राष्ट्रियतामा प्रेसको फड्को

राष्ट्रियतामा प्रेसको फड्को

पञ्चायती पक्षबाट जनआन्दोलनलाई कमजोर बनाउन अनेकौं प्रोपोगाण्डा अपनाइए। तर प्रेसले पञ्चायती दुष्प्रचारको खण्डन गर्दै खबरहरू छापे।


राष्ट्र निर्माणमा पत्रकारिताजगत्को भूमिका अत्यन्त महत्त्वपूर्ण र प्रभावकारी रहँदै आएको पाइन्छ। बीसौं शताब्दीलाई विश्वइतिहासमा स्वतन्त्रता आन्दोलनको शताब्दी पनि भन्न सकिन्छ। यस शताब्दीमा पहिलो तथा द्वितीय विश्वयुद्धहरू भए। ती विश्वयुद्धहरू साम्राज्यवाद र उपनिवेशवादी शक्ति राष्ट्रहरूका युद्धोन्मादका परिणाम थिए। तिनले आफू—आफूमा अर्कोभन्दा बढी शक्तिशाली बन्ने होडबाजीमा नरसंहार रचेका थिए। तर ती युद्धहरू पछि साम्राज्यवादी, उपनिवेशवादी जाँतोमा पिँधिइरहेका साना राष्ट्रहरूका लागि स्वतन्त्रता आन्दोलन अघि बढाउन ठूलो आत्मबल प्राप्त भयो। ती राष्ट्रहरूका स्वतन्त्रता आन्दोलनहरूलाई दबाएर आआफ्नो शक्तिलाई कायमै राख्न साम्राज्यवादी, उपनिवेशवादी मुलुकहरू क्रमशः असफल बन्दै गए। यसरी स्वतन्त्रता पक्षधर मुलुकहरूले औपनिवेशिक शक्तिलाई परास्त गरी स्वतन्त्रता प्राप्त गर्न सक्नुमा सञ्चारजगत्को उल्लेखनीय भूमिका रहेको पाइन्छ। आधुनिक विश्व इतिहासमा फ्रान्सेली राज्यक्रान्तिको सफलताका पछाडि सञ्चारमाध्यमको विशेष भूमिका रहेको बताइन्छ। सन् १९८० को दशकमा भएको सोभियत साम्यवादको पतनको लागि पश्चिमी सञ्चारमाध्यमहरूले सर्वाधिक भूमिका खेले।

प्रेसले ग्रामीण समाजका नरनारीका आवाज एवं कथाव्यथालाई अझै समेट्न बाँकी छ। यद्यपि राजनीतिक रूपमा दलीय प्रभावबाट नेपाली प्रेस मुक्त हुन सकेको छैन।

‘सेनाहरूले गरेको आक्रमण रोक्न सकिन्छ तर विचारको आक्रमणलाई रोक्न सकिँदैन। किनभने अब यस्को (विचारको) पालो आएको छ।’भिक्टर ह्युगोले भनेको कुरा सान्दर्भिक छ। नेपालको प्रजातान्त्रिक संघर्षलाई अघि बढाउन अर्थात् राणा निरंकुशतन्त्रबाट मुलुकलाई मुक्ति दिलाउन एक्कासि जनक्रान्तिको घोषणा गरिएको थिएन। जनक्रान्तिको घोषणापूर्व जनतालाई प्रजातन्त्रको आवश्यकता किन पर्‍यो? जनअधिकार, स्वतन्त्रता एवं मौलिक हकअधिकारको औचित्य किन रहेको छ?मानिस हुनुको अर्थमा उस्लाई प्रजातन्त्रले के कुरा उपलब्ध गराउँछ ? देशमा प्रजातन्त्र आएपछि के हुन्छ ? कस्तो शासन व्यवस्था आउँछ ? शासकहरूले जनताप्रति कस्तो व्यवहार गरेका छन् ? देशको आर्थिक शोषण कसरी भइरहेको छ? आदि अनेक जनजिज्ञासा र जनचेतनाका विषयहरूलाई जनसमक्ष पुर्‍याउन प्रवासबाट प्रकाशन आरम्भ गरिएकायुगवाणी (२००४), नेपाल पुकार (२००५) आदि समाचारपत्रहरूले अतुलनीय भूमिका खेले। ती समाचार पत्रहरूले जनतामा चेतना, जागृति र राष्ट्रिय भावनाको अभिवृद्धि गराए।

जनक्रान्ति आरम्भ भइसकेपछि देशको पूर्वी क्षेत्रबाट रेडियोमार्फत् जनक्रान्तिका कार्यक्रम र गतिविधिहरू प्रचार गरिए। जनक्रान्ति अगाडि बढ्दै गएपछि विराटनगरको जुटमिल परिसरमा नेपाल प्रजातन्त्र रेडियोको स्थापना गरी क्रान्तिका खबर र जागृतिगीतहरू घन्काइए। श्रोताहरूमा तिनले जनक्रान्तिको अनिवार्यताबोध गर्न ठूलो सहयोग पुर्‍यायो। यसका साथै मुक्तिसेनालाई क्रान्ति अघि बढाउन आगोमा घिउ हालेसरह हौसला बढ्न गयो।सरकारी फौजसँग मुक्तिसेना अपराजित हुँदै मोर्चाहरूमा विजयी बन्दै गयो।मुक्ति योद्धा तारिणी प्र. कोइरालाका शब्द, यादव, बाबुरामको संगीतमा रानु अधिकारीले यस्ता जागृति गीतहरू त्यसबेला गाएकी थिइन्;‘आज देशको क्रान्ति युद्धमाहाम्रो एक पुकारा होस्, लड्दालड्दै मरे मरौंलायो एउटा नै नारा होस्...।’यस्ता गीतहरूले श्रोताका शरीरमा उत्साह र साहस भरिन्थ्यो, देशभक्ति भावनाले जिउमा काँडा उम्रिन्थे। सर्वसाधारण जनतामा क्रान्तिप्रति आकर्षण बढाउन यस्ता गीतहरूले ठूलो योगदान पुर्‍याए। रेडियो सञ्चारको शक्तिबारे मानिसलाई पहिलोपटक क्रान्तिकालमै जानकारी प्राप्त भयो। प्रजातन्त्रको घोषणा भएपछि २००७ साल चैतमा विराटनगरबाट प्रजातन्त्र नेपाल रेडियोलाई राजधानी सारियो। 

२००७ सालको क्रान्ति सफल बनाउन प्रवासबाट प्रकाशित हुने सर्च लाइट, गोर्खा आदि पत्रिकाले पनि सहयोग पुर्‍याएका थिए। शिक्षित नेपाली जनमानसलाई सरकारी तहबाट भएका कामहरूबारे सूचना सम्प्रेषण गर्न १९५८ सालदेखि सुरु भएको गोरखापत्रको योगदान पनि ऐतिहासिक रहँदै आएको छ। यद्यपि राणाकालमा राजधानीबाट प्रकाशित हुने यस समाचारपत्रले जनक्रान्तिपक्षीय समाचार सम्प्रेषण गर्न सक्ने कुरा सम्भव थिएन। सरकारी स्वामित्वमा रहेका समाचारपत्र वा अन्य सञ्चारमाध्यमहरूले सरकारको विरोधमा हुने घटनाक्रमलाई प्रायः सरकारी पक्षको बुझाई अनुकूल हुने हिसाबले समावेश गर्छन्। मुलुकमा जटिल परिस्थिति सिर्जना हुँदा संयमतापूर्वक समाचार सम्प्रेषण गर्दै मुलुकलाई अप्ठ्यारोबाट पार लगाउन सरकारी वा निजी सञ्चार माध्यममा समस्वरता भने हुनै पर्छ।२०१७ पुस १ गते संसदीय लोकतान्त्रिक व्यवस्थालाई राजाले प्रतिबन्ध लगाए। एकदलीय निरंकुश व्यवस्थाको सुरुआत भयो। पञ्चायत व्यवस्थामा राष्ट्रियताको परिभाषा र बुझाइलाई सीमित गरियो। व्यवस्थावादी जति सबै राष्ट्रवादी, राष्ट्रियतावादी र लोकतन्त्र पक्षधर जति सबै अराष्ट्रिय तत्व भनिए, भनाइए। लोकतन्त्रपक्षीय विचारवाहकलाई अभिव्यक्तिको स्वतन्त्रता थिएन।

नेपाली जनताको साझा लोकतान्त्रिक भावनालाई एकदलीय निरंकुश पञ्चायती व्यवस्थाले जबर्जस्तीरूपमा दबाएर राखेको थियो। २०३६ जेठ १० गते राजाद्वारा जनमत संग्रहको घोषणा गरिएपछि अभिव्यक्ति स्वतन्त्रतालाई केही हदसम्म छुट दिइएको भए पनि सरकारसँग डराइडराई मात्र बोल्न, लेख्न र प्रकाशन गर्नसक्ने अवस्था थियो। नत्र २०४६ सालसम्म नै जनताका मौलिक हक अधिकारबाट वञ्चित जनताले आफूलाई बन्दीसरह अनुभव गर्नु परिरह्यो। अतः राष्ट्रियताको साझा भावनाले अभिव्यक्ति पाइरहेको थिएन। बहुदलीय व्यवस्थाको पुनस्र्थापनाको माग गर्दै सुरु भएको पहिलो राष्ट्रिय जनआन्दोलन, २०४६ का क्रममा पञ्चायती व्यवस्थाका बन्देजहरूका विरुद्ध नेपाली पत्रकारिता क्षेत्र खुलेरै अग्रसर भयो। 

पत्रकारिता जगत्ले त्यसलाई प्रारम्भदेखि नै प्रकाशमा ल्याउने काम गर्‍यो। आमजनतालाई जनआन्दोलनमा सहभागी गराउन, ऐक्यबद्धता जनाउन, सरकारी दमनको प्रतिकार गर्न एवं निरंकुशता पक्षधर संघसंस्था, निकायहरूलाई अवज्ञा गर्न प्रेसजगत्ले आम जनतामा आह्वान गरिरह्यो। नेपाली समाचारपत्रहरूले २०४६ को जनआन्दोलनको राँकोलाई निभ्न नदिन निकै चुनौतीपूर्ण ढंगले काम गर्नु परेको स्मरण वरिष्ठ पत्रकार एवं लेखक घनेन्द्रपुरुष ढकालको रहेको पाइन्छ; ‘स्वदेशी समाचारपत्र र पत्रकारहरूको भूमिका जनआन्दोलनमा झन् बढी महत्त्वपूर्ण रह्यो। पत्रपत्रिकामा छापिन लागेका समाचारहरू सेन्सर गर्ने, समाचार संकलन गर्न नदिने, संकलन गर्न जाँदा पत्रकारहरूलाई गिरफ्तार गर्र्ने, थुन्ने र यातना दिने आदि कुनै अत्याचार बाँकी थिएनन्,जो पञ्चायती शासकहरूले नेपाली पत्रकार र पत्रपत्रिकामाथि नगरेका होऊन्। तर यसका बाबजुद प्रजातन्त्रप्रति एकनासको निष्ठा साथ, अविचल भावले उनीहरूले जनआन्दोलनका पक्षमा समाचार, टिप्पणीहरू प्रकाशित गरिरहे र जनतालाई प्रोत्साहित गर्दैरहे।’ (जनआन्दोलनः २०४६)

२०४६ सालको जनआन्दोलनताका नेपाली पत्रकार जगत्ले खेलेको भूमिकाका बारेमा उक्त भनाइबाट निकै कुराहरू बुझ्न सकिन्छ। वास्तवमा त्यस जनआन्दोलनलाई निर्णायक विन्दुतिर पुर्‍याउन पत्रपत्रिकाले खेलेको महत्त्वपूर्ण भूमिकालाई सधैं स्मरण गर्न सकिन्छ।जनआन्दोलनताका नेपाली कांग्रेसका पक्षबाट समाचार प्रकाशन गर्ने कामको मुख्य भूमिकामा रहेका वरिष्ठ पत्रकारमाथवर सिंहको संस्मरण यस्तो रहेको छ; ‘क्रान्तिकालको कोलाहलपूर्ण परिस्थितिमा कुनै पनि समाचारको स्वतन्त्र पुष्टि सम्भव नहुने भएकाले सबैमा एकोहोरो सरकारी प्रचारको प्रभाव पर्दै जानु स्वाभाविक थियो। 

त्यस ऐतिहासिक जनआन्दोलन ताका निजी क्षेत्रका धेरै पत्रपत्रिकाहरूले आफूलाई ठूलो चुनौती आइपरे पनि समाचारहरू प्रकाशन गर्न छोडेनन्। जनआन्दोलन समाचारको प्रकाशन प्रारम्भ गरी आन्दोलनलाई मात्र समाचारका विषय बनाएर प्रकाशन गर्ने व्यवस्था पनि मिलाइएको थियो। पञ्चायती पक्षबाट जनआन्दोलनलाई कमजोर बनाउन अनेकौं प्रपोगण्डाहरू अपनाइए तर आन्दोलन पक्षधर नेपाली प्रेसजगत्ले पञ्चायती दुष्प्रचारको खण्डन गर्दै खबरहरू छापे। जनआन्दोलनताका पञ्चायती सरकारको नेतृत्वद्वारा नेपाली जनतामा भारत विरोधी भावना सिर्जना गराएर आन्दोलनलाई कमजोर तुल्याउने प्रयत्न पनि गरिएको थियो। भारतले नेपालमा नाकाबन्दी लगाएको थियो। तत्कालीन बीबीसी नेपाली सेवाका वरिष्ठ संवाददाता केदारमान सिंहले सम्झेका छन्; ‘मरिचमान सिंहले राष्ट्रियताको फोस्रो नारा दिएर भारत विरोधी भावना भड्काउने र त्यसको आधारमा आन्दोलन बिथोल्ने भरमग्दुर कोसिस गरे तापनि जनता आन्दोलनकै पक्षमा उभिए। पूरै आन्दोलन अवधिभर कुनै पनि कुनाबाट भारतविरोधी आवाज उठेको पाइएन। नेपाली कांग्रेस र वामपन्थीहरू मिलेको कुराले आमजनताका बडो सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्‍यो।’

पञ्चायती राष्ट्रियताको नारा जनआन्दोलन दबाउनका निम्ति खोक्रो सावित भयो। वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले सम्झेका छन्; ‘राष्ट्रियताको नाराले अघिपछि नेपालका बासिन्दालाई निकै आकर्षित गरेपनि २०४६ सालमा त्यस्तो भएन। शासकवर्गले यस प्रकारको नाराको भरमा जनताको मन जित्न सकेनन्। त्यसको बलियो कारण थियो, पञ्चायतका सञ्चालकहरूबाट जनसाधारणको हदैसम्मको उपेक्षा हुनु। त्यो उपेक्षाको प्रदर्शन र अनुभव त्यतिखेरको भारतीय आर्थिक नाकाबन्दीका बखत राम्रैसँग हुनपुग्यो...।’यस्तै वरिष्ठ पत्रकार नारायण ढकालले भनेका छन्; ‘प्रजातन्त्रको पक्षमा लेख्ने अखबारहरूलाई राज्यद्रोहको मुद्दा चलाइयो। समाचार संकलन गर्न निषेध गर्दै उनीहरूले धेरै पत्रकारहरूलाईजेलमा बन्द गरे। पत्रकारहरूलाई ‘सुरक्षा कानुन’ जस्तो कालो कानुनको चक्रव्यूहमा फँसाइएको थियो।’

जनभावनालाई उपेक्षा गरेर पञ्चायतवादीद्वारा भारतीय नाकाबन्दीको निहुँ बनाई जनतालाई विचलित बनाउन खोजिएको थियो। तर जनताले सरकारको रणनीतिलाई बुझेकाले त्यस्को पछि लागेनन्। पञ्चायत नेतृत्वको ध्येय जनतामा अन्धराष्ट्रियताको कुरा गरेर निरंकुशताको आयु लम्ब्याउनु थियो। तर आमजनता भने लोकतन्त्रको पुनस्थार्पनासँगै राजनीतिक स्वतन्त्रता, मौलिक हक अधिकार, अभिव्यक्ति स्वतन्त्रतार अन्य कैयौं आर्थिक, सामाजिक अधिकार प्राप्त गरेरै छोड्ने संकल्पद्वारा निर्देशित थिए। लोकतन्त्रवादी शक्ति र अधिनायकवादी शक्तिका बीच राष्ट्रियता वा अन्य राजनीतिक विषयलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ। जनतालाई त्रास देखाएर शक्तिमा टिकिरहनु अधिनायकवादीको अभिष्ट रहन्छ। 

२०४६ सालको प्रथम राष्ट्रिय जनआन्दोलनको सफलतासँगै आधारभूतरूपमा नेपाली जनताले राजनीतिक, सामाजिक एवं आर्थिक स्वतन्त्रता र लोकतान्त्रिक हकअधिकारहरूको उपयोग गर्दै आए। यसकै कारण यसअघिको जस्तै संकीर्ण राष्ट्रियताका परिधिमा नेपाली जनताले खुम्चिनु परेन। राष्ट्रिय समस्याहरूमा आमजनताको चासो र तिनको समाधानका लागि आफ्ना आवाजहरूप्रकट गर्न सहज वातावरण प्राप्त भयो। २०६२÷०६३ सालको दोस्रो राष्ट्रिय जनआन्दोलनताका पनि नेपाली प्रेसजगत्ले अत्यन्तै जिम्मेवारीपूर्वक आन्दोलनका पक्षमा भूमिका खेल्यो। २०४६ सालको प्रथम राष्ट्रिय जनआन्दोलनताका भन्दा २०६२÷०६३ को जनआन्दोलनमा प्रेसजगत्ले झन् प्रभावकारी भूमिका खेल्नु स्वाभाविकै थियो। राजाको२०६१ माघ १९ का कदमका विरुद्ध जनतालाई सुसूचना दिँदै लोकतन्त्रको पक्षमा नवजागरणदायी सन्देश नेपाली प्रेसजगत्ले राम्ररी सम्प्रेषण गर्‍यो। शान्ति, लोकतन्त्र, मानव अधिकारका पक्षमा प्रेसजगत्ले निर्वाध खबरदारी गरिरह्यो। 

प्रेसले इमान्दारीपूर्वक लोकतन्त्रका पक्षमा वकालत गर्न थाल्छ, ऊ स्वतः राष्ट्रियताका पक्षमा पनि वकालत गर्दै आएको हुन्छ। प्रेसजगत्लाई राज्यको चौथो अंग पनि भनिन्छ। सामान्य समयमा सरकारले ध्यान दिन नसकेका कैयाँै गम्भीर राष्ट्रिय मुद्दाहरूलाई प्रेसजगत्ले अन्वेषषणात्मक ढंगले सार्वजनिक गरिदिन सक्छन्। जस्तै, छिमेकी देशबाट नेपालको सीमा मिचिएका विषयमा प्रेसजगत्ले नै तथ्यपरक कुराहरू विस्तृत रूपमा प्रकाशमा ल्यायो। अनि मात्र सरकारले गम्भीरतापूर्वक त्यसलाई लिएर विरोध स्वरूप प्रेसनोट जारी गर्‍यो। सरकारी जग्गामा हिनामिना प्रकरण प्रेसले नै बाहिर ल्याएको हो। जनस्वास्थ्य क्षेत्रका माफिया एजेन्सीहरूका विरुद्ध प्रेसले निरन्तर आवाज उठाउँदै आएको छ।कहिलेकाहीं प्रेसका कारण विवाद उत्पन्न भई जनमानसमा भ्रम पैदा पनि हुनसक्छ। वास्तवमै मुलुकप्रति पूर्ण जिम्मेवार प्रेस वा सञ्चारमाध्यमको संख्या भने धेरै नरहेको नै मान्न सकिन्छ। साँच्चै नै मुलुकका लागि विशेष सहयोग पुग्ने काम के गर्न सकियो भन्नेतर्फ पनि सञ्चारमाध्यमले चिन्तन मनन् गर्नु जरुरी देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.