महिनामै डेढ खर्बको आयात

महिनामै डेढ खर्बको आयात

काठमाडौं : दसैं नजिकिँदै गरेको छनक पछिल्लो समयको आयात दरको अवस्थाले दिएको छ। दसैं आउन एक महिना मात्रै बाँकी रहँदा चालू आर्थिक वर्ष २०७८।७९ को पहिलो महिना साउनमा डेढ खर्ब रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा भित्रिएको छ। भदौ महिनाको तथ्यांक आउन बाँकी छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा ७५.६६ प्रतिशतले आयात दरको आकार वृद्धि भएर १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु नेपालमा भित्रिएको हो। यो वस्तु भारतसहित तेस्रो मुलुकबाट भित्रिएको हो।  अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्ब ८० करोड रुपैयाँबराबरको विभिन्न वस्तु भारतसहित तेस्रो मुलुकबाट भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको साउनमा कोभिडको पहिलो लहरको प्रभाव अत्याधिक भएकाले पनि त्यो बेला आयात दरको आकार खुम्चिएको थियो। 

अघिल्लो वर्षको साउनको तुलनामा यो वर्षको साउनमा ७९.७१ प्रतिशतले बढी वैदेशिक व्यापार भएको छ। जसअनुसार यो साउनमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो। यो महिनामा नेपालले वैदेशिक व्यापारतर्फ १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँबराबरको व्यापार व्यहोरेको छ।


तथ्यांकअनुसार साउन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ। १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। जसअनुसार ६ अर्ब ६४ करोड ५८ लाख रुपैयाँबराबरको डिजल, ४ अर्ब ४१ करोडको पेट्रोल, ५१ करोड ४० लाख रुपैयाँको हवाई इन्धन र ३ अर्ब ५५ करोडको खाना पकाउने ग्यास आयात भएको छ।

यस्तै अत्यधिक आयात हुने वस्तुमा १४ अर्ब ४६ करोडको आइरन तथा स्टिल, १२ अर्ब २३ करोडको विद्युतीय उपकरण तथा पार्टस, १० अर्ब १४ करोडको सवारी साधन आयात भएको छ। ३ अर्ब १९ करोडको औषधि र २ अर्ब १५ करोड रुपैयाँबराबरको आइरन तथा स्टिलका वस्तु आयात भएको छ। तीज, दसैंलगायतका चाडपर्व नजिकिँदै गर्दा लुगाफाटो, खानेतेल, सुनलगायतको आयात दर अत्यधिक छ।

यसैगरी ३१ अर्ब ११ करोड रुपैयाँबराबरको प्रमुख कृषिजन्य वस्तु आयात भएको छ। जसमा सबैभन्दा बढी ६ अर्ब ७० करोडको खाद्यान्न (चामल, मकै, गहुँ) आयात भएको छ। ४ अर्ब ११ करोडको तरकारी, ३ अर्ब २० करोडको फलफूल, १ अर्ब १८ करोडको कफी, २ अर्ब ८८ करोडको चामल, १० करोड २४ लाखको माछा, १६ करोडको डेरीजन्य पदार्थ, २ अर्ब ८४ करोडको तेलहन, १२ अर्बको जनावर तथा वनस्पतिजन्य बोसो पनि आयात भएको छ। मुलुकभित्रै हुन सक्ने खेतीपाती पनि वैज्ञानिक रूपमा नहुँदा कृषिजन्य वस्तुतर्फ पनि मुलुकले ठूलो व्यापार घाटा व्यहोर्न बाध्य छ। यस्तै सोयाविन, सूर्यमुखी र पाम आयल १० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ। तथ्यांकअनुसार अर्जेन्टिनाबाट ५ अर्ब ७३ करोडको सोयाबिन तेल, इन्डोनेसियाबाट २ अर्ब ६ करोडको पाम आयल, पराग्वेबाट १ अर्ब ३४ करोडको सोयाबिन तेल, ब्राजिलबाट १ अर्ब १८ करोडको सोयाबिन तेल र युक्रेनबाट १ अर्ब ३ करोड रुपैयाँको सोयाविन तेल आयात भएको छ।

गत साउन महिनामा मोटरसाइकलको आयात दर पनि अत्यधिक छ। २ अर्ब ७१ करोड रुपैयाँबराबरको ५० देखि २ सय २० सीसीसम्मको २९ हजार ९७ मोटरसाइकल आयात भएको थियो। 

निर्यातमा पनि सुधार
आयात दरको आकार वृद्धि भइरहँदा गत साउनमा निर्यात दरको आकार पनि केही सकारात्मक देखिएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा निर्यात दरको आकार पनि वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा १ सय १५.८५ प्रतिशतले निर्यात दर वृद्धि भएको छ।  साउनमा २० अर्ब ७६ करोड रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ। अघिल्लो वर्षको साउनमा ९ अर्ब ६२ करोड रुपैयाँबराबरको निर्यात भएको थियो। साउनमा सबैभन्दा बढी जनावर तथा वनस्पतिजन्य बोसोको निर्यात भएको छ। नेपालबाट ११ अर्बको यस्तो बोसो विभिन्न मुलुकमा निर्यात भएको छ। यस्तै १ अर्ब ७२ करोडको पाम आयल, ८ अर्ब ९८ करोडको सोयाबिन तेल, ७९ करोडको सनफ्लावर तेल, ३४ करोडको जुस, ११ करोडको यार्न र ८० करोडको कफी, चिया निर्यात भएको छ।

१ सय २ मुलुकसँग व्यापार
नेपालले १ सय २ मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ। यसमध्ये अफगानिस्तान, अर्मेनिया, कम्बोडिया, क्रसोइया, जर्जिया, आइसल्याण्ड, पोर्चुगल, रोमानिया, स्याण्ट हेलिना, स्वीडेन र युकेसँग मात्रै नाफाको व्यापार गरेको छ। बाँकी ९१ मुलुकसँग नेपालको विपक्षीय व्यापार घाटामा गएको छ।  नेपालले वैदेशिक व्यापारअन्तर्गत सबैभन्दा बढी भारतसँग व्यापार गरेको छ। भारतसँगै बढी व्यापार गरेको नेपालले भारतसँगको व्यापारमा घाटा पनि अत्यधिक व्यहोरेको छ। भारतबाट ८९ अर्ब ४८ करोड ६३ लाख रुपैयाँको विभिन्न वस्तु आयात गर्दा उक्त मुलुकमा १६ अर्ब ८६ करोड ६९ लाख रुपैयाँको नेपाली वस्तु मात्रै निर्यात गर्न सफल भएको छ। यसले गर्दा भारतसँग नेपालले ७२ अर्ब ६१ करोड ९३ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्न बाध्य भएको छ।  

यसपछि नेपालले चीनसँग पनि व्यापार घाटा ठूलो परिमाणमा व्यहोरेको छ। चीनबाट २० अर्ब ९७ करोडको सामान आयात गर्दा नेपालले ८ करोड २७ लाख रुपैयाँको मात्रै निर्यात गर्न सफल भएको छ। चीनसँग २० अर्ब ८८ करोड रुपैयाँबराबरको व्यापार घाटा नेपालले उठाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.