निषेधाज्ञा समाधान होइन : यस्ता छन् दुई विकल्प

निषेधाज्ञा समाधान होइन : यस्ता छन् दुई विकल्प

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको समय बढ्दै जाँदा यसविरुद्ध आक्रोशसमेत बढ्दै गएको छ। 

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित कोरोना संकटको समाधान निषेधाज्ञा हुँदै नभएको धारणा राख्छन्। बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई नै निषेधाज्ञा समाधान नभएको प्रष्ट पारेको उनी सुनाउछन्।  

‘दुई दिन अगाडि कोरोनाको समाधान निषेधाज्ञा हुँदै होइन भनेर मैले प्रधानमन्त्रीलाई पनि भनेको हुँ’, उनी भन्छन्। 

निषेधाज्ञा सधैंभरी हुँदा देश कसरी चल्छ, नागरिक कसरी बाँच्छन् भनेर राज्यले सोच्नुपर्ने उनको भनाइ छ।  ‘निषेधाज्ञा सधैँभरी गर्ने भए देश कसरी चल्छ ? नागरिक कसरी बाँच्छन् ? रोजिरोटी कहाँबाट आउँछ ? दैनिकी कसरी चल्छ ? अरु रोगबाट हामी कसरी बाच्छौँ ? हामीले पाउँने सेवा सुविधा कसरी खोज्छौँ ?’, दीक्षित प्रश्न गर्दै भन्छन्, 'यो विषयमा सरकारले सोच्नुपर्छ ।'

उपत्यकामा भदौ ४ गतेदेखि लागू भएको तेस्रो चरणको निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिँदै छ। निषेधाज्ञा थप गर्ने वा खुकुलो पार्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले छलफल थालेका छन्। 

उपत्यकामा तीन सातासम्म निषेधाज्ञा हुँदासमेत संक्रमण नियन्त्रण होइन कम समेत हुन नसक्दा यसको समय बढाउनुपर्ने राय सीडीओले सार्वजनिक गर्दै आएका छन्। जनस्तरमा भने यसको विरोध भइरहेको छ। यसको विकल्प खोज्नुपर्ने आम सर्वसाधारणको भनाइ छ। गृह मन्त्रालयले सुरक्षा मापदण्ड अपनाएर निषेधाज्ञालाई खुकुलो पार्नुपर्ने खाका तयार पार्न सुझाएको छ। 

नयाँ मोडालिटीका विषयमा मंगलबार तीनै जिल्लाका सीडीओ र सुरक्षा निकायका प्रमुखबीच छलफल हुँदैछ। संक्रमणको ग्राफ बढ्दै जाँदा मन्त्रालय र सुरक्षा निकायले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने धारण राखेका छन्। 

सरकारले उपत्यकाको हकमा अझ एक साता निषेधाज्ञा थप गर्ने र असोज महिनाबाट रोजगारीका केही क्षेत्र खुला गर्दै जोर विजोर प्रणालीको आधारमा सवारी सञ्चालन गर्नेगरी खाका बनाएको छ। यस विषयमा मंगलबार र बुधबार दुई दिनको छलफलपछि मात्र निर्णय हुने स्रोतको भनाइ छ। 

निषेधाज्ञाका दुई विकल्प 
डा. दीक्षित निषेधाज्ञाका दुई विकल्प देख्छन्। उनले दिएको पहिलो विकल्प टोलटोलमा परीक्षण बढाउनु हो। परीक्षणको आधारमा संक्रमण बढी भए सिलबन्दी गर्ने र नभए खोलिदिनुपर्ने नीति राज्यले अबलम्बन गर्नुपर्ने उनको भनाइ छ। 

‘राज्यले निषेधाज्ञा होइन, परीक्षण आज्ञा गर्नुपर्यो। टोलटोलमा परीक्षण गर्नुपर्यो। परीक्षणको आधारमा जहाँ संक्रमण छ त्यहाँ सिलबन्दी र जहाँ संक्रमण छैन त्यहाँ खुला गर्नुपर्छ’, परीक्षण बढाउनुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘धेरै ढिला भइसक्यो सरकारले परीक्षण बढाउन सकेको छैन। त्यसको तयारी गर्दागर्दै मास्क र दूरी कायम गर्दै विभिन्न सेवा खुकुलो पार्नुपर्छ ।’ 

डा. दीक्षित निषेधाज्ञा हटाएर सरकार एक महिना अगाडि फर्किनुपर्ने धारणा राख्छन्। तर, त्यसका लागि मास्क, दूरी र भीडभाड कम गर्नेगरी मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ। मास्क नलगाउने, दूरी कायम नगर्ने र भीडभाड गर्नेलाई कारबाही गर्नेगरी सुरक्षा संयन्त्र परिचालन हुनुपर्ने उनको धारणा छ। 

‘सरकार अब फेरि निषेधाज्ञा अगाडिको समयमा जानुपर्छ। राज्यले सुरक्षा संयन्त्र परिचालन गरेर मास्क नलगाउने, दूरी कायम नगर्ने र भीडभाड गर्नेलाई कारबाही गर्नुपर्छ’, निषेधाज्ञाको दोस्रो विकल्प दिँदै डा. दीक्षित भन्छन्,  ‘नागरिकले पनि मास्क लगाउनुपर्छ र दूरी कायम गर्नुपर्छ।’

भारत, पाकिस्तान र बंगलादेशबाटसमेत सरकारले केही पाठ सिक्नुपर्ने उनको भनाइ छ। ‘उदाहरणका लागि भारत, पाकिस्तान र बंगलादेशबाट सरकारले पाठ सिक्नुपर्छ’, उनी भन्छन्, ‘संकटमा सत्ता बचाउने खेलले कोरोनासँग लड्न सकिँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.