बाह्य व्यापारमा भारतसँगै बढी साझेदारी

बाह्य व्यापारमा भारतसँगै बढी साझेदारी

काठमाडौं : नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भारतीय परनिर्भरता बढेको छ। नेपाल राष्ट्र बैंकले यो आर्थिक वर्षको सात महिनामा भारतसँगको व्यापार निकै बढेको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ। चीनसहित अन्य देशसँगको व्यापार भने घटेको छ। चीनले गत वर्ष फागुनदेखि कोरोना भाइरस महामारीलाई कारण देखाउँदै नाकामा कडाइ गरेको छ।

नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारमध्ये ६६.६ प्रतिशत भारतसँग मात्रै हुन्छ। १३.४ प्रतिशत चीन र बाँकी २० प्रतिशत अरू देशसँग हुन्छ। गत वर्ष यहीबेला भारतसँगको व्यापार साझेदारी कुल व्यापारको ६२.४ प्रतिशत मात्रै थियो। चीनसँग साढे १५ र अरू मुलुकसँग २२ प्रतिशत व्यापार हुँदै आएको थियो।

चीन र बाँकी विश्वको व्यापारिक साझेदारीको केही हिस्सा यो वर्ष भारतमा स्थानान्तरण भएको छ। आठ रुपैयाँको निर्यात गर्दा ९२ रुपैयाँको आयात गर्ने नेपाली अर्थतन्त्रमा व्यापारिक परनिर्भरताको अर्थ पनि आयात निर्भरता नै हो। यस अवधिमा भारतबाट भएको आयात पोहोरभन्दा ७.१ प्रतिशतले बढेको छ। जबकि, यहीबीच चीनबाट भएको आयात साढे १२ र अन्य तेस्रो मुलुकसँगको आयात व्यापार १०.८ प्रतिशत घटेको छ।

पछिल्लो समय रक्सी उद्योग सञ्चालनमा आउन थालेपछि चामल आयात बढेको छ। कच्चा सोयाबिन तेल, फलामे छड बनाउने एमएस बिलेट, सुन, दूरसञ्चार उपकरण, पेट्रोलियम पदार्थ र मेसिनरी पार्टपुर्जा आयातमा वृद्धि भएको छ।

कोरोना महामारीले चीन र तेस्रो विश्वसँगको व्यापार घट्दा भारतसँग भने व्यापार बढ्दो क्रममै छ। कतिपयले राजनीतिक वृत्तमा देखिएको बदलावलाई पनि चीनसँगको व्यापारिक साझेदारी कम हुनुको कारण मान्ने गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ संस्थापनबीच सम्बन्ध बिग्रिँदै गएपछि चीनले ल्होसार र अन्य कारण देखाउँदै नाकामा कडाइलाई निरन्तरता दिएको व्यापारीहरू बताउँछन्। चीनले भने नाकामा नियोजित अवरोध नगरेको प्रस्टीकरण दिइसकेको छ।

अर्कातिर कोभिड— १९ का कारण यो वर्षको सुरुआती अवधिदेखि नै तेस्रो मुलुकसँगको व्यापारमा कमी आयो। महामारीका कारण नेपालीहरू पनि लामो समय घरभित्रै बस्नु परेको र यही कारण थुप्रै उपभोग्य वस्तुको खपत कम भएको राष्ट्रिय तथ्यांकहरूले देखाएका छन्। फलस्वरूप अन्तर्राष्ट्रिय व्यापार नै खुम्चिएको छ। यसमध्ये भारतसँग अधिकतर उपभोग्य र अत्यावश्यक वस्तुको आयात हुने भएकाले यस्तो व्यापारमा ठूलो प्रभाव परेन।

लत्ता कपडा र विलासी वस्तु तथा कतिपय विकास आयोजनाका पूर्वाधार उपकरण किन्ने गरिएको चीन र युरोपलगायत तेस्रो मुलुकसँगको व्यापार भने खुम्चियो। अन्तर्राष्ट्रिय मुद्रा बजारमा आएको उथलपुथल, तेल र सुनको भाउमा देखिएको बदलावजस्ता कुराले पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा असर पार्‍यो। तर भारतसँगको स्थिर विनिमय दरका कारण यस्ता कयौं समस्याको लाभ भारतले लिन सकेको व्यापार विज्ञहरू बताउँछन्।

दक्षिण एसियामा व्यापार र वातावरणसम्बन्धी अध्ययन गर्दै आएको संस्था सावतीका कार्यकारी अध्यक्ष डा.पोषराज पाण्डेले लामो समयदेखि ‘स्थिर विनिमय दरका कारण नेपालको अन्तर्राष्ट्रिय व्यापार भारतमा झनै बढी निर्भर हुन थालेको’ बताउँदै आएका थिए। अहिलेको महामारीले त्यस्तो परिदृश्यलाई अझै मजबुत बनाएको विज्ञको बुझाइ छ।

राष्ट्र बैंकले यो वर्ष बजारमा समष्टिगत माग नै खुम्चिएका कारण मूल्यवृद्धि भने कम भएको बताएको छ। गत वर्ष एक हजार रुपैयाँमा जीवन धान्न सक्नेले यो वर्ष १ हजार ३० रुपैयाँ भए चल्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। जबकि, पोहोर साल अहिलेभन्दा दोब्बर धेरै मूल्यवृद्धि थियो। अहिले पनि तरकारी, फलफूलजस्ता चिजको भाउ भने महँगो भएको प्रतिवेदनमा छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक उक्त मासिक प्रतिवेदनले माघसम्ममा नेपाल भित्रिने रेमिट्यान्स पोहोरभन्दा १०.९ प्रतिशत बढेको उल्लेख गरेको छ। तर डरलाग्दो कुरा चाहिँ विदेश जान श्रम स्वीकृति लिनेहरूको संख्या यो वर्ष ७५.९ प्रतिशत घटेको देखिएको छ। यही रफ्तारमा नेपालीहरू विदेश जान कम हुने हो भने तीन वर्षपछि रेमिट्यान्स आम्दानी भारी मात्रामा कटौती हुन सक्ने देखिन्छ। त्यस्तो बेला रेमिट्यान्सकै आडमा चलेको हाम्रो अर्थतन्त्रलाई धान्न कठिन पर्न सक्ने जोखिम बढेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.