्थामा सांसदको अपहरण हुनु  अवाञ्छनित र अपराधिक गतिविधि स्वीकार्य हुँदैन’, देउवाले भने, ‘ यी विषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ। सरकारका कामलाई अत्यन्त सूक्ष्म ढंगले हेर्दा सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको छ।’

देउवाले कोरोनाका कारण विदेशमा विचल्लीमा परेका नेपालीको उद्धारमा सरकारसँग योजना नदेखिएको भन्दै आपत्ति जनाए। कोरोनाबाट पर्ने नकारात्मक पक्षको अध्ययन गरी तत्काल र दीर्घकालीन रणनीति बनाउन सरकार चुकेको उनको आरोप छ। 

सँगै देउवाले यो परिस्थितिमा आफ्नो काममा सक्रिय स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीको भने प्रशंसा गरेका छन्। देउवाले कोरोनाका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वास्थ्य उपचार गराइरहेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन्। 

प्रधानमन्‍त्रीले राजीनामा दिनुपर्छ : बाबुराम

पूर्वप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। उनले कुर्सीमा बसेर कोही पनि महान नभएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको प्रष्ट पारे। 

‘कुर्सीमा बसेर महान् कोही पनि हुँदैन। नैतिक आत्मा ठूलो हुन्छ। यसका निम्ति मेरो सम्माननीय प्रधानमन्त्रीसँग आग्रह छ। तपाईं जुन उचाईमा रहनु भएको छ त्यही रहनुहोस् र तपाईं अनावश्यक ढंगले  विभिन्न गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि पनि अन्याय भएको छ’, बाबुरामले भने, ‘रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनुपर्छ। यो लोकतन्त्र र तपाईंको छविलाई बचाएर अगाडि बढ्न तपाईंले राजनीनामा दिनु नै उपयुक्त हुन्छ।’ 

बाबुरामले प्रधानमन्त्रीको राजीनामा नै अहिलेको राजनीतिक निकास भएको उल्लेख गरे। उनले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरे। बाबुरामले प्रधानमन्त्रीले राजीनामा दिँदा विकल्पबारे चिन्ता नगर्न आग्रहसमेत गरेका छन्। 

‘तपाईंको राजनीनामा नै एउटा उचित निकास हुन्छ। त्यसले नै समाज र देशलाई अगाडि बढाउन पाउँछ। मेरो बिनम्र आग्रह छ’, बाबुरामले भने, ‘प्रश्न उठ्छ उहाँको विकल्प के ? यो मेरो निजी विचार हो। हामी पूर्वप्रधानमन्त्री अब इच्छा र आकांक्षा नराखौँ। राजनीतिक महत्वपूर्ण विषय हो। राजनीतिबाट सन्यास लिएर सुख पाइदैन। तर प्रत्यक्ष कार्यकारी भूमिकामा हामी नरहेर नयाँ पुस्तालाई अगाडि बढायौँ भने देशले निकास पाउँछ।’ सम्बोधनका क्रममा न्युनतम विषयमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्नेमा बाबुरामले जोड दिएका छन्।

त्यसैगरी भट्टराईले सएईई लिनु आवश्यक नभएको बताएका छन्। शुक्रबार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको मारमा परेका बालबालिकालाई परीक्षाले मानसिक तनाव दिएको भन्दै उनले यो परीक्षा आवश्यक नभएको बताएका हुन्।

‘एसईईको परीक्षा लिनु आवश्यक छैन’, भट्टराईले भने, ‘१२ कक्षासम्म माद्यमिक तह भएपछि १० कक्षाको परीक्षा लिनु आवश्यक छैन। आआफ्नो विद्यालयले उचित नम्बर दिएर बालबालिकालाई चिन्तित नबन भने पुग्छ।’ शिक्षामन्त्रीले लकडाउन खुलेको भोलिपल्ट परीक्षा हुन्छ भन्नु अझ गलत भएको भट्टराईको भनाइ छ।   

कोरोनाविरुद्ध एक भएर लडौं : नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्ने बताए । कोरोना रोकथामका लागि लकडाउन आवश्यकता एवं बाध्यता भएको र यो प्रभावकारी ढङ्गले कार्यान्वयन भएका कारण कोरोनाको सङ्क्रमणले नेपालमा भयावह रुप लिन नपाएको  उनको भनाइ छ । सबै एकजुट भएका कारण यो परिणाम आएको बताउँदै उनले आफ्नो दलका तर्फबाट  सरकारलाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागका रहेर काम गर्ने सबैलाई धन्यवाद दिए। 

कोरानाले धेरै क्षेत्रमा प्रभाव पारेको उल्लेख गर्दै उनले विदेशमा रहेका र हाल अप्ठ्यारामा परेका नेपालीको समस्या सम्बोधन गर्न सरकारको ध्यान गएको र चाँडै यथोचित काम हुने जानकारी दिए । उनले केही  दिनअघि सांसद् अपहरण भएको भनिएको घटना उचित नभएको बताउँदै त्यसबारे यथार्थ के हो भन्नेबारेमा बुझ्नु जरुरी रहेको धारणा व्यक्त गरे । नेता नेम्वाङले आफूहरु कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नरहेको स्पष्ट पारे ।  

दुई तिहाइको सरकारले दुई कौडीको काम गरेन : महतो

सांसद राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम नगरेको आरोप लगाए।  ‘आज मैले धेरै कुरा केही भन्नु छैन’, सांसद महतोले भने, ‘दुई तिहाइको सरकार दुई कौडीको काम गरेन।’ महतोले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि सरकारले काम नगरेको भन्दै जनताको रक्षा गर्न सरकारसँग माग गर्दै यस्तो बताएका हुन्।  

सांसद महतोले अन्य केही माग नगरी आज जनताको रक्षाको मात्र माग गर्ने उल्लेख गर्दै सरकारका कामप्रति आपत्ति जनाए।  ‘म आज एउटा माग गर्न आएको छु। निर्वाचित सांसद किन रिहाइ भएन ? यो विषय उठाउँदैन। रेशम चौधरी किन रिहा भएन ? त्यो सवाल उठाउँदिन। म आज केही सवाल उठाउने वाला छैन। आज एउटा मात्र कुरा उठाउन मन लागेको छ। एउटा मात्रै प्रश्न हो। एउटा मात्र माग हो। सभामुख महोदय, आज तपाईमार्फत यो सरकारलाई एउटा माग गर्न आएको हुँ’, महतोले भने, ‘नेपाली नागरिकको जीवन रक्षा गरिदेऊ, नेपाली नागरिकलाई बचाऊ, सरकार नेपाली जनता संकटमा छन्। कोरोना संक्रमणबाट नेपालीको रक्षा गर।’ 

महतोले महामारीको समयमा पनि भ्रष्टाचार भएको भन्दै आपत्ति जनाए। ‘महामारीको समयमा पनि भ्रष्टाचार रे ! त्यो पनि उठाउँदिन। वाइडवडीमा के भो त्यो पनि उठाउँदिन। घरघरमा पाइपको लाइन पुग्यो कि पुगेन त्यो पनि उठाउँदिन। एजेन्डा र क्षमता नभएको सरकारसँग के माग्ने’, उनले सरकारका पछिल्ला गतिविधिप्रति कटाक्ष गर्दै भने, ‘यो सरकारले दिन पनि के सक्छ  ? गुण्डा लगाएर अपहरण गर्छ। विपक्षीलाई तह लगाउने रे ! कुर्सी पाउन र जोगाउन चाहिँ सिपालु छ। यो सरकार।’ उनले संकटको समाधान गर्न सरकार लागि नपरेको भन्दै अधिकांश समय सरकारको चर्को आलोचना गर्दै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भने प्रशंसा गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.