भागरथी र निर्मलाको नियति कहिलेसम्म ?

भागरथी र निर्मलाको नियति कहिलेसम्म ?

दुई वर्षयता राजधानी काठमाडौंमा डेरामा बस्दै आएका प्लस टु पढाउने शिक्षकका दुई सन्तान र परिवार पनि सँगै थिए। कलेज पढाउने उनलाई वरपरका सबैले चिन्दथे। परिश्रम पनि उस्तै गर्थे। बिहानदेखि बेलुकासम्म उनको फुर्सद हुँदैनथ्यो। श्रमअनुसार कमाइ पनि राम्रै गर्थे। समाजमा मभन्दा जान्नेसुन्ने कोही छैनन् भन्ने उनमा घमन्ड पनि थियो। अरूलाई शिक्षा दिने शिक्षक त थिए तर महिलालाई होच्याउँथे। पत्नीको भूमिकालाई गौण ठान्थे।

उनकी पत्नी गृहिणी त थिइन् नै, कामकाजी पनि थिइन्। बिहान उठेर कलेज पढाउन जाने पति र स्कुल जाने सन्तानका हितका लागि खट्थिन्। चार र ६ वर्षका बच्चालाई स्कुल पुर्‍याएर अफिस गर्न पनि भ्याउँथिन्। कमाइ राम्रो। छोराछोरीको पढाइ राम्रो। घर व्यवहार पनि राम्रो। उनको संघर्ष देखेर वल्लोपल्लो कोठामा बस्ने प्रभावित हुन्थें। सोच्थें– संघर्षशील जीवन पो राम्रो रहेछ।

आजको पुस्ता शब्दमा शंका लागे वा जिज्ञासा भए सोध्ने वा शब्दकोश पल्टाउने कष्ट पनि गर्न चाहँदैन।

पल्लो कोठामा बस्ने उनीसँग म नजिकिँदै गएँ। सोध्थें– तपाईंले धेरै संघर्ष गरेको देख्दा खुसी लाग्छ। घरको काम भ्याउनुहुन्छ। बच्चालाई स्कुल पुर्‍याएर अफिस पनि जानुहुन्छ। बिहान–बेलुका फुर्सद निकालेर छोराछोरीलाई लेख्नपढ्न सिकाउनुहुन्छ। हँसिली स्वभावकी उनको जवाफ थियो– मलाई यस्तै जीवन मन पर्छ।

उनकी छोरी बुझ्ने भइसकेकी थिइन्। स्कुल छुट्टी भएका बेला उनी घरमा बस्थिन् तर उनका बाबाममी काममा जान्थे। त्यतिबेला उनी मकहाँ आउनेजाने गर्थिन्। मसँगै बस्ने, कुरा गर्ने र खेल्ने गर्थिन्। मैले एक दिन सोधें– नानी, तिमीलाई कसले माया गर्नुहुन्छ बाबा कि ममीले ? तिमीलाई नयाँ कपडा कसले ल्याइदिनुहुन्छ ?

कक्षा ५ मा पढ्ने उनी निसंकोच मैले सोधेका प्रश्नको जवाफ बताउँथिन्। उनका कुरा सुनेपछि मैले महसुस गरें– उनको घरपरिवारको वास्तविकता बाहिर जे थियो भित्र अर्कै रहेछ। उनका बाबाममीबीच राम्रो सम्बन्ध रहेनछ। उनकी ममी बाबाको इसारामा नचल्ने स्वभावकी रहिछन्। किनभने उनका बाबा महिलालाई दबाउनुपर्छ भन्ने पितृसत्तात्मक सोच बोकेका व्यक्ति रहेछन्, जुन उनकी ममीलाई मन पर्दो रहेनछ।

सुरुमा उनकी आमाको कमाइ थिएन। उनी बाबासँगै खर्च मागेर व्यवहार चलाउँथिन्। तर पैसा दिँदा उनका बाबाले ममीलाई विभिन्न आरोप र लाञ्छना लगाउँदा रहेछन्। छोराछोरीले गल्ती गर्दा पनि उनकी ममीलाई नै दोष दिँदा रहेछन्। जरुरी कामका लागि पैसा माग्दा पनि गाली खानुपर्ने भएपछि उनी कामकाजी भएकी रहिछन्।

यो त एउटा उदाहरण मात्र हो। नेपाली समाजका अधिकांश परिवारका महिलाले यस्तैयस्तै समस्या भोग्दै आएका छन्। शिक्षित परिवारभित्र त यस्तो अवस्था छ भने ग्रामीण समाजका अशिक्षित परिवारका महिलाको अवस्था कस्तो होला ?

एउटी महिला पति र छोराछोरीप्रति जति समर्पित हुन्छिन्, त्यसको १० प्रतिशतजति पनि पुरुषहरू जिम्मेवारी बोध गर्दैनन्। महिलालाई गर्ने पुरुषका घटिया व्यवहार र सोच हिजो पनि थियो र आज पनि छ। सहरका महलमा बस्ने महिलाले पनि पुरुषको हेपाहा खेप्नुपरेको छ। आमा भएपश्चात् भोग्नुपर्ने पीडा त छँदै छ; त्यसमाथि पुरुषका दुव्र्यवहार र अपमान पनि भोग्न महिला विवश छन्।

आज पनि पुरुषहरू महिलालाई कमजोर पात्रका रूपमा हेर्छन् र हेपिरहन्छन्। यसैले पनि महिलामाथि हुँदै आएको थिचोमिचो र अन्याय–अत्याचार उत्तिकै छ। गत माघ २१ गते बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको उनकै छिमेकी दाजुभाइ पर्ने किशोर दिनेश भट्टबाट बलात्कारपछि हत्या भएको थियो। त्यसैगरी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पनि बलात्कारपछि हत्या भएको थियो। दुई वर्षअघि उखुबारीमा बलात्कारपछि हत्या गरिएकी उनको हत्यारा को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन। यी घटनाले के स्पष्ट हुन्छ भने यो देशमा छोरीले स्वतन्त्रतापूर्वक बाँच्न पाउँदैनन्।

मुलुकमा पटकपटक राजनीतिक आन्दोलन भए। सत्ता परिवर्तन भए। सत्ता नेतृत्वमा नयाँनयाँ नेता पुगे र उनीहरूले ठूलाठूला सपना देखाए। राज्यका विभिन्न तहमा महिलाको प्रतिनिधित्व पनि भए। विज्ञान र प्रविधिले नयाँनयाँ आविष्कार गरिरहेको छ। 

विश्वलाई पानीपधेंरोजस्तो नजिक बनाइदिएको छ। तर महिलामाथि हेर्ने हेयपूर्ण दृष्टिकोणमा अलिकति पनि कमी आएन। पुरुषका व्यवहारमा परिवर्तन आएको छैन। ‘आधा आकाश ओगट्ने महिला एउटै सिक्काका अर्का पाटा हुन् र उनीहरूविना हाम्रो रथ चल्दै चल्दैन त्यसैले उनीहरूलाई समान रूपमा सम्मान गर्नुपर्छ’ भन्ने धारणा व्यवहार कार्यान्वयन नभएसम्म महिलाले भागरथी र निर्मलाको नियति भोगिरहनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.