गौतमको जबर्जस्त प्रवेश

गौतमको जबर्जस्त प्रवेश

काठमाडौं : बिहीबार राष्ट्रियसभा सांसदको शपथ लिँदै गर्दा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई ठूलै युद्ध जितेको अनुभूति भइरहेको थियो। अनुहारको चमक र हाउभाउले उनले ३२ महिनाअघि बर्दियाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित हुनुको पीडा बिर्सेको अनुभूति हुन्थ्यो। नहोस् पनि किन, राष्ट्रियसभाको सांसद बन्न गौतमले पार्टीभित्र कम्ती पापड पेल्नु परेन।

कार्यकारी अध्यक्ष, पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले गौतमका लागि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग ठूलै युद्ध लड्नु परेको थियो। गौतमलाई राष्ट्रियसभामा पठाउने वा नपठाउने भन्ने विवादले पार्टी नै झन्डै विभाजनको संघारमा पुगेको थियो। गौतमलाई राष्ट्रियसभामा पठाउन प्रधानमन्त्री ओली सहमत भएसँगै नेकपाको आन्तरिक विवाद पनि एक ढंगले किनारा लाग्यो। 

दाखाकाडी— १ प्यूठानका स्थायी बासिन्दा गौतमलाई सरकारको सिफारिसमा मनोनीत हुने तीन जनाको कोटामा सांसद बनाइएको हो। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल ६ महिनाअघि नै समाप्त भएपछि वामदेव कि खतिवडालाई ल्याउने भन्ने नेकपाभित्रको विवादमा ६ महिना सांसद पद रिक्त भएको थियो। खतिवडालाई पुनः राष्ट्रियसभामा ल्याउने निर्णय गर्न नसके पनि प्रधानमन्त्री ओलीले उनलाई ६ महिना मन्त्री बनाएका थिए। राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले बिहीबार संसद् सचिवालयमा वामदेवलाई शपथ गराउँदै गर्दा अर्को रोचक दृश्य देखा पर्‍यो। गौतमलाई राष्ट्रियसभामा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीसँग लडाइँ लडेका अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल र खनाल तथा प्रवक्ता श्रेष्ठ वामदेवको शपथको सहभागी भएका थिए। दायाँबायाँ पार्टीका शीर्ष नेता राखेर गौतमले सांसद पदको शपथ लिएका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सांसद सिफारिस गरिएको सूचना प्रकाशित गरेको थियो, दिउँसो २ बजेर ५१ मिनेटमा। राष्ट्रपति कार्यालयको पत्र नआइपुग्दै संसद् सचिवालयले गौतमको शपथको समय तोक्यो दिउँसो ४ बजे। लगत्तै पार्टीका शीर्ष नेता पनि सहभागी हुने खबर प्राप्त भएपछि सचिवालयले त्यसको तयारी गर्‍यो। अरू नेता नआइपुग्दै गौतम ३ बजेतिर संसद् सचिवालय पुगिसकेका थिए। अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल र खनाल टाईसुटमा पुगेका थिए। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल, राष्ट्रियसभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीसहित एक दर्जनभन्दा बढी सांसद गौतमको शपथ कार्यक्रममा सहभागी थिए। सायद, मन्त्रिपरिषद् बैठक र शपथग्रहणको कार्यक्रम जुधेर होला, सुरुमा गौतमका विपक्षमा देखिएका प्रधानमन्त्री ओली, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा (बादल) शपथ कार्यक्रममा अनुपस्थित थिए। 

हक्की र निडर स्वभावका गौतमले शपथग्रहण कार्यक्रममा रोचक कुरा खुलासा गरे। उनलाई शपथ गराउने राष्ट्रियसभा अध्यक्ष तिमिल्सेना आफ्नो कार्यकर्ता भएको र उनलाई विगतमा पार्टी सदस्यता पनि आफैंले दिएको कुराको खुलासा गरे। ‘मैले नै पार्टीको सदस्यता प्रदान गरेको व्यक्तिबाट शपथ लिन पाउँदा मेरो छाती गर्वले गदगद् भएको छ’, गौतमले शपथपछि सञ्चारकर्मीसँग भने।

प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा प्रवेशलाई लिएर राजनीतिवृत्तमा तीव्र आलोचना भइरहेको छ। चुनाव हारेका व्यक्ति अर्को बाटोबाट जनप्रनिनिधि र मन्त्री बन्दै जाने हो भने सुधारिएको संसदीय प्र्रणाली नै बदनाम हुने भन्दै आलोचना भइरहेको छ। गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठालाई गिराउने गरी कुनै काम नगर्ने प्रतिबद्धता जनाए। ‘संविधान, संसद् नियमावलीबमोजिम काम गर्नेछु’, गौतमले भने, यसबाहेक मेरो कुनै लक्ष्य र उद्देश्य छैन।’ गौतमको राष्ट्रियसभामा प्रवेश केवल सांसद बन्न मात्र होइन भनेर अनुमान गर्नेको पनि कमी छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.