आयात घट्दा महँगी बढ्दै

आयात घट्दा महँगी बढ्दै

काठमाडौं : कोरोना भाइरसको प्रभावसँगै विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ। चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन थालेको व्यवसायीले बताएका छन्। काठमाडौंका अधिकांश कपडा व्यवसायीले चीनबाट गार्मेन्ट आयात कम हुँदा सामानको भाउ बढेको बताएका छन्। 

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि गत असोजको तुलनामा कात्तिकमा मूल्यवृद्धि बढेको उल्लेख गरेको छ। उक्त प्रतिवेदनले कात्तिकपछिको विवरण उल्लेख नगरे पनि पछिल्ला महिना मूल्यवृद्धिको औसत दर (मुद्रास्फीति) चुलिँदै गएको व्यवसायीले बताएका छन्। 

गत कात्तिकमा मूल्यवृद्धिको दर ४.०५ प्रतिशत पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ। यसको मतलव गत वर्ष कात्तिकमा १ सय रुपैयाँले जीविका धान्ने व्यक्तिलाई यो वर्ष १०४ रुपैयाँभन्दा बढी पैसा आवश्यक पर्ने भएको छ। 

कात्तिकमा दसैं र तिहारजस्ता पर्व परेकाले महँगी बढेको हुनसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। तर, व्यवसायीले भने चैतमा बन्दाबन्दी सुरु भएपछि भारी मात्रामा खाद्यान्न र लत्ताकपडा किनेर राखेका उपभोक्ताले लामो समय सामान किन्न पैसा खर्च नगरेको बताउँछन्। दसैं लागेपछि भने पहिलेको मौज्दात खाद्यान्न सकिएको र असोजपछि खुलेको बन्दाबन्दीले मानिसको चहलपहल बढाएका कारण महँगी पनि बढ्न थालेको उनीहरूको बुझाइ छ। 

राष्ट्र बैंकको आँकडाअनुसार चीनबाट हुने आयात अहिले २५ प्रतिशत घटेको छ। भारतबाट हुने आयात खासै नघटे पनि अन्य मुलुकबाट हुने आयात झण्डै २० प्रतिशत खुम्चिएको छ। यसबीच पेट्रोलियम पदार्थ, हवाईजहाज र सवारीसाधन तथा तिनका पार्टपुर्जा, कच्चा पाम तेल, मेसिनरी र औद्योगिक कच्चापदार्थको आयात कम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 

बचतमा ध्यान 
कात्तिकसम्मको तथ्यांकले मानिस सामान किन्न र विभिन्न सेवा लिनभन्दा बचत गर्नेतिर आकर्षित भएको देखिएको छ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा वस्तु आयात १०.६ प्रतिशत घटेको उल्लेख गरेको छ। बैंकबाट ऋण लिने क्रम पनि यसबीच कम भएको छ। निजी क्षेत्रमा १२ प्रतिशत हाराहारीमा मात्रै ऋण बढेको राष्ट्र बैंकले बताएको छ। 

यही अवधिमा बैंक तथा वित्तीय संस्थामा बचत जम्मा गर्ने प्रवृत्ति भने बढेको छ। यही चार महिनामा बैंकमा निक्षेपको वृद्धि २०.८ प्रतिशत बढेको छ। यसले मानिस बचतमा आकर्षित भएको र खर्च घटाउन थालेको देखिएको छ। 

विदेशमा कार्यरत नेपालीले पठाएको रेमिट्यान्स रकम पनि बढेको छ। विदेशबाट हुने यस्तो आम्दानी कात्तिकसम्ममा ६.४ प्रतिशत बढेको छ। नेपाली रुपैयाँमा भने रेमिट्यान्सको वृद्धि ११ प्रतिशतभन्दा बढी भएको छ। गत वर्षभन्दा यो वर्ष नेपाली रुपैयाँ डलरको तुलनामा सस्तो भएपछि रेमिट्यान्सको आँकडामा पनि फरक परेको हो। यस्तो अवस्थामा भारतबाट हुने आयातका लागि भने नेपालले बढी लाभ पाउन सक्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.