पार्टी एकता र सहकार्य गर्न राप्रपा भक्तपुरले बनायो कार्यदल

पार्टी एकता र सहकार्य गर्न राप्रपा भक्तपुरले बनायो कार्यदल

भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले धार्मिक र राजावादी दल, संघसंस्था र समूहसँग एकता एवं सहकार्य गर्न जिल्लास्तरीय कार्यदल गठन गरेको छ।

राप्रपा केन्द्रीय सदस्य रामेश्वर थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो।

कार्यदलको सहसंयोजकमा राप्रपाका अर्का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद लाखा रहेका छन्। मञ्जु कार्की, पञ्चकृष्ण श्रेष्ठ, सुरेशन दुवाल र धनेश्वरी प्रजापति सदस्य रहेको कार्यदलको सदस्य सचिवमा अर्जुन कार्की रहेको राप्रपा भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले जानकारी दिए।

राप्रपाको केन्द्रीय नीतिअनुसार जिल्लाका धार्मिक र राजावादी दल, संघसंस्था, समूह र व्यक्तिसँग सम्भव भएसम्म पार्टी एकता गर्ने पहल गर्न उक्त कार्यदल गठन गरिएको अध्यक्ष लामिछानेले स्पष्ट पारे।

उनले उक्त कार्यदललाई सम्भव भए पार्टीसँग एकता र नभए जनजिविका तथा भ्रष्टाचारविरुद्ध सहकार्य गर्ने गरी वार्ता, संवाद र छलफल गर्ने जिम्मेवारी पूर्णरुपमा दिइएको बताए।

‘धार्मिक तथा राजावादी दल, संघसंस्था, समूह र व्यक्तिसँग पार्टी एकतासम्मको पहल गर्ने गरी कार्यदललाई पूर्ण जिम्मेवारी दिएका छौं’, अध्यक्ष लामिछानेले भने, ‘पार्टी एकता सम्भव नभए जनजिविका र भ्रष्टाचारविरुद्ध सहकार्य गर्ने गरी वार्ता, संवाद र छलफलको पहल गर्न कार्यदल गठन गरेका हौं।’

नवगठित कार्यदलका संयोजक थापाले राजसंस्था पुनःस्थापना र हिन्दूराज्यको माग गर्दै पार्टीले गर्ने आन्दोलन व्यापक बनाउने उद्देश्यले सकेसम्म पार्टी एकता र नभए सहकार्य गर्न लागिएको बताए।
उनले भक्तपुरमा धार्मिक तथा राजावादी संघसंस्थामात्रै ४ दर्जन हाराहारीमा रहेको जानकारी दिए।

‘जिल्लामा रहेका धार्मिक तथा राजावादी दल, संघसंस्था र समूहको संयुक्त बैठक गर्दैछौं’, संयोजक थापाले भने, ‘उक्त बैठकबाट पार्टी एकता गर्ने वा साझा कार्यक्रम गर्नेबारे टुंगो लगाउँछौं।’

नजिकिँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्ष्य गरेर राप्रपाको संगठन विस्तार तथा जनमत बढाउने अभियानस्वरुप कार्यदलले काम गर्ने उनको भनाइ छ।

केन्द्रमा कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनीको राप्रपा संयुक्तबीच पार्टी एकीकरण भइसके पनि भक्तपुरमा दुई पार्टीको समायोजन भइसकेको छैन। 

एकीकृत राप्रपाले धेरै जिल्लामा पार्टी समायोजन टुंग्याए पनि भक्तपुरमा राप्रपा र राप्रपा संयुक्तका अध्यक्ष दुवैले समायोजित पार्टीको अध्यक्षमा दावी गरेपछि कुरा मिल्न सकेको छैन। जसले गर्दा भक्तपुरमा दुई राप्रपा अस्तित्वमा रहँदै आएको छ।

अहिले साविक राप्रपा संयुक्तका भक्तपुर जिल्ला अध्यक्ष लामिछानेले कार्यदल गठन गरेका हुन्। राप्रपा संयुक्तले उक्त कार्यदल गठन गरेलगत्तै साविक राप्रपाका नेता तथा कार्यकर्ताहरुले पार्टी नै आन्तरिक रुपमा एकजुट नभएको अवस्थामा अन्य दल, संघसंस्था र समूहसँग एकता वा सहकार्य गर्ने भन्नु हाँस्यास्पद भएको प्रतिक्रिया दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.