अस्तित्व हाम्रो रहला कहाँ ‘दुराडाँडै’ नरहे !

अस्तित्व हाम्रो रहला कहाँ ‘दुराडाँडै’ नरहे !

एउटा सिंगो युग बाँचेर अनन्त यात्रामा निस्किए राष्ट्रकवि माधवप्रसाद घिमिरे। आफ्नो जन्म र जीवन सार्थक बनाए। सधैं सकारात्मक सोच र मौरीको जस्तो परि श्रमी जीवनशैली, जन्मलाई सार्थक तुल्याउने कला बन्यो। मुलुकले पछिल्लो पुस्ताको साहित्यका उज्ज्वल नक्षेत्र, सच्चा राष्ट्रप्रेमी तथा अभिभावक गुमाएको छ भने लमजुङले शैक्षिक इतिहासका धरोहर। प्रकृति र साहित्यबीच अपार साइनो गाँसिदिने एकमात्र कवि घिमिरे नै होलान् नेपाली साहित्यको इतिहासमा। यो उनको राष्ट्रप्रेम मातृभूमिप्रतिको अगाध स्नेह र लगावकै परिणाम थियो।

इतिहास आफैं बन्दैन, हामीले नै बनाउने हो। राष्ट्रकवि घिमिरे पुस्तौंपुस्ताले सम्झिरहने आफ्नो इतिहास बनाएर गए। त्यसैले त उनको जन्म सार्थक भयो। सँगसँगै एउटा राष्ट्रप्रेमी नागरिकको मातृभूमिप्रतिको जिम्मेवारी र कर्तव्य के हुन्छ भन्ने पाठ पनि सिकाएर गए।

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे।

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।।

सच्चा राष्ट्रवादी नागरिकलाई घिमिरेले रचना गरेको यो मर्मस्पर्शी कवितांश स्मरण भइरहेको छ, भइरहने छ। शासक र शासक बन्नकै लागि मात्र राजनीति गरिरहेका पात्रका लागि यो कवितांशले छुँदैन÷छुँदै छुँदैन। विडम्बना ! मातृभूमिप्रतिको प्रेम शासकको केन्द्रमा रहन सकेन। त्यसैले त राष्ट्र रोइरहेको छ, नागरिक छट्पटाइरहेका छन्। विभिन्न रोगका नाममा आज हामी जे सजाय भोग्दैछौं, यो सबै मातृभूमिप्रतिको कर्तव्यबोधको उपेक्षा र प्रकृति दोहनकै परिणाम हो।

यो प्रसंग मैले आफ्नै मातृभूमि दुराडाँडासँग जोड्न खोजेको हुँ। हामीलाई अघिल्लो पुस्ताले जसरी कहिल्यै बिर्सन नसक्ने गुन लगाएको छ, हामीले पनि भावी पुस्ताले सम्झनलायक केही काम गरेर जानुपर्छ, जुन इतिहासले सुम्पिएको अभिभारा हो। पुर्खाको बलिदान हाम्रा लागि वरदान बन्यो। हामीबाट त्यसमा एउटा इँट थप्ने काम त भएन नै; अग्रजले कमाएको पहिचान रक्षा गर्नसमेत हामी समर्थ रहेनौं। अग्रजले देश-विदेशमा फैलाएको ‘दुराडाँडा’ को पहिचान हाम्रै पालामा मेटिएको छ। आज हामी सुन्दरबजार नगरपालिकाका वासिन्दा भएका छौं। दुर्भाग्य, ६ वटा गाउँ विकास समितिको सिंगो मौजालाई तीनवटा नगरपालिकामा विभाजित गरेर दुराडाँडाको ऐतिहासिक विरासत समाप्त पार्ने काम भएको छ। त्यसमा हतियार बन्ने काममा स्थानीय नै प्रयोग भएका खबर सार्वजनिक भए। मातृभूमिको अस्तित्वमा कुठाराघात गर्ने काममा को, किन प्रयोग भयो म त्यसतर्फ जान चाहन्न। त्यसो त लमजुङको राजनीतिक नेतृत्व दुराडाँडा अघि बढेको कहिल्यै देख्न चाहँदैनथ्यो।

यहाँनेर एउटा उदाहरण सान्दर्भिक हुन्छ। सिक्किम भारतमा विलय भयो। त्यो काममा भारतलाई सहयोग गर्ने लेन्डुपेहरू केही समयपछि इन्दिरा गान्धीलाई भेट्न गए। भारतलाई ठूलो गुन लगाएकाले गान्धीबाट केही पाउने आशा थियो होला उनीहरूको। गान्धीसँग भेट गर्न उनको निजी सचिवालयमा नाम टिपाए। लगातार दुई दिनसम्म गान्धीले भेट्ने चाहना देखाइनन्। तेस्रो दिन पनि उनीहरू त्यहाँ पुगे। पीएलाई बोलाएर गान्धीले भनिन्, ‘सिक्किम भारतमा ल्याउनु थियो, ल्याइयो। अब लेन्डुपेहरूको काम समाप्त भयो। तिनीहरूलाई भेट्न जरुरी छैन।’ दुराडाँडा फुटाउन हतियार बन्नेहरूको हालत पनि सायद यही नै भइरहेको होला।

दुराडाँडाको नाम जोडेर परिचय दिन छाडियो भने राजनीतिक, शैक्षिक र सामाजिक क्रान्तिको त्यो इतिहास मेटिनेछ। त्यसले मातृभूमिप्रति हाम्रो दायित्व सकिएको अर्थ लाग्नेछ।

दुराडाँडा आफैं देश-विदेशमा परिचित भएको होइन। प्रजातान्त्रिक संस्कारसहितको सभ्य समाज निर्माण गर्न अग्रजले ठूलो मूल्य चुकाएका छन्, रगत-पसिना बगाएका छन्, कठोर सजाय भोगेका छन्। देश निरंकुश राणाशासनको कोपभाजनमा थियो। राणाविरोधी क्रान्तिमा होमिने कुरा त्यतिबेलाको समाजका लागि सहज थिएन। दुराडाँडाका बाहुनहरूले हलो जोतेर राणाविरुद्ध सामाजिक विद्रोह गर्ने निधो गरे। त्यसको अगुवाइ गरे तोयनाथ अधिकारी, लेप्टेन शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल र   श्रीकान्त अधिकारीले। २००६ साल साउन ११ गते अर्चल्यानीस्थित तोयनाथको बाटेगरामा २७ जना ब्राह्मणले हलो जोतेर विद्रोहको सुरुवात गरे। त्यसले क्रान्तिलाई मात्र बल पुर्‍याएन; राणशासकका कन्सिरीका रौं तात्न थाले। सरकारविरोधी काम गरेको भन्दै तत्कालीन राणाशासकले तोयनाथ, शेषकान्त र   श्रीकान्तलाई गिरफ्तार गर्‍यो। उनीहरूलाई रातदिन हिँडाएर पोखराको गोश्वारामा हाजिर गराइयो। ‘गल्ती गरेको छैन, कानुन र वेदमा बाहुनले हलो जोत्न हुँदैन भन्ने उल्लेख भए जस्तोसुकै कारबाही भोग्न पनि तयार छौं’ भनेर जेलभित्रै अनशन बसेपछि उनीहरूलाई ४८ घन्टापछि रिहा गरियो। यो घटनापछि दुराडाँडाको नाम मुलुकभर फैलियो।

सात सालको क्रान्तिअघि माधव घिमिरे राजनीतिक परामर्शका लागि दुराडाँडा जाने-आउने गर्थे। समाजलाई चेतनशील बनाउन थालिएको कर्मलाई गन्तव्यमा पुर्‍याउन दुराडाँडेलाई ऊर्जा भर्ने काममा राष्ट्रकवि घिमिरेको ठूलो योगदान छ। सात सालको क्रान्ति सफल भएपछि दुराडाँडामा शैक्षिक क्रान्ति सुरु भयो। १२ वटा प्रावि एकैपटक खुले। ०९ सालमा सर्वोदय मिडिल स्कुल खुल्यो। उक्त स्कुल पछि सर्वोदय माध्यमिक विद्यालयमा रूपान्तरण भयो। २०२६ सालमा पाणिनि संस्कृत माध्यमिक विद्यालय खुल्यो। दुराडाँडालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने अभियानका सारथि बने   श्रीकान्त अधिकारी। कुनै पनि काम गर्नुअघि उनी तोयनाथको रायसल्लाह लिन्थे। उनीहरूको निरन्तरको लगाव र अथक् प्रयासकै कारण दुराडाँडा शैक्षिक जागरणको थलोका रूपमा देश-विदेशमा परिचित भयो। दुराडाँडामा भएको शिक्षा विस्तारले लमजुङकै प्रत्येक गाउँमा शिक्षाको लहर आयो। त्यो अग्रजको आत्मीय एकता र मेलमिलापको प्रतिफल थियो।

त्यसैले त ०७ सालका क्रान्तिनायक बीपी कोइराला पहिलोपटक २००९ सालमा पश्चिमाञ्चलका नेताका साथ र ०१३ मा सुवर्णशमशेर र गणेशमान सिंहसहित पुख्र्यौली थलो (कोइराला फाँट) हुँदै दुराडाँडा पुगेका थिए। राजनीतिक, सामाजिक र शैक्षिक उन्नयनको पहिचान बनाएको दुराडाँडाले बीपी कोइरालाको भ्रमणसँगै प्रजातान्त्रिक संस्कारको पनि विकास गर्‍यो। आजपर्यन्त बीपीले छाडेर गएको त्यही संस्कारको पालना हुँदै आएको थियो तर आज कताकता त्यो पहिचान गुम्ने अवस्थामा पुगेको छ। दुराडाँडा संरक्षकको खोजीमा रुमलिरहेको छ।

दुराडाँडामा शैक्षिक जागरणको जग हालेको सर्वोदय माध्यमिक विद्यालयको विशेष योगदान छ। कुनै समय लमजुङका दुईतिहाइ हाइस्कुलका हेडमास्टर दुराडाँडे हुनु पनि त्यसैको प्रतिफल हो। त्यो विद्यालयलाई लामो समय कुशल नेतृत्व दिने ठाकुरप्रसाद छाँगा हामीबीच नरहे पनि सबैको मनमुटुमा बसेका छन्। उनी राजनीतिक कोपभाजनमा परेपछि सर्वोदयको त्यो शैक्षिक इतिहासमा ‘बे्रक’ लाग्यो। भौतिक रूपमा (उपजको योगदानमा विद्यालय भवन बन्यो) उत्कृष्ट रहे पनि इतिहास बनेको त्यो विद्यालय पुरानै लयमा फर्कन अब सम्भव पनि छैन।

यतिबेला सर्वोदयको लेटरप्याडमा दुराडाँडा भन्ने शब्द छैन। अग्रजको पहिचानसँग जोडिएको विद्यालयको लेटरप्याडमा दुराडाँडा शब्द नहुनु विडम्बना मान्नुपर्छ। पंक्तिकार हेडमास्टरसँग आग्रह गर्दछ- लेटरप्याडमा तत्काल दुराडाँडाको सम्बोधन गरौं। नत्र यसले दुराडाँडाको पहिचान मेटाउन सघाउनेछ। सामाजिक सञ्जालमा आएको हेडमास्टरको हस्ताक्षरसहितको दुराडाँडाविनाको लेटरप्याडको टिप्पणीमा पंक्तिकारले प्रतिक्रिया लेखेको थियो, ‘सर्वोदय स्कुलको लेटरप्याडमा दुराडाँडा शब्द छैन। विडम्बना ! सुन्दरबजारले दुराडाँडाको ऐतिहासिक विरासत खोसिदियो।’ मैले प्रतिक्रिया लेख्नुअघि त्यस विषयमा गंगाप्रसाद खनिया, देशबन्धु अधिकारी र नवकुमार अधिकारीको वाद, प्रतिवाद र संवाद चलिसकेको थियो। दुराडाँडाको नाम जोडेर परिचय दिन छाडियो भने राजनीतिक, शैक्षिक र सामाजिक क्रान्तिको त्यो इतिहास मेटिनेछ। त्यसले मातृभूमिप्रति हाम्रो दायित्व सकिएको अर्थ लाग्नेछ।

संस्कृत शिक्षाको अर्को धरोहर पाणिनि संस्कृत माध्यमिक विद्यालय पनि यतिबेला संकटमा छ। विद्यार्थी अभावमा विद्यालयको पहिचान जोगाउन मुस्किल भएको छ। विद्यालयको पहिचान जोगाउने एउटै मात्र उपाय आवासीय वेद विद्या श्रममा रूपान्तरण नै हो। गाँस र वासको व्यवस्थासहितको विद्यालय बनाउन सकियो भने विद्यार्थी अभाव हुने छैन। त्यस क्षेत्रमै संस्कृत विद्यालय नभएकाले अन्यत्रका विद्यार्थी पनि अध्ययनका लागि त्यहाँ आउने छन्। आज दुईचार शब्द लेख्न सक्ने बनाएको त्यो विद्यालयको पहिचान रक्षामा आफ्नो ठाउँबाट सकेको योगदान गर्नु मेरो पनि कर्तव्य हो। त्यो संस्कृत विद्यालयलाई वेद विद्या श्रममा रूपान्तरण गराउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अग्रसरता लिनुपर्छ। यस्तो प्रस्तावसहितको खाका विद्यालय व्यवस्थापन समितिले जिल्ला शिक्षा समन्वय एकाइमार्फत मुख्यमन्त्रीको कार्यालयमा पुर्‍याउन आवश्यक छ।

यहाँनेर पाणिनिको अस्तित्वसँग मुक्तिनाथ अधिकारी पनि सँगसँगै जोडिएर आउँछ। २०५८ माघ ३ गते दुराडाँडा फेरि दोस्रोपटक एकाएक चर्चामा आयो। माओवादीले पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक भएकै दिन पढाउँदै गरेका मुक्तिनाथलाई कक्षाकोठाबाट थुतेर लगी निर्मम तरिकाले हत्या गरे। त्यो समाचार संसारभर फैलियो। माओवादी संघर्षका नाममा उनीलगायत १७ हजार मान्छेको अनाहकमा ज्यान गयो। निर्दोष मान्छेलाई बलि चढाउनेहरू आज राज्यसत्तामा रजगज गरिरहेका छन्। विडम्बना, पीडित अझै न्यायको भिख मागेर बसिरहेका छन्। कठै हाम्रो कानुनी राज्य ! मुक्तिनाथको आत्मालाई शान्ति दिन पनि पाणिनीको अस्तित्व कायम राख्न राज्यले सघाउनुपर्छ।

विद्यालयहरूको सुधारसँगसँगै दुराडाँडाको त्यो पहिचान कायम राख्न पनि त्यस भेगका साविकका ६ वटा गाविस मिलाएर एउटा गाउँपालिका बनाउन अभियान नै चलाउनुपर्छ। आफूले केही दिन नसके पनि पुस्ताले कमाएको ख्याति कायम राख्न पनि दुराडाँडाको ऐतिहासिक विरासत जोगाउनैपर्छ। भएको पहिचान गुमाएर अर्काको ‘मतदाता’ वा परनिर्भर भएर बस्न हाम्रो पुर्खाले सिकाएको होइन। प्रदेशका मुख्यमन्त्रीसमेत रहेका त्यस भेगका जनप्रतिनिधि गुरुङले पनि दुराडाँडाको विरासत कायम राख्न छुट्टै गाउँपालिकाको प्रस्ताव पास गराउन सघाउनुपर्छ। दुराडाँडाको पहिचानसँग मेरो पनि अस्तित्व जोडिएको छ भन्ने महसुस गुरुङले गर्नुपर्छ।

मुलुकका विभिन्न भागमा छरिएर बसे पनि हाम्रो पहिचान दुराडाँडे नै हो। हाम्रो मातृभूमि त्यही हो। आज हामी जोजो जुनजुन ठाउँमा छौं, त्यही दुराडाँडाको प्रतिफल हो। हामीलाई गरिखानका लागि परि श्रम गर्ने दुईदुई हातखुट्टा र तिनलाई चलाउने विवेक पनि त्यही दुराडाँडाले भरिदिएको हो। संसार देखाउने दिवंगत मातापिताप्रति विशेष अनुगृहित छु। दुराडाँडाको वासिन्दा हौं भन्दा जुन गौरवबोध हुन्छ, त्यो हाम्रा अग्रजको कर्मको फल हो। दुराडाँडालाई देश-विदेशमा परिचित गराउन भूमिका खेल्ने र उन्नत समाज बनाउन बलिदान गर्ने ती सम्मानित अग्रजलाई हृदयदेखि नमन गर्न चाहन्छु। केही गर्न नसके पनि तत्कालका लागि हामी सबै एकजुट भएर अस्तित्व रक्षाको दोसाँधमा रहेको दुराडाँडाको पहिचान जोगाऔं। टेक्ने धरातल बलियो भयो भने मात्र सहअस्तित्वको कुरा आउने हो। राष्ट्रकवि घिमिरेको हृदयले बोलेजस्तो ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ को भावको हामी दुराडाँडेले पनि अनुशरण गरौंं, ‘अस्तित्व हाम्रो रहला कहाँ दुराडाँडै नरहे !’ राष्ट्रकवि घिमिरे युगौंयुगसम्म नेपालीको मनमुटुमा बसिरहने छन्। पितातुल्य घिमिरेप्रति श्रद्धा सुमन !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.