नवदुर्गा नाचका देवगणको नामकर्मसँगै पालो निश्चित

नवदुर्गा नाचका देवगणको नामकर्मसँगै पालो निश्चित

भक्तपुर : भक्तपुरकै सबैभन्दा लामो नाच नवदुर्गा नाचका देवगणहरुको नामकर्म (नामाकरण) सकिएको छ। नाचका १८ देवगण र एक नकींसहित नाइके र सहायक नाइकेहरुको जिम्मेवारी तोकिनुलाई नामकर्म भनिन्छ। जुन हजारौं वर्षदेखि हुँदै आएको छ।

लिच्छवीकालीन मानिएको नवदुर्गा नाचका देवगण, नकीं, नाइके र सहायक नाइकेहरुको प्रत्येक एकवर्षमा पालो फेरिन्छ। गाथामोगल चर्हे (घन्टाकर्ण चतुदर्शी) देखि सुरु हुने एकवर्षको पालो भलभल अष्टमीको दिन सकिन्छ।

गाथामोगल चर्हे यसवर्ष साउन २२ गते परेको छ। गाथामोगल आउनुअघि नै देवगणको नामकर्म र पालो निश्चित गर्नुपर्ने परम्परा रहेको यस वर्षका देवगण नाइके ब्रिजेश बनमालाले जानकारी दिए। सोही परम्पराअनुसार यसवर्ष देवगणको नाइकेमा आफ्नो पालो आएको उनी बताउँछन्।

उनका अनुसार सहायक नाइकेहरुको जिम्मेवारी इन्द्रबहादुर बनमाला र बुद्धिबहादुर बनमाला पाउँदा नकींमा इन्दिरा बनमाला आएकी छन्। नकींले नवदुर्गा मन्दिरमा दैनिक पूजाआजा गर्ने तथा मन्दिरको सरसफाइ गर्ने गर्छिन्।

ब्रिजेश गत वर्ष सहायक नाइके थिए। उनीसँगै इन्द्रबहादुर सहायक नाइके रहँदा नाइकेहरुमा बुद्धिबहादुर बनमाला, सूर्यमान बनमाला र हरिकृष्ण बनमाला नाइके थिए। त्यस्तै गतवर्ष न्हुछेमाया बनमाला नकीं थिइन्।

भक्तपुरका निश्चित बनमाला जातिका मात्रै नवदुर्गा देवगण तथा नाइके, सहायक नाइके र नकीं हुन पाउँछन्। जुन हजारौं वर्षदेखिको वंशाबली पुस्तकले समेत पुष्टि गर्दै आएको छ। सोही वंशाबली पुस्तक (धलः पौ) मा जिम्मेवारीअनुसार नाम लेखिनु नै नवदुर्गा देवगणको नामकर्म परम्परा प्रचलनमा आएको सहायक नाइके इन्द्रबहादुर वनमाला बताउँछन्।

जोशी पण्डितमार्फत उक्त परम्पराले निरन्तरता पाउँदै आएको छ। परम्पराअनुसार यस वर्ष पनि रवीन्द्रनाथ जोशीले नवदुर्गा देवगणको नामकर्म एवं जिम्मेवारी वंशावली पुस्तकमा उल्लेख गरेका छन्।

‘वंशावली पुस्तकमा नामकर्म गरी जिम्मेवारी तोकिएपछि उक्त व्यक्तिले एकवर्षसम्म आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ’, सहायक नाइके इन्द्रबहादुरले भने, ‘हजारौं वर्ष पुरानो वंशावली पुस्तकमा भएको व्यवस्थाअनुसारको पालो र जिम्मेवारी जसरी पनि बहन गर्नुपर्छ।’

देवगणहरुका अनुसार आफूलाई आएको पालो वा जिम्मेवारी आफूले पूरा गर्न नसक्ने अवस्था आए आफ्ना भाइभतिजालाई दिन पाइन्छ तर उक्त पालो गाथामोगलको दिनअघि नै दिनुपर्छ। र, यसबारे मन्दिरमा जानकारी दिनुपर्छ। गाथामोगलपछि आफ्नो जिम्मेवारी अरु कसैलाई दिन पाइँदैन। सबै आफैले पूरा गर्नपर्ने परम्परा रहेको देवगणहरु बताउँछन्।

नामकर्मअनुसार यसवर्ष भैरवको जिम्मेवारी नारायणप्रसादले पाएका छन्। त्यस्तै कृष्णप्रसादले महाकाली, रोजनले बाराही र दीपकले कुमारीको पालो पाएका छन्। धोम्हा पोमी (भण्डारी) को पालो कृष्णरामले पाउँदा मूल देवता बोक्ने दातिम्हा पोमीको जिम्मेवारी लक्ष्मीकुमारले पाए। देवगणको आम्दानी सुरक्षित गर्ने झिम्हा पोमीको पालो भने रामगोपालले पाएका छन्।

देवगणहरुमध्ये गणेश, ब्रह्मायणी, विष्णुदेवी र इन्द्रायणीको पालो एवं जिम्मेवारी क्रमशः विशाल, देवकृष्ण, बद्री र सुजनले पाएका छन्। त्यस्तै सिम्हको पालो सृजन र दुम्हको पालो क्रिशलले पाएको नाइके ब्रिजेशले जानकारी दिए।

हजारौं वर्ष पुरानो वंशाबली पुस्तकअनुसार देवगणका नाइकेको पालो प्रत्येक ४–४ वर्षमा एकपटक आउने तर नर्कीको पालो भने १२ वर्षमा एकपटकमात्रै आउने गरेको देवगणहरु बताउँछन्।

तर देवगणको पालो पाउने समय भने ठेगान नभएको नाइके ब्रिजेश बताउँछन्। ‘देवगणहरुले अहिलेसम्म छिटोमा ४ वर्षमा पालो पाएका छन्’, उनले भने, ‘कसैले ३८ वर्षपछि मात्रै पालो पाएको अवस्था पनि छ।’ देवगण बन्ने बनमालाहरुको घरपरिवार बढेसँगै पालो पाउने समय पनि लम्बिँदै गएको बताइन्छ।
नवदुर्गा देवगणको नामकर्म र पालो निश्चित भएसँगै गाथामोगलपछि शुभसाइत हेरी नाच सिकाइने नाइके ब्रिजेशले बताए। यसवर्ष देवगणहरुलाई दुईजना गुरु शिवभक्त र दयारामले नाच सिकाउने छन्।

‘सुरु भएको २ महिनाभित्र नाच सिक्नुपर्छ’, देवगण नारायणप्रसाद भन्छन्, ‘२ महिनाभित्र सिकेको नाच भक्तपुरसँगै काठमाडौं र काभ्रेका विभिन्न ठाउँमा १२ महिनामध्ये आठ महिना नाच प्रदर्शन गर्नुपर्छ।’

उनका अनुसार नाचको प्रशिक्षणकै बीच चथा (गणेश चतुर्थी) को दिन शिकारुहरुले मन्दिरको मूलचोकमा नाच प्रदर्शन गर्नुपर्छ। त्यस्तै विजया दशमीको अष्टमीको दिन भक्तपुर नपा ८ जेंलाको झताप्वस्थित नासःद्य (नाटेश्वर) मन्दिर परिसरमा दोस्रोपटक नाच प्रस्तुत गर्नुपर्छ। उक्त दिन मन्दिरका पुजारी जुलाल कर्माचार्यले प्रत्येक देवगणलाई घंघलासी (घुङ्गरु) हस्तान्तरण गर्छन्।

विजया दशमीको नवमीको दिन खःमेय् जात्रा गरी उक्त खःमेय्को बली दिएपछि नवदुर्गा देवगणको जन्म पूर्ण हुने विश्वास गरिन्छ। यसदिन देवगणहरुले नवदुर्गाको माइती मानिने भक्तपुर नपा ६ याछें गई चित्रकारहरुले तयार गरेको मुकुन्डोहरु चोरेर ब्रह्मायणी लाने गर्छन्। उक्त मुकुन्डो प्रत्येक देवगणलाई आआफ्नो पालोअनुसार हस्तान्तरण गरिन्छ। ब्रह्मायणीमा लगिएको मुकुन्डोमा खःमेय्को रगत चढाएपछि त्यसमा देवताको बास हुने विश्वास गरिन्छ। दशैंको दिन भक्तपुर तलेजुसँग नवदुर्गा देवगणले भेट गरी शक्ति लिने विश्वास गरिन्छ। तलेजुले नवदुर्गालाई बहिनी मानेर भक्तपुर दरबार क्षेत्रस्थित स्वर्णद्वार अगाडि दर्शन दिन्छिन्। त्यस्तै नवदुर्गा देवगणले भक्तपुर नगर परिक्रमा गरेर पुनः भक्तपुर नपा ५ टौमढीस्थित भेल्पा भैरव मन्दिर परिसरमा तलेजुको दोस्रोपल्ट दर्शन गर्छन्। तलेजुलाई पायो जात्रा गरेर सेतो घोडासँगसँगै तलेजुका रकमीहरुले भक्तपुर नगर परिक्रमा गराउने क्रममा दोस्रोपटक तलेजु र नवदुर्गा देवगणको भेट गर्ने परम्परा रहँदै आएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन्।

उक्त भेटपछि भोलिपल्ट नवदुर्गा देवगण मन्दिरमा प्रवेश गर्छन्। मन्दिरकी नकींले विशेष समारोहबीच नवदुर्गा देवगणलाई मन्दिरभित्र लसकुस (स्वागत) गर्छिन्।

देवगणको नामकर्म एवं पालो पहिले र अहिले

देवगण           यसवर्ष                    गतवर्ष
नाइके          बुद्धिबहादुर, सूर्यमान, हरिकृष्ण     ब्रिजेश
सहायक नाइके      इन्द्रबहादुर, ब्रिजेश              इन्द्रबहादुर, बुद्धिबहादुर
नकीं            इन्दिरा                      न्हुछेमाया
भैरव            नारायणप्रसाद                 विजय
महाकाली        कृष्णप्रसाद                   दयाराम
बाराही          रोजन                       रोजन
कुमारी          दीपक                      नारायणप्रसाद
धोम्हा पोमी (भण्डारी)   कृष्णराम                    देशलाल
दातिम्हा पोमी      लक्ष्मीकुमार                 मंगलाल
झिम्हा पोमी         रामगोपाल                   सुजन
गणेश            विशाल                    कृष्णकुमार
ब्रह्मायणी          देवकृष्ण                   प्रकाश
माहेश्वरी             बद्री                    हरिगोविन्द
विष्णुदेवी             विजय                   भक्तबहादुर
इन्द्रायणी             सुजन                  रोयण
सिम्ह              सृजन                   सृजन
दुम्ह                क्रिशल                   सुशान


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.