अर्थतन्त्र र पुँजी बजारको आकार बराबर

अर्थतन्त्र र पुँजी बजारको आकार बराबर

काठमाडौं : नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९६ दशमलव ४५ प्रतिशत पुगेको हो।  परिसूचकले २६ सय ३६ अंकको नयाँ कीर्तिमानी स्तर बनाएको छ। यस दिन ‘अन्तरदिवसीय’ व्यापारमा नेप्से २६ सय ४२ अंकसम्म पुगेको थियो। सोही क्रममा बजार पुँजीकरणको आकारमा पनि कीर्तिमानी स्तर तयार भएको हो। बिहीबारकै अनुपातमा बजारको विस्तार जारी रहने हो भने चार दिनपछि नेप्सेको पुँजीकरण अर्थतन्त्रको आकारभन्दा ठूलो हुनेछ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान ‘मौद्रिक खुकुलोपना’लाई कम्तीमा ३ महिना लम्ब्याउने प्रतिबद्धता जनाएपछि सेयर बजार उकालो लागिरहेको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण ३६ खर्ब ३३ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यो जीडीपीको साढे ९६ दशमलव ४५ प्रतिशत र कुल राष्ट्रिय आय (जीएनआई)को ९५ दशमलव २८ प्रतिशत हो। गत वर्ष नेपालको जीडीपी ३७ खर्ब ६७ अर्ब र जीएनआई ३८ खर्ब १३ अर्ब रुयैयाँ थियो। यसअघि १२ साउन २०७३ मा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमान बनाउँदा सेयर बजारको पुँजीकरण अर्थतन्त्रको ९१ दशमलव ९२ प्रतिशतसम्म पुगेको थियो। त्यसपछि अर्थतन्त्रसँगको अनुपात लगातार घट्दो क्रममा रहे पनि बजार सूचकांक बढ्न थालेसँगै यस्तो अनुपात पनि उकालो लागेको हो। २०६० को साउनमा नेप्सेको बजार पुँजीकरण अर्थतन्त्रको ७ दशमलव १ प्रतिशतसम्म झरेको थियो।

सेयर बजारको पुँजीकरणलाई अर्थतन्त्रका दुबै सूचक अर्थात् जीडीपी र जीएनआईसँग तुलना गर्ने चलन छ। पछिल्लो समय यस अनुपातलाई जीएनआईसँग तुलना गर्न बढी उपयुक्त हुने विश्लेषण गरिन थालेको छ। 

जीएनआईमा स्वदेशी नागरिकले विदेशमा कमाएको आम्दानीसमेत जोडिने र सेयर बजारमा त्यसको प्रयोग हुने भएकाले जीएनआईसँगको तुलनालाई बढी तथ्यपरक मानिएको हो। यद्यपी धेरैजसो अर्थतन्त्रमा अहिले पनि जीडीपीकै अनुपातमा दाँज्ने प्रचलन छ। 

अधिमूल्यनतर्फ बजार 
जुनसुकै तुलोमा तौलिए पनि नेपाली सेयर बजार अधिमूल्यन हुन थालेको अन्तर्राष्ट्रिय प्रवृत्तिले देखाउँछ। आठ महिना अघिसम्म नेप्सेको बजार पुँजीकरण अर्थतन्त्रको ५० प्रतिशतको हाराहारी थियो। 

कोरोना महामारीपछि संसारभर अधिकांश सेयर बजार सूचक उकालो लागेका छन्। पेट्रोलियमको मूल्यमा आएको भारी कमीको प्रभाव बहुमूल्य धातु र सेयर बजारमा परेको छ। यी दुवै चिज महँगिएका छन्।  नेपाली बजारमा पनि सेयरको भाउ चुलिएको छ। कोरोनाअघि हङकङ, साउदी अरेबिया, दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, सिंगापुर, जापान, मलेसिया, अस्ट्रेलिया, थाइल्यान्डजस्ता मुलुकमा धितोपत्र बजारको आकार अर्थतन्त्रभन्दा ठूला थिए। यी मुलुकका धितोपत्र बजारमा पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय लगानी आउने भएकाले पुँजीकरण बढी भएको हो। 

अन्तर्राष्ट्रिय स्तरका ठूला कम्पनी सूचीकृत भएका र विश्वभरबाट लगानी गर्न सकिने बजारकै अनुपातमा नेपालमा पनि सेयर बजारको आकार बढ्न थालेको देखिन्छ। यसले सेयरको अधिमूल्यन अर्थात् आवश्यकताभन्दा धेरै बढ्न थालेको संकेत गरेको छ। यद्यपि, अहिले नै बजार ओरालो लागिहाल्ने अवस्था भने प्राविधिक रुपमा देखिँदैन। ‘अधिकांश प्राविधिक विश्लेषणले बजार अझै बढ्ने संकेत गर्छन्’, सेयर लगानीकर्ता एवं विश्लेषक लोचन कोइराला भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.